+
+
Shares

रसुवा बाढीको प्रभाव : किरियापुत्री घरहरूमा ठाउँकै अभाव

किरिया बस्ने ठाउँ नपाउँदा विपद्मा आफन्त गुमाएका परिवारलाई पीडामाथि पीडा थपेको छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ भदौ २१ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा बेपत्ता ४० वर्षीय हरिप्रसाद मैनालीको शव नभेटिएपछि परिवारले कुशको प्रतीक बनाएर अन्तिम संस्कार गरेको छ।
  • काठमाडौंमा बाढीपीडितका आफन्त बढेपछि तारकेश्वरसहित पशुपति, बसुन्धरा, धापासी, बाँसबारी, नेपालटार र काँडाघारीका किरियापुत्री भवन भरिएका छन्।
  • नगरपालिकाले निर्माणाधीन भवन र पशुपति क्षेत्रको वैकल्पिक भवन अस्थायी किरियापुत्री स्थलका रूपमा प्रयोग गर्न दिएपछि तत्काल किरियाकर्मका लागि ठाउँ व्यवस्थापन गरिएको छ।

२१ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ४० वर्षीय हरिप्रसाद मैनाली बेपत्ता भए । १० भदौको बाढीमा परेका उनको अवस्था पत्ता लागेन ।

धेरैदिन खोजी गर्दा पनि फेला पर्ने सम्भावना कमजोर हुँदै गएपछि परिवारले हरिप्रसाद फर्केर आउने आशा मार्नुपर्‍यो । शवसमेत नभेटिएपछि परिवारले कुशबाट उनको प्रतीक बनाएर अन्तिम संस्कार गर्‍यो ।

तर आफन्त गुमाएको पीडाबीच मैनाली परिवारले अर्को समस्या पनि सामना गर्नुपर्‍यो– किरियाकर्मका लागि ठाउँको अभाव ।

हरिप्रसादका भाइ हेमचन्द्रका अनुसार काठमाडौंको तारकेश्वर क्षेत्रमा रहेका अधिकांश किरियापुत्री भवन भरिएका छन् । त्यसपछि नगरपालिकाले निर्माणाधीन किरियापुत्री भवनलाई अस्थायी रूपमा प्रयोग गर्न दिएपछि परिवारले त्यहीँ बसेर अन्तिम संस्कार गरिरहेको छ ।

‘आफ्नो मान्छे गुमाएको पीडा त छँदैछ, त्यसमा पनि किरिया बस्ने ठाउँ खोज्न निकै समस्या भयो । धेरै ठाउँ भरिएका रहेछन् । अहिले निर्माणाधीन भवनमै बसेर किरियाकर्म गरिरहेका छौं,’ हेमचन्द्रले भने ।

हरिप्रसादको परिवारको यो अवस्था अहिले विपद्मा आफन्त गुमाएका धेरै परिवारको साझा समस्या बनेको छ । भोटेकोशी तथा रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीपछि एकैपटक ठूलो संख्यामा परिवारले आफन्त गुमाउँदा काठमाडौंका किरियापुत्री भवनमा पनि चाप बढेको हो ।

पशुपति क्षेत्रमा रहेको ४२ कोठे किरियापुत्री सेवा केन्द्रसमेत भरिएपछि वैकल्पिक व्यवस्थापन गर्नुपरेको छ । पशुपति क्षेत्र विकास कोषका एक अधिकारीका अनुसार वनकाली क्षेत्रमा फूल बिक्रीका लागि प्रयोग हुँदै आएको करिब ८० कोठा रहेको भवनलाई समेत अस्थायी रूपमा किरियापुत्री भवनका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि पशुपति क्षेत्रमा तत्कालका लागि किरियाकर्म गर्ने ठाउँको अभाव नरहेको ती अधिकारीको दाबी छ ।

यस्तै, तारकेश्वर नगरपालिकाले निर्माणाधीन किरियापुत्री भवनलाई अस्थायी रूपमा प्रयोग गर्न दिएको छ । काठमाडौंको बसुन्धरा, धापासी, बाँसबारी, नेपालटार र काँडाघारीलगायतका क्षेत्रमा पनि किरियापुत्री भवनमा चाप बढेको छ ।

शव नपाउँदा कुशको प्रतीक, त्यसपछि किरियाकर्मको अर्को संघर्ष

विपद्मा बेपत्ता भएका व्यक्तिको शव नभेटिंदा परिवारले अन्तिम संस्कार कसरी गर्ने भन्ने अर्को जटिलता थपिन्छ । हरिप्रसादको परिवारले जस्तै कतिपय परिवारले लामो समयसम्म खोजी र प्रतीक्षा गरेपछि अन्तत: कुशको प्रतीक बनाएर अन्तिम संस्कार गर्नुपर्ने अवस्था आउन सक्छ ।

शव नभेटिएको अवस्थामा परिवारले आफन्तको मृत्यु स्वीकार गर्नसमेत समय लाग्न सक्छ । एकातिर ‘सायद भेटिन्छन् कि’ भन्ने आशा बाँकी रहन्छ भने अर्कोतिर खोजी र प्रतीक्षाको अनिश्चितताले परिवारलाई मानसिक रूपमा थकित बनाउँछ । यस्तो अवस्थामा धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार पूरा गर्नु परिवारका लागि भावनात्मक रूपमा महत्वपूर्ण हुन सक्छ ।

तर अन्तिम संस्कार गर्ने निर्णय गरेपछि पनि किरिया बस्ने ठाउँ, बसोबास, खाना, शौचालय, सरसफाइ र आर्थिक व्यवस्थापनजस्ता विषयले परिवारलाई थप तनाव दिन सक्छन् ।

‘शोकमा रहेका परिवारलाई व्यवस्थापनकै तनाव थपिनु हुँदैन’

विपद् वा आकस्मिक मृत्यु आफैंमा गहिरो मनोसामाजिक आघात हो । त्यसपछि शव व्यवस्थापन, अन्त्येष्टि र किरियाकर्मको प्रक्रियामा थप कठिनाइ आउँदा शोकको पीडा झन् जटिल बन्न सक्ने मनोविद् गृष्मा पनेरू बताउँछिन् ।

‘परिवारले प्रियजन गुमाएको अवस्थामा उनीहरू पहिले नै आघात, अविश्वास, डर, अपराधबोध र गहिरो शोकको अवस्थामा हुन्छन् । त्यही समयमा शव पहिचान गर्न कठिन हुनु, शव प्राप्त गर्न लामो समय लाग्नु, सुरक्षित रूपमा व्यवस्थापन गर्न नसक्नु वा अन्तिम संस्कारका लागि आवश्यक व्यवस्था नहुनुले उनीहरूको मानसिक पीडा बढाउन सक्छ,’ पनेरू भन्छिन् ।

यस्तो अवस्थाले आघातजन्य शोक बढाउन सक्ने मनोविद्हरू बताउँछन् । बारम्बार घटना सम्झिने, दु:स्वप्न आउने, डराउने वा आत्तिने जस्ता समस्या देखिन सक्छन् ।

‘शव व्यवस्थापन, अन्त्येष्टि, किरियाकर्म, बस्ने ठाउँ, आर्थिक व्यवस्थापन तथा आफन्तलाई जानकारी दिने जस्ता धेरै निर्णय छोटो समयमा लिनुपर्ने हुन्छ ।

परिवारका सदस्यहरू आफैं शोक र तनावमा भएकाले ‘के गर्ने ?’, ‘कसले गर्ने ?’, ‘कहाँ गर्ने ?’ भन्ने विषयमा समेत मतभेद हुन सक्छ,’ उनले भनिन् ।

विशेषगरी मृतकलाई सम्मानपूर्वक अन्तिम बिदाइ दिन पाएनौँ भन्ने अनुभूतिले शोक प्रक्रियालाई थप जटिल बनाउन सक्ने उनको भनाइ छ ।

किरियाकर्मका लागि काठमाडौं आएका एक मृतकका आफन्तका अनुसार आफन्त गुमाएको अवस्थामा परिवारको पहिलो आवश्यकता मानसिक रूपमा सम्हालिनु र परम्पराअनुसार अन्तिम संस्कार पूरा गर्नु हो । तर ठाउँ खोज्नै कठिन भएपछि परिवार थप अन्योलमा पर्ने गरेको उनी बताउँछन् ।

‘आफ्नो मान्छे गुमाएको पीडा कसरी सम्हाल्ने भन्ने अवस्थामा हुन्छौँ । त्यसमाथि किरिया बस्ने ठाउँ कहाँ पाइन्छ भनेर फोन गर्दै र ठाउँ खोज्दै हिँड्नुपर्दा झन् गाह्रो हुन्छ,’ उनले भने ।

उनका अनुसार बाहिरबाट काठमाडौं आएका परिवारका लागि समस्या अझ बढी हुन्छ । स्थानीय ठाउँबारे जानकारी नहुनु, कहाँ किरियापुत्री भवन छ भन्ने थाहा नहुनु र एउटै भवन भरिएको अवस्थामा अर्को ठाउँ खोज्नुपर्ने बाध्यताले परिवारलाई थप तनाव दिने गरेको छ ।

सामाजिक रूपमा पनि ‘शोक व्यवस्थापन’ आवश्यक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मध्यान्हसम्म रसुवा बाढीबाट १ हजार ३४१ जनाको ज्यान गइसकेको छ।

मृत्यु र अन्तिम संस्कार व्यक्तिगत तथा पारिवारिक विषय मात्र होइन, यससँग सामाजिक र सांस्कृतिक पक्षसमेत जोडिएका हुन्छन् । विशेषगरी नेपाली समाजमा किरियाकर्म मृतकप्रति सम्मान प्रकट गर्ने र परिवारलाई शोकको प्रक्रियाबाट अघि बढ्न सहयोग गर्ने महत्त्वपूर्ण सामाजिक अभ्यासका रूपमा रहेको छ ।

त्यसैले विपद्का बेला ठूलो संख्यामा मृत्यु हुँदा शव व्यवस्थापनसँगै परिवारको शोक व्यवस्थापनलाई पनि विपद् व्यवस्थापनकै एउटा हिस्सा का रूपमा लिनुपर्ने आवश्यकता देखिन्छ ।

विपद् व्यवस्थापनमा उद्धार, उपचार, राहत र शव व्यवस्थापनलाई प्राथमिकता दिइए पनि मृतकका परिवारले त्यसपछि सामना गर्ने सामाजिक तथा मानसिक समस्यामा पर्याप्त ध्यान नपुग्ने अवस्था हुन सक्छ । किरियाकर्मका लागि ठाउँ नहुनु त्यही समस्याको एउटा उदाहरण हो ।

विपद्पीडित परिवारका लागि किरियाकर्म स्थलसँगै खानेपानी, शौचालय, सरसफाइ, खाना, सुरक्षा, आवश्यक सूचना र परामर्शको व्यवस्था पनि गर्नुपर्ने आवश्यकता देखिन्छ । वृद्धवृद्धा, महिला तथा बालबालिका साथमा भएका परिवारका लागि सुविधा झन् संवेदनशील हुन्छ ।

अन्तिम संस्कार पनि विपद् व्यवस्थापनकै हिस्सा

विपद् व्यवस्थापन विज्ञ तथा समाजशास्त्रीका दृष्टिमा ठूलो विपद्का बेला मृतकको सम्मानजनक अन्तिम संस्कार सुनिश्चित गर्नु राज्य र समुदायको मानवीय दायित्व हो ।

रसुवाको बाढी जस्तो एकैपटक धेरै परिवार प्रभावित हुने अवस्थामा नियमित संरचनाले मात्र माग धान्न नसक्ने भएकाले स्थानीय तह, अस्पताल, पशुपति क्षेत्र विकास कोष र सामाजिक संघसंस्थाबीच पूर्वसमन्वय आवश्यक हुन्छ ।

भविष्यमा यस्ता विपद्का लागि काठमाडौं उपत्यकामा वैकल्पिक किरियाकर्म स्थलको पहिचान, अस्थायी संरचनाको तयारी, खानेपानी तथा सरसफाइको व्यवस्था र परिवारलाई आवश्यक सूचना दिने संयन्त्र तयार गर्न सकिन्छ ।

आफन्त गुमाएका परिवारका लागि अन्तिम संस्कार केवल धार्मिक कर्म पूरा गर्ने प्रक्रिया होइन, मृत्युको वास्तविकतालाई स्वीकार गर्दै शोकबाट विस्तारै अघि बढ्ने महत्वपूर्ण मनोसामाजिक प्रक्रिया पनि हो ।

त्यसैले विपद्पछिको व्यवस्थापनमा मृतकको शवसँगै परिवारको पीडा र आवश्यकतालाई पनि केन्द्रमा राख्नुपर्ने देखिन्छ ।

हरिप्रसाद मैनालीको परिवारजस्तै आफन्त गुमाएका परिवारका लागि अहिलेको प्राथमिकता केवल किरिया बस्ने एउटा कोठा पाउनु मात्र होइन । उनीहरूले दु:खको त्यो कठिन समयमा सम्मानपूर्वक अन्तिम संस्कार गर्न पाउने वातावरण, आवश्यक सामाजिक सहयोग र मानसिक रूपमा सम्हालिन सक्ने आधार पाउनु पनि उत्तिकै आवश्यक छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?