+

अचानक बेहोस भएमा

२०८० फागुन  १७ गते १२:४३ २०८० फागुन १७ गते १२:४३
अचानक बेहोस भएमा

मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन । हेर्दा खाइलाग्दा र तन्दुरुस्त व्यक्ति पनि अचानक बेहोस भइरहेका हुन्छन् ।

मानिस बेहोस हुनुमा मुख्य दुई कारण छन् । जसलाई चिकित्सकीय भाषामा मेटाबोलिकल र भास्कुलर भनिन्छ ।

शरीरमा पानी, नुन, भिटामिन बी १२ को कमी,  मधुमेह, उच्च वा न्यून रक्तचाप, उच्च ज्वरो, शरीर कमजोर जस्ता कारणले बेहोस हुनुलाई मेटाबोलिकल कारण भनिन्छ । व्रत बसेको बेला, काजक्रियामा बसेको बेला धेरै जना बेहोस भइरहेका हुन्छन् । केही सेकेण्डका लागि बेहोस हुने समस्या केमिकल गडबडीका कारण हुने गर्छ ।

भास्कुलर दिमागको नसामा असर परेर बेहोस हुने कारण हो । छारेरोग, स्ट्रोक, ट्युमर भएमा, मस्तिष्क सुन्निएमा, शरीरमा अक्सिजनको मात्रा कमी भएमा, मुटुको चाल गडबडी भएमा, दिमागमा रगतको कमी भएमा, दिमागमा पिप जमेर वा कुनै संक्रमण भएमा मानिस बेहोस हुनसक्छ । औषधिको ओभरडोज, धुम्रपान, मद्यपान बढी गर्दा पनि बेहोस हुने गर्छन् ।

यो कारणमा मानिस एक मिनेटभन्दा बढी समय बेहोस हुने गर्छन् ।

यस्तो अवस्थामा के गर्ने ?

सुरुमा मानिस कसरी वा किन बेहोस भएको हो भन्ने कुराको पनि जानकारी लिनुपर्छ । जस्तै, आँखाको अस्वाभाविक चाल, हातखुट्टा चलिरहेको छ र रक्तसञ्चार पनि छ भने छारेरोगको कारणले बेहोस भएको बुझ्नुपर्छ  ।

जुनसुकै कारणले बेहोस भएपनि बिरामीलाई पहिले सुरक्षित ठाउँमा लैजानुपर्छ । घाँटीमा केही बेरिएको छ भने निकालिदिनुपर्छ । चोटपटक लागेको छ कि छैन, रक्तसञ्चार भइरहेको छ कि छैन हेर्नुपर्छ । सामान्य तरिकाले बेहोस भएको अवस्थामा पंखा चलाइदिने, पानीले अनुहार पुछिदिने गर्न सकिन्छ ।

बेहोस भएर अस्पताल पुर्‍याउनुअघि रिकभरी पोजिसन र सीपीआर विधि अपनाउन सकिन्छ । रिकभरी पोजिसन बेहोस भएको व्यक्तिलाई बायाँ कोल्टो पारेर सुताउने प्रक्रिया हो । अचानक कोही व्यक्ति बेहोस भएमा सर्वप्रथम यो पोजिसनमा राख्नुपर्छ ।

त्यसबेला बेहोस भएको व्यक्तिको बायाँ हात सिधा राख्ने र दायाँ हात गालामा वा चिउँडोको तल राख्नुपर्छ । दायाँ खुट्टा समातेर बायाँपट्टि बिस्तारै कोल्टो पार्नुपर्छ । देब्रे खुट्टालाई सिधा पारी दाहिनेलाई खुम्च्याइदिनुपर्छ । यसरी रिकभरी पोजिसनमा राख्न सकेमा श्वासप्रश्वास बन्द हुने सम्भावना कम हुन्छ । यसरी नराखेको खण्डमा बिरामीको श्वास रोकिएर मृत्यु हुनसक्ने सम्भावना हुन्छ । त्यसैले बेहोस भएको खण्डमा कहिल्यै पनि नाक थुन्ने, पानी खुवाउन खोज्ने क्रियाकलाप गर्नुहुँदैन ।

कार्डियो पल्मोनरी रिसस्सीटेसन (सीपीआर) प्रक्रिया अपनाउनुपर्छ । यो प्रक्रियामा बेहोस भएको बिरामीको छाती थिच्नुका साथै मुखमा मुख जोडेर श्वास दिने गरिन्छ । यो सर्वसाधारण सबैले जान्नुपर्ने एक महत्वपूर्ण प्रक्रियामध्ये एक हो ।

कुनै कारण बेहोस वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भएमा बाहिरबाट मुटु थिचेर रगत पम्प गराउन सीपीआर गर्ने गरिन्छ ।

कसरी गर्ने सीपीआर ?

सर्वप्रथम बेहोस भएको व्यक्तिलाई बिस्तारै भुईंमा सुताउनुपर्छ  । त्यसपछि उसको एउटा हातमाथि अर्को हात राखी औंलालाई बीचबाट छिराएर हत्केलाले छातीको बीच भागमा थिच्नुपर्छ । कम्तीमा प्रतिमिनेट सयदेखि एक सय २० पटकसम्म दुई इञ्च तलसम्म छाती थिच्नुपर्ने हुन्छ । योसँगै कृत्रिम श्वासप्रश्वास पनि दिनुपर्छ । यसमा ३० पटक छातीमा थिचिसकेपछि नाक बन्द गरेर दुई पटक मुखमा मुख जोडेर कृत्रिम श्वास दिनुपर्छ । यस्तो श्वास दिंदा छाती माथि उठेको देखिनुपर्छ ।

यदि मुखमा मुख जोडेर श्वास दिन नसकेमा पनि छाती थिच्ने कार्य रोक्नु हुँदैन । निरन्तर बिरामीको अवस्था र अस्पताल उपचार नभएसम्म गरिरहनुपर्छ । यो उपचार प्रक्रियाले रगतको सञ्चालन कायम राख्ने, शरीर र मस्तिष्कलाई बचाएर राख्न मद्दत गर्छ । त्यस्तै रोगी होसमा आउनेबित्तिकै नुनिलो र झोलिलो खानेकुरा खुवाउनुपर्छ ।

डा. दीपेश शाक्य बेहोस
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?