
१६ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि सबैभन्दा महँगा ७ कम्पनीको मूल्य बढेको छ । सबैभन्दा महँगो कम्पनी युनिलिभरको मूल्य यस दिन ६ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ४०१ रुपैयाँ बढ्यो । यस कम्पनीको मूल्य बुधबार प्रतिकित्ता ४१ हजार ९ सय रुपैयाँ पुगेको छ । युनिलिभरको मूल्य पुस १६ यताकै उच्च हो । बजारमा यस कम्पनीको जम्मा ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ ।
त्यस्तै दोस्रो महँगो कम्पनी बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढेको छ । यो कम्पनीको मूल्य प्रतिकित्ता १९ हजार ६४१ रुपैयाँ पुगेको छ । कम्पनीको यो मूल्य हालसम्मकै उच्च हो । यसको कुल १९ लाख ४८ हजार ८८७ कित्ता सेयर सूचीकृत छ ।
तेस्रो महँगो कम्पनी बोटलर्स नेपाल तराईको मूल्य पनि बुधबार १० प्रतिशत नै बढेर प्रतिकित्ता १६ हजार १७७ रुपैयाँ पुगेको छ । कम्पनीको यो मूल्य ६ महिनायताकै उच्च हो । यसको कुल १२ लाख १० हजार कित्ता सेयर सूचीकृत छ । विगत केही सातादेखि नै बोटलर्स नेपालका २ कम्पनीहरुको मूल्य निरन्तरः बढिरहेको छ ।
त्यस्तै चौथो ठूलो कम्पनी राष्ट्रिय बीमा कम्पनीको मूल्य पनि बुधबार प्रतिकित्ता १० रुपैयाँ बढेर १३ हजार ७१० रुपैयाँ पुगेको छ । यस कम्पनीको मूल्य भने विगत एक साताकै उच्च हो । कम्पनीको कुल २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधारण समूहको १२ दशमलव २५ प्रतिशत छ ।
बजारको पाँचौ महँगो कम्पनी हो– साल्ट ट्रेडिङ कर्पोरेसन । साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य बुधबार ४.९५ प्रतिशत बढेर ५ हजार ३ सय रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य २ सातायताकै उच्च हो । यसको २७ लाख ८८ हजार ८४४ कित्ता सेयर सूचीकृत छ ।
अर्को विशाल बजार कम्पनी छैटौं महँगो कम्पनी हो । यसको मूल्य बुधबार १० प्रतिशत बढेर प्रतिकित्ता ४ हजार २६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य गत पुस ११ यताकै उच्च हो । विशालबजारको ४ लाख ९१ हजार ४०० कित्ता सेयर सूचीकृत छ ।
सातौं महँगो कम्पनी नागरिक लगानी कोषको सेयर मूल्य बुधबार २.१९ प्रतिशत अर्थात् प्रतिकित्ता ४५ रुपैयाँ बढेर २ हजार १ सय रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य कारोबार बन्द हुँदा एक साताकै उच्च हो । कोषको ५ करोड ३१ लाख ३७ हजार ५०४ कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधारण समूहको २० प्रतिशत छ ।
सेयर बजारका महँगा ७ कम्पनी र बुधबारको मूल्यवृद्धि :
कम्पनी | बुधबारको मूल्य | वृद्धिदर |
युनिलिभर नेपाल | ४१,९०० | ६.०८ |
बोटलर्स नेपाल बालाजु | १९,६४१ | १० |
बोटलर्स नेपाल तराई | १६,१४४.७० | १० |
राष्ट्रिय बीमा कम्पनी | १३,७१० | ०.०७ |
साल्ट ट्रेडिङ कर्पोरेसन | ५,३०० | ४.९५ |
विशाल बजार कम्पनी | ४,०२६ | १० |
नागरिक लगानी कोष | २,१०० | २.१९ |
प्रतिक्रिया 4