News Summary
Generated by OK AI. Editorially reviewed.- पशुपति आर्यघाटमा रसुवा बाढीमा बेपत्ता आफन्तका लागि बुधबार कुशको शव बनाएर दाहसंस्कार गर्नेको ठूलो भीड लागेको थियो ।
- धादिङका विष्णु थापाले बुधबार मात्रै आर्यघाटमा झन्डै १ सयभन्दा धेरैले कुशको शव बनाएर दाहसंस्कार गरेको देखेको बताए ।
- गणेशप्रसाद न्यौपानेको परिवारले खोजीपछि जीवित भेटिने सम्भावना छैन भन्दै कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरेको छ ।
१७ भदौ, काठमाडौं । बुधबार बिहान पशुपति आर्यघाट अरू दिनजस्तो थिएन । घाटमा पुग्नेबित्तिकै अन्य दिनभन्दा फरक दृश्य देखिए । आज त्यहाँ चिता त बल्दै थिए, तर अधिकांशका शव थिएनन् । कुशले बनाइएको मान्छेको आकृति जलिरहेका थिए ।
वरपर उभिएका मानिसहरू खासै बोल्दैनथे । कोही एकोहोरो आगो हेरिरहेका थिए । कोही अलिक पर उभिएर आँखा पुछ्दै थिए । सामान्य दिनमा भन्दा व्यस्त थियो,आर्यघाट ।
घाटमा बिहानैदेखि खटिएका थिए,धादिङका विष्णु थापा । साढे आठ बजे उनी त्यहाँ पुगेका थिए । दिनभरि लगभग बाह्र घण्टा त्यहीँ बिताए । ‘आज रसुवा बाढी गएको आठौँ दिन । यस्तो अवस्थामा आज नै केही गरेन भने पछि यो प्रक्रिया अलि फरक हुँदोरहेछ । त्यही भएर धेरैले आजै गर्नुभयो,’ उनले भने ।
बिहान सबैभन्दा पहिले नारायण बानियाँको नाममा कुशको शव बनाइयो । जलाइयो । त्यसपछि विष्णुले खासै फुर्सद पाएनन् । लगत्तै छिमेकी गाउँकै अर्को एकजना आए । एकपछि अर्को गर्दै यो क्रम दिनभर जस्तो चलिरह्यो ।
विकास बस्नेत, गोकर्ण थापा… नाम मात्र फेरिँदै गयो, शव जलाउने तरिका उही रह्यो । कुशकै शव बनाएर दाहसंस्कारको क्रम दिनभर चलिरह्यो ।
विष्णुका अनुसार, उनले चिनेका बाहेकसहित बुधबार मात्र आर्यघाटमा झन्डै एक सय भन्दा धेरै जनाले कुशको शव बनाएर दाहसंस्कार गरे । यो संख्या उनले अनौपचारिक माध्यमबाट सुनेपनि आफैँले देखेको दृश्यले विश्वास गर्ने आधार दिएको उनले बताए ।

विष्णुको आफ्नै गाउँका चार जना त्यही बाढीमा परेका थिए । हिसाब गर्दा झन्डै बीस जना जति उनको चिनजानकै निस्किए । ‘यो अवस्था हेर्नै नसकिने छ । कसैको भर्खरको बच्चा, कसैको एक वर्ष पनि नपुगेको बच्चा, यस्तो भयो । खै के भनौँ…,’ उनले थपे ।
उनको आफ्नै मूल घर धादिङको गंगाजमुना गाउँपालिकामा पर्छ । त्यही क्षेत्रबाट धेरैजसो मानिसहरू आइरहेका थिए ।
समयमा उद्धार भएको भए सायद यत्ति हुने थिएन भन्ने गुनासो विष्णुको छ । उनले थपे, ‘सास नभेटे पनि लास त पाइन्थ्यो होला ।’ सरकारले चुस्त भएर उद्धार गरिदेला भनेर नै घटना भएको हप्ता दिनसम्म कुरेर पनि बसे । आफन्तहरू आफैं खोज्न पनि गए । तर, केही उपाय नलागेपछि अब आश मारेर कुशको शवकै भरमा दाहसंस्कार गरिरहेका छन् ।
त्यहीँ थिए,गणेशप्रसाद न्यौपाने । उनी पेशाले ट्रेकिङ व्यावसायी हुन् । उनी आफ्नै ट्रेकिङ कम्पनी ‘थर्ड आई एड्भेन्चर’ सञ्चालन गर्छन् । १० भदौमा स्याफ्रुबेसीको बाढीमा सम्पर्कविहिन भएका उनका काका पर्ने गणेश न्यौपाने पनि आफ्नै कम्पनी ‘एड्भेन्चर ह्वाइट हिमालयन’ सञ्चालन गर्थे । तर, उमेरले उनीभन्दा चौध वर्ष कान्छा । दुवैको मूल घर धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ मा पर्छ । उक्त वडामा लगभग नब्बे घर न्यौपानेकै छन् ।
धेरैजसो अहिले काठमाडौंमै बसे पनि त्यही गाउँबाट धेरै जना पर्यटन व्यवसायमा लागेका थिए । त्यसको सुरुवात गणेश स्वयंले नै गरेका थिए ।

बेपत्ता गणेशले पनि उनीसँगै गाइडको रूपमा काम गरेर पछि आफ्नै कम्पनी खोलेका थिए ।
भदौ २६ गते बिहान तीन बजे ठमेलको गेस्ट हाउसबाट नौ जना मलेसियन पाहुना लिएर दुईटा स्कर्पियोमा उनी हिँडेका रहेछन् । यो कुरा सीसीटीभी फुटेज र कल लगहरू हेरेरै परिवारले पुष्टि गर्यो । साढे आठ बजेतिर स्याफ्रुबेसी पुगेको परिवारको दाबी छ ।
पौने नौ बजेतिर साथीलाई फोन गर्न पनि गणेशले भ्याएका रहेछन् । अनि श्रीमतीलाई भिडियो देखाउँदै यहाँबाट अब हिँड्न लाग्यौं’ भन्ने म्यासेज पठाउन भ्याएछन् । त्यसको ठ्याक्कै केही मिनेटमै बाढी आएको हल्ला चल्यो । त्यसपछि पुन कल गर्दा सम्पर्क भएन । अन्त्यमा फोन नै बन्द भयो ।
भोलिपल्टै परिवार गणेशको खोजी गर्न त्रिशुली पुगेको थियो । हेलिकप्टरमा गएका साथीहरूसँग उनले कुरा गरे । स्याफ्रुबेंसीको भौगोलिक अवस्था र बाढीको स्थिति बुझे । उनी आफैं पनि त्यो ठाउँमा पुगेर हेरे । धेरै ठाउँमा खोजे ।

‘हाम्रो परिवारले मात्र होइन, गंगाजमुना गाउँपालिकाकै अरू परिवारले पनि जीवित छैन भन्ने विश्वास विस्तारै बनाउनुपर्यो,’गणेश प्रसाद न्यौपानेले भने ।
धेरै दिनसम्म खोज्दा पनि केही थाहा नलागेपछि परिवारले बस्नु र कुर्नुको सीमा बुझ्न थाले ।
‘केही महिना, केही वर्ष पनि कुर्न सकिन्थ्यो । तर परिवारलाई नै सोध्यौँ, जीवित भेटिने सम्भावना कति छ भनेर ? उहाँहरूले नै भन्नुभयो, अब पर्खने अवस्था छैन,’ गणेशप्रसादले सुनाए,‘त्यसपछि कुशकै शव बनाएर दाहसंस्कार गर्ने निर्णयमा पुगियो ।’
मृतक गणेशको परिवारमा बुबा, दाजु र दुई छोरा थिए, जसले नै अन्त्यमा यो निर्णय लिएका थिए ।
उनका आफन्त पर्ने सरोज न्यौपाने पनि त्यहीँ थिए । उनले थपे, ‘हामी जीवित छैन भन्ने विश्वासका साथ यहाँ आएका हौं । यो हाम्रो मात्र होइन, हाम्रै गाउँका अरू परिवारको पनि उस्तै अवस्था हो । यहीँ घाटमा देख्नसक्नुहुन्छ ।’
घाटमा दाहसंस्कारको विधि गरिरहेका एक पुरोहितका अनुसार हिन्दू परम्परामा शव नभेटिँदा काँस र कुशबाट मान्छेको आकृति बनाई विधिपूर्वक दाहसंस्कार गर्ने चलन छ ।
चौंसठ्ठी भाग कुश जोडेर शरीर बनाइन्छ, पिठोले बेरिन्छ, कौँडाले आँखा र बरका रेशाले कपाल राखिन्छ । सबै तयारी भएपछि नारायणबली गरिन्छ । ब्रह्मा, विष्णु र रुद्रका पाँचवटा घडा राखेर विधिवत् पूजा गरिन्छ, अनि दाहसंस्कार गरिन्छ ।

‘यो हिन्दु परम्परामा पूर्वजदेखि ऋषिमुनिले तोकेको विधि हो । पुर्खाले गर्दै आएको कर्म जसरी नै गर्नुपर्छ,’ उनले भने ।
ती पुरोहितका अनुसार यसका लागि सामग्री पशुपति आर्यघाटमै किन्न पाइन्छ । बाँकी काम भने आफन्तले नै विधिपूर्वक निर्वाह गर्नुपर्छ । यही तरिकाले कुशका शव जलाउन आउनेहरूको संख्या ठूलो थियो ।
बाढीमा बेपत्ता आफन्तको दाहसंस्कार गर्न आएका सरोज न्यौपानेका अनुसार यो घटना एउटा परिवारको व्यथा मात्र होइन ।
१९९४ देखि पर्यटनमा लागेका उनले हिमाली क्षेत्रमा हिमनदी पग्लिने क्रम आफैंले धेरै पटक नजिकबाट देखेको बताए । अब यो हर घर र हर समाजको समस्या रहेको औँल्याए ।

के कारणले यति ठूलो पानी आयो भन्ने कुरा पछि अनुसन्धानले नै देखाउला । तर, यसको कारण जलवायु परिवर्तन नै हो, जसलाई हामीले हरेकपटक पर्यटन प्रवर्धनका लागि जाँदा अनुभव गरिरहेकै थियौँ ।
‘हामीसँग यसलाई सम्हाल्ने ज्ञान पनि कम छ, जनशक्ति पनि कम छ,’उनी भावुक सुनिए,‘अब कलेज र विश्वविद्यालयमा यस्ता विपद्बारे पढाइ हुनुपर्छ । माथिदेखि तलसम्म समन्वय गर्न सक्ने जनशक्ति र उपकरण दुवै तयार हुनुपर्छ । आज हाम्रा परे,भोलि अरुका नपरुन् । बेलैमा राज्य सतर्क रह्यो भने भोलि अरु कसैले कुशको शवबाट दाहसंस्कार गर्ने अवस्था आउँदैन होला ।’
भिडिओ : शंकर गिरी, फोटोहरू चन्द्रबहादुर आले/ अनलाइनखबर
प्रतिक्रिया 4