+
+

गण्डकीमा समर्थन फिर्ता लिन केन्द्रको निर्देशन पर्खिंदै माओवादी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १६:४४

२२ फागुन, पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना २ जना मन्त्री बर्खास्त् गरेपछि गण्डकीमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम गुग्जालीलाई पदमुक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता तयारी गरिरहेको सुनाए । तर, एक्लै सरकार बन्न सक्ने अवस्था नभएकाले साझेदार अन्य दलसँग पनि सल्लाह भइरहेको उनले बताए ।

‘अब हामीले समर्थन फिर्ता लिने नै हो । हामीहरुले लिएमात्रै पनि हुन्थ्यो । तर, सरकारमा एक्लै जान सक्ने स्थिति पनि छैन’, चुमानले अनलाइनखबरसँग भने, ‘अन्य दलहरुसँग पनि सल्लाह गरिराखेका छौं ।’

आफूहरु केन्द्रको आधिकारिक निर्णय पर्खेर बसेको र निर्देशन आउनासाथ समर्थन फिर्ता लिएर दाबी गर्न जाने बताए । ‘केन्द्रको केही नीतिगत निर्णय बाँकी छ । त्यो निर्णय भयो भने समर्थन फिर्ता लिने हो’, उनले भने ।

समर्थन फिर्ता लिने सन्दर्भमा पार्टीभित्रै पनि छलफल भइरहेको तर, औपचारिक रुपमा संसदीय दलको बैठक बसिनसकेको चुमानले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने पालो यो पटक माओवादीको रहेको दाबीसमेत चुमानले गरेका छन् । ‘एउटा अर्कोसँग नजोडिइकन सरकार बन्ने स्थिति त छैन । हामीले अहिलेसम्म इमान्दारितापूर्वक सरकार बनाउन सहयोग गर्दै आयौं’, उनले भने, ‘यसपटक त्यस्तै इमान्दारिता अरु दलले देखाउनुपर्‍यो । हाम्रो अपेक्षा त्यही हो ।’

गण्डकीमा नयाँ सत्ता समीकरण बनाउन एमाले र माओवादी केन्द्रलाई सहज भने छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद छन् । बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ ।

सभामुख कृष्ण धिताल माओवादी केन्द्रबाटै निर्वाचित भएका हुनाले उनले सरकार गठनमा सहभागी हुन पाउँदैनन् । माओवादी र एमालेका गरी जम्मा २९ सांसद मात्र पुग्छन्, जुन नयाँ सरकार गठनका लागि पर्याप्त होइन ।

सरकारका बहुमत पुर्‍याउन २ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक बन्ने देखिएको छ । तर, राप्रपा सत्ता समीकरणमा सहभागी नभएकाले गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार ढले पनि तत्काल सरकार गठन गर्न सहज छैन ।

नेकपा माओवादी संसदीय दलका नेता चुमानले राप्रपालाई सरकारमा ल्याउन पहल भइरहेको र नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने दाबी गरे । ‘राप्रपा सरकारमा आउँछ । संघको सन्दर्भमा एउटा कुरा हुन्छ, प्रदेशको सन्दर्भमा अर्को हुन्छ’, उनले भने, ‘प्रदेशमा भने भिन्नभिन्न स्थिति छ ।’

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको २७ र नेकपा समाजवादी पार्टीको १ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?