हालैका दिनमा एक विषयवस्तुमा समाचार आयो- प्रसूति गृह थापाथलीबाट बालिका चोरी भयो, दिनदहाडै एक महिलाले बालिका चोरेर काँडाघारी आफू बस्ने डेरा कोठासम्म पुर्याइन्, किनकि उनका सन्तान थिएनन् र सन्तान प्राप्तिको असीमित चाहनाले उनलाई गलत बाटोमा जान बाध्य पार्यो । कानुनको नजरमा यो एउटा दण्डनीय कार्य त हो नै तर त्योभन्दा कम संवेदनायुक्त छैन आमा हुन वा सन्तान प्राप्तिको चाहनाको भावनात्मक पाटो ।
फागुन ११ गते शुक्रबार प्रसूति गृहबाट बच्चा चोरी भएको समाचारमा फलोअप रिपोर्ट आउने क्रममै थियो । त्यसको ४८ घण्टा नबित्दै आइतबार फेरि त्यस्तै अक्षम्य अपराध करार हुनसक्ने तर भावनात्मक पाटो जोडिएको अर्को खबरले अनलाइन माध्यमका भित्ता र सामाजिक सञ्जाल रंगियो । जसको शीर्षक थियो- ‘छोरी जन्मिएको भन्दै परिवारमा झगडा, शिशुलाई अस्पतालमै छोडेर हिंडिन् आमा ।’
यी दुवै घटनाक्रमलाई हेर्दा एउटी महिला आमा बन्न नसकेको तनाव बीच बच्चा चोर्न बाध्य छिन् भने अर्को महिला आमा बनेर पनि सन्तानलाई अस्पतालमा छोडेर भाग्न बाध्य छिन् । कसैलाई चोरेर भए पनि सन्तान चाहिएको छ कसैलाई छोरी भएकै कारण छोडेर हिंड्नुपर्ने बाध्यता छ । यी दुई विल्कुल फरक प्रकृतिका घटना हुन् तर यसमा एउटा समानता केही न केही अवश्य मिल्छ, त्यो के भने घरपरिवार र समाज ।
यी दुवै घटनामा यही घरपरिवार र समाज मुख्य दोषी हो भन्दा यो एउटा सर्वमान्य जवाफ नहुन सक्छ तर सत्य यही हो पनि । कसैलाई चोर्न बाध्य बनाएको छ, कसैलाई छोड्न बाध्य पारेको छ । अर्थात् घर परिवार र समाजले चैनका साथ बाँच्न दिंदैनन् मरेपछि सबैले विचरा भन्छन् । यो लज्जास्पद र शर्मनाक तीतो विडम्बना सभ्य समाज र २१औं शताब्दीको घरपरिवार भन्न पनि सुहाउने कुरा होइन ।
जसरी बच्चा चोर भनेर उनलाई कानुनको कठघरामा उभ्याइन्छ र सजाय दिइन्छ, सम्भवतः त्योभन्दा ठूलो पीडा चोट र सजाय त घरपरिवारले वा समाजले दिएको हुनसक्छ । नत्र मानिस त्यो हदसम्म विक्षिप्त भएर वा तनाव लिएर बच्चा चोर्दै सुत्केरी भएको अभिनय गर्न सक्दैन । यो एक काल्पनिक पनि हुनसक्छ कि उनलाई पारिवारिक वा सामाजिक दबाब थियो । तर धेरै घटना र हदसम्म यस्ता कुरा यो समाजमा अझै व्याप्त छ ।
नेपालको कतिपय भूगोल आज पनि दाइजो प्रथाले आक्रान्त छ, जहाँ सयौं बुहारीहरू दाइजोका कारण मारिएका हुन् भने बाँचेका पनि अनेकांै पीडा र यातना सहेर जिउँदै मरेतुल्य भएर बाँचेका छन् । दाइजोका नाममा, छोरी भएका नाममा वा सन्तान नभएका नाममा हुने हिंसालाई सामान्य मान्न सकिंदैन र यो सभ्य समाजका लागि सुहाउने र स्वीकार गर्न सकिने विषय होइन ।
चाहे शिक्षित परिवार होस् वा अशिक्षित सबैतिर कुनै न कुनै रूपमा हिंसा भएका कतिपय यस्ता घटना घरभित्रै लुकाइन्छ त कतिपय सतहमा आउँछन् फरक यत्ति हो । आजसम्म हामीले निःसन्तान हुनु महिलाको मात्र दोष होइन वा छोरी जन्मनुमा महिलाको कुनै भूमिका हुँदैन भनेर समेत बुझाउन सकेनौं र बुझेका भनेेकाले पनि नबुझे जस्तोे गरिदिए र बुहारी माथि हिंसा गरिरहे ।
सन्तान हुनु, छोरा नै पाइदिनु महिलाको ठेक्का होइन न त यो उनमा निर्भर छ भन्ने कुरा समेत यहाँ बुझाउनेहरूले त नबुझेको जस्तो गर्छन् भने नबुझेकालाई त अझ बुझाउन कठिन छ । छोरीलाई पढाउनुहुँदैन वा राम्रो विद्यालयमा पढाउन जरूरी छैन भन्ने तल्लोस्तरको सोच भएकाहरू पनि हाम्रै घरपरिवार र समाजभित्र छन् ।
निद्रामा रहेकोलाई ब्युँझाउन सकिन्छ तर निदाएको अभिनय गर्नेलाई सकिंदैन । यो समाजको विकृति त्यस्तै प्रकृतिको छ । नत्र कोही किन चोरको दर्जामा पुगेर अरूका बच्चा लगेर आमा बन्न खोज्छ र अझ अर्को कुरा समाचारमै आए अनुसार ती महिलाले बच्चा लगेर आफू सुत्केरी भएको भन्दै छरछिमेक र आफन्तलाई खबर समेत गर्न भ्याइन् आखिर यो हदसम्मको बाध्यता यही घरपरिवार र समाजको उपज हो किन नभन्ने ?
अर्कोतर्फ वीरगञ्जको घटना उत्तिकै मार्मिक छ । फागुन १२ गते एक महिलाले नारायणी अस्पताल वीरगञ्जमा छोरी जन्माइन् । छोरी जन्माएको भन्दै परिवारले झगडा गरेपछि ती महिला नवजात शिशु छाडेर हिंडिन् । यसअघि तीन वटा छोरी जन्माएकी महिलाले चौथो सन्तानको रूपमा पनि छोरी जन्माएकी थिइन् । छोरी जन्माउनु नै उनको दोष भयो वा अपराध भयो किनकि छोरी जन्मिएपछि सासूले गाली गरेको र रिसाएको स्वयम् अस्पतालका डाक्टरहरूले भनिरहेका छन् । जसका कारण जन्मिएपछि पाउनुपर्ने मातृवात्सल्यबाट अबोध शिशुलाई वञ्चित गराइएको छ ।
अर्थात् जन्मिएपछि आमाको न्यानो काख चाहिने अबोध शिशुलाई अस्पतालको बेडमा चिसो बनाइयो । यसमा ती निर्दोष आमाको कहींकतै दोष हुँदै होइन । दोष त फेरि पनि उही घरपरिवार र समाजको हो । जसले उनलाई यसअघि पनि छोरी पाएकै कारण यातना दिएको हुनुपर्छ । तर ती यातना दिनेलाई छोराछोरी के हुने भन्ने कुरा पुरुषमा निर्भर हुन्छ भनेर कसले सम्झाई, बुझाइदिने ? नत्र नवजात शिशुको के दोष अनि तिनले केको सजाय भोग्नुपर्ने ! मातृवात्सल्यबाट वञ्चित भएर ?
छोरा र छोरीमा गरिने यो प्रकारको भेदभाव कानुनी रूपमा दण्डनीय हो भने सामाजिक रूपमा कुरीति र कुसंस्कार हो भनेर लक्षित वर्ग र समुदायसम्म सन्देश नपुगेका होइनन् । तर ती अझै पर्याप्त छैनन् भन्ने यस्ता घटनाले देखाउँदछ । निःसन्तान हुनुको दोष महिलाले मात्रै खेप्नुपर्ने अर्को विडम्बनाले पनि एउटी महिला बच्चा खोज्न र चोर्न बाध्य छिन् भने छोरी पाउनुको दोष पनि महिलाले मात्रै बोक्नुपर्ने भएर होला अस्पतालमै आˆनो सन्तान छोडेर हिंड्नु परेको ।
यति सानो कुरामा त हाम्रो चेतना स्तर माथि उठ्न सकेको छैन भने हामी स्वतन्त्रता र समानताका अरू कुरा गर्छौं, सभ्य समाज निर्माणको र विकसित मुलुकको कुरा गर्छौं । यी र यस्तै सामाजिक कुसंस्कारमा हाम्रो सोच बदलिनु जरूरी छ ।
खासमा सुन्दा र पढ्दा पनि दर्दनाक लाग्ने मन खिन्न र विचलित हुने खबर हुन् यी । जुन अझै पढ्नु र देख्नु परेको छ । हामीले जतिसुकै अधिकार र स्वतन्त्रताका कुरा गरे पनि ती लक्षित वर्गसम्म यसको चेतना फैलाउन नसके त्यसले कुनै प्रकारको प्रतिफल दिन सक्दैन । न त समाज परिवर्तनको लक्ष्य नै पूरा हुन्छ ।
आफूले जन्माएको सन्तान छोडेर हिंड्नुपर्ने बाध्यात्मक अवस्थासम्म कसले पुर्यायो भन्ने सवाल महत्वपूर्ण हो । जसको निराकरण जरूरी छ । नत्र दाइजोका नाममा, सन्तान नभएका नाममा वा छोरी पाएका कारण मारिन्छन् र यातना भोगेर, हिंसा खेपेर विक्षिप्त हुन्छन् कैयौं बुहारीहरू ।
घरपरिवार र समाजलाई त्यसैमा रमाउनु छ तर कसैले कसैलाई यस्ता बहानामा यातना र हिंसा गर्न दण्डनीय अपराध हो भनेर बुझाउनु र यसलाई न्यूनीकरण गर्नु सभ्य समाज निर्माणको अनिवार्य शर्त पनि हो ।
(थापा सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सशस्त्र प्रहरी बलका सह-प्रवक्ता हुन् ।)
प्रतिक्रिया 4