+
+

रास्वपाले ३ प्रदेशका महामन्त्री हटायो, कर्णालीको समिति नै विघटन

लिलु डुम्रे लिलु डुम्रे
२०८० फागुन १५ गते १९:४५
रास्वपाले जिम्मेवारीबाट हटाएकाहरु बाँयाबाट क्रमश : कोशीका महामन्त्री लालबिक्रम थापा, गण्डकीका महामन्त्री अशोक खड्का, कर्णालीका सभापति धिरज वली र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी ।

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ ।

कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाइएका हुन् ।

कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरुले पनि संगठन विस्तार गर्न नसकेकाले विघटन गरिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका थिए । तर पाँच वर्षसम्म भाडा नतिरेको विषय बाहिरिएपछि प्रदेश समितिले स्पष्टीकरण सोधेको थियो ।

चित्तबुझ्दो जवाफ नदिई सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई हटाएको हो ।

‘तिर्नुपर्ने कुरा मात्रै हो भने त्यो तिरिसकेपछि निलम्बन फुकुवा हुन्छ । अरु कुरा छ भने थप छानबिन गर्नुपर्ने हुन्छ’, पार्टीका सहमहामन्त्री बुर्लाकोटीले भने, ‘नतिर्ने नै नियत हो वा अरु केही पनि छ कि भनेर पार्टीले छानबिन गर्दैछ ।’

त्यस्तै गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कालाई समय नदिएको, कार्यसम्पादन कमजोर भएको, गुट निर्माण गरेको लगायत आरोपमा ५ मंसिरमा बर्खास्तीमा परेका थिए ।

‘उहाँको कार्यसम्पादन राम्रो देखिएन । बसोबास गरेको ठाउँहरुको पैसा नतिरेको कुराहरु आएका छन्’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘जिम्मेवारी अनुसारको काम त हुनुपर्‍यो । नमस्ते खानका लागि पाएको जिम्मेवारी होइन ।’ अहिले गण्डकीको महामन्त्रीको भूमिकामा नवीन त्रिपाठी छन् ।

६ फागुनमा बसेको रास्वपाको सचिवालय बैठकले कर्णाली प्रदेशको कमिटी नै विघटन गरिदिएको छ । सभापति धिरज वली नेतृत्वको प्रदेश समिति एक वर्ष पूरा गरेलगत्तै विघटनमा परेको हो ।

वलीले संगठन निर्माणलाई गति दिन नसकेको स्वीकार्दै केन्द्रमा पत्र लेखेका थिए । ‘धिरजजीले संगठन निर्माणका लागि समय दिन सक्नुभएन ।

संगठन बनाउन दक्षता पनि हुनुपर्‍यो’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘उहाँले समय दिनसक्ने अवस्था आएन । यही बीचमा धेरै समय उहाँ भारतमा बस्नुभयो ।’

कर्णालीमा २८ माघ २०७९ मा प्रदेश समिति गठन गरिएको थियो । कर्णालीका जिल्ला समितिहरु पनि प्रभावकारी नभएपछि विघटन गरिएको रास्वपाले जनाएको छ ।

केन्द्रबाट नै संगठन परिचालन हुने गरी तत्कालका लागि ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने रास्वपाले निर्णय गरेको छ । तीन महिनासम्म अभियान सञ्चालन गरेर जेठ मसान्तसम्म सक्ने रास्वपाले जनाएको छ ।

सुदूरपश्चिम महामन्त्री भोजराज जोशीलाई हटाएर पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । जोशीलाई भने केन्द्रीय विधेयक मन्थन विभागको सदस्य बनाइएको छ ।

उनीमाथि पनि कार्यक्षमता देखाउन नसकेको कारण देखाउँदै हटाइएको छ । कार्यकारी पद भएपनि जिम्मेवारी अनुसार भूमिका निर्वाह नगर्दा हटाउन परेको बुर्लाकोटी बताउँछन् ।

रास्वपाले हरेक साता प्रदेशका महामन्त्रीहरुसँग संगठनको अवस्थाको जानकारी लिने गरेको छ । संगठन निर्माण गर्न नसक्ने र खराब आचरण भएकालाई हटाउन नसके पार्टीमा भीडमात्रै जम्मा हुने भएकाले हटाउने गरिएको सहमहामन्त्री बुर्लाकोटी बताउँछन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?