+
+
Shares

सडक विभागले भन्यो– कृष्णभिरबाट सडक सञ्चालन गर्ने प्रयास उच्च प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक विभागले धादिङको कृष्णभिरमा पुनः सक्रिय पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग वा वैकल्पिक सडकसहित दुईवटा पुल बनाउने विकल्पमा अध्ययन गरिरहेको छ।
  • महानिर्देशक डा. विजय जैसीले हालैको वर्षा र बाढीले तल्लो भाग कटान र सुरक्षा पर्खाल भत्काएपछि पहिरो फेरि सक्रिय भएको र तत्काल दरार सिल गर्ने काम भइरहेको बताए।
  • विभागले त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति भएका करिब २९ वटा पुलको मर्मत र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखेको छ।

२१ भदौ, काठमाडौं । सडक विभागले धादिङको कृष्णभिरमा पुन: बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको बताएको छ ।

विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन् ।

महानिर्देशक डा. जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुन: देखिएको हो । यातायात सञ्चालनका लागि विभागले रातदिन काम गरिरहेको उनको दाबी छ ।

‘रसुवाको बाढीपछिको समस्याले यहाँको सुरक्षा पर्खाल (वाल) भत्काएपछि पहिरो फेरि सक्रिय भएको हो । अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरार (क््र्याक) हरू देखिएका छन् । ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘विश्व बैंकको ठेक्का अन्तर्गतका निर्माण व्यवसायी र उपकरणहरू परिचालन गरिएको छ । रात्रिकालीन समयमा पनि फ्लडलाइट जडान गरी जोखिम न्यूनीकरण गर्दै काम भइरहेको छ । प्राविधिक जटिलताका कारण ठ्याक्कै मिति तोक्न कठिन भएपनि उच्च प्राथमिकताका साथ सडक सञ्चालन गर्ने हाम्रो प्रयास जारी छ ।’

कृष्णभिरको स्थायी समाधानका लागि विभागले दुई वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले बताए । उनका अनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङमार्ग (टनेल) निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा गृहकार्य भइरहेको छ ।

‘यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले मितव्ययी हुन्छ, त्यसलाई नै हामीले अगाडि बढाउनेछौं,’ उनले भनेका छन् ।

त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति भएका करिव २९ वटा पुलहरूको मर्मत सम्भार र पुनर्निर्माणलाई विभागले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?