२१ फागुन, काठमाडौं । सडक विभाग अन्तरगतको सडक डिभिजन काठमाडौंले सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्वीर नै राखी सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति खेद प्रकट गरेको छ ।
आइतबारको सामान्य झरीले विभागको कार्यालय परिसरभित्रैको सडक हिलाम्मे भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै विभागले वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको छ ।
विभागले चालु आर्थिक वर्षमा बजेट कम भएका कारण यो सडक स्तरोन्नती गर्न सडक बोर्डतर्फको बजेटबाट ठेक्का गरिएको बताएको छ । यो काम यसै वर्ष सकिने गरी १६ माघमा सम्झौता भइसकेको छ विभागले बताएको छ ।
२०७२ सालको भूकम्पका कारण जीर्ण बनेको बबरमहल प्रवलीकरणको काम गर्न ठेक्का लगाए पनि सडकको काम सो ठेक्काभित्र समावेश नभएको विभागले जनाएको छ ।
गत भदौ ६ बाट चाकुपाटबाट बबरमहलको आफ्नै भवनमा सञ्चालन भए पनि विभागले आफ्नै कार्यालय परिसरको सडक ६ महिनामा पनि मर्मत गरेको छैन । जसका कारणा आइतबारको सामान्य वर्षाले नै विभाग परिसरकाे बाटाे हिँड्नै नसकिने गरी हिलाम्य बनेको थियो ।
‘यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले १९ फागुनमा (शनिबार) सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडि अतिरञ्जित गर्नु खेदजनक छ,’ विभागले भनेको छ ।
सो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यावसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको विभागको दाबी छ ।
‘निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझी बुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधारविज्ञ सम्झिने, स्वघोषित विज्ञहरुले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य हो,’ डिभिजनले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सडक विभाग, सडक डिभिजन काठमाडौं मातहतका सडकहरुमा खाल्डारहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक संदेश फैलाई देशमा केही राम्रो काम हुँदैन ।’
सबैतिर यस्तै हो भन्ने खालका टिप्पणीले विद्यार्थीदेखि सबैमा नकारात्मक मनोभाव उत्पन्न भै विदेशिने कारणमध्ये यस्तै हर्कत पनि मुख्य रुपमा आएको विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘सामाजिक सञ्जालमा आएका यस किसिमका अतिरञ्जित प्रतिकृयाप्रति सजग रही वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिन सरोकारवाला तथा सर्वसाधारणमा सडक डिभिजन काठमाडौं हार्दिक अपिल गर्दछ,’ सूचना भनिएको छ ।
हेर्नुहोस् विभागको विज्ञप्ति :
प्रतिक्रिया 4