+
+

क्यानडासँगको क्रिकेट सिरिजमा अनाधिकृत व्यक्तिले टिकट बेचेको आरोप, २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १२:४०
फाइल तस्वीर

२१ फागुन, काठमाडौं । गतमहिना भएको नेपाल र क्यानडाको दुई पक्षीय क्रिकेट सिरिजको टिकट अनाधिकृत व्यक्तिले बिक्री गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको छ ।

दुई वर्षका लागि करार सम्झौता गरेर टिकट बिक्री गर्दै आएको आईएमई डिजिटल सोलुसन लिमिटेडले अनाधिकृत व्यक्तिले टिकट बिक्री गरेको भन्दै प्रहरी वृत्त, कीर्तिपुरमा जाहेरी दिएको हो ।

कीर्तिपुरका एक प्रहरी अधिकृतका अनुसार, आईएमई सोलुसनका तर्फबाट नवीन श्रेष्ठले प्रहरी कहाँ जाहेरी दिएपछि कागेश्वरी मनहरा–२, आलापोट घर भएका २२ वर्षीय आशिष खड्का र सिन्धुली घर भइ ललितपुर–२, सोनपा बस्दै आएका ३३ वर्षीय दिपेन्द्रकुमार योञ्जन लामा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, आईएमई डिजिटलले अनलाइट टिकट लिनलाई प्रतिव्यक्ति २०० रुपैयाँ र प्रत्यक्ष रुपमा उपस्थित भएर टिकट लिनेलाई ३०० रुपैयाँ लिने गरेको थियो ।

त्यस्तोमा १७ माघमा क्रिकेट मैदानमा प्रवेश गरेर खड्का र योन्ञ्जनले आईएमई डिजिटलको छाप हो भनेर दर्शकलाई ई–सेवामार्फत टिकट बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारिएको जाहेरीमा भनिएको छ ।

‘आईएमसी पे लेखिएको छाप समेत लगाएर दर्शकसँग रकम लिएर झुक्याएको अवस्थामा उनीहरु पक्राउ परेका थिए’, जाहेरीमा भनिएको छ ।

पक्राउ परेका आशिष खड्काले भने खेल हेर्न गएका बेला एक जना नचिनेका मान्छेले ‘एक हजार दिन्छु, हाल बरामद भएको आईएमई पे लेखिएको छाप तिमिसँग राख’ भनेर दिएको दाबी गरेका छन् ।

‘कुमार योञ्जन पानी बेचिरहेका थिए, उनी भएको ठाउँमा गएर पानी किनेर ती व्यक्ति फरार भएका थिए’, उनले भनेका छन्, ‘उनले हामी आईएमई डिजिटल सोलुसन लिमिटेडका कर्मचारी हौं, क्रिकेट हेर्नभित्र प्रवेश गर्ने दर्शकका लागि टिकट काट्ने काम गर्छौं भनेका थिए ।’

त्यसक्रममा ‘आफूहरुसँग अनलाइन पे ई–सेवा नभएको भन्दै जम्मा गरिदिन’ भनेका थिए । त्यसवापत ‘तपाईंको पानी, चुरोट पनि हामी किनिदिन्छौं, तपाईंको व्यापार पनि हुन्छ, बाँकी हिसाब बेलुकी गरौंला भनेका थिए ।’

प्रहरीले वृत्त, कीर्तिपुरले यो घटनामा अनुसन्धान गरेर क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को छापा समेत कीर्ते गरेको निष्कर्षसहित दुवै जनाविरुद्ध ठगी र लिखत सम्बन्धी कसुरमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिलमा प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा समेत दर्ता भएको छ । सोमबार अदालतमा थुनछेक बहस हुँदैछ ।

नेपाल र क्यानडाबीच फेब्रुअरी ८, १० र १२ मा तीन वटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?