+
+
उदीयमान उद्यम- २ :

मनोहरको धैर्य र मिहिनेतले अग्लिएको फुडमान्डु

फुड डेलिभरीकै व्यवसाय नेपालबाट बाहिर गएर प्रतिस्पर्धा गर्न गाह्रो भए पनि कुनै व्यवसाय फरक ढंगले गरियो भने नेपाली कम्पनी पनि विश्व प्रतिस्पर्धा गर्न सक्ने मनोहरको अनुभव छ ।

जनार्दन बराल जनार्दन बराल
२०८० फागुन २२ गते २१:०९

२२ फागुन, काठमाडौं । दुई दशकअघि मनोहर अधिकारी अमेरिकी सफ्टवेयर कम्पनी ‘डि–टु–हकाई’ को विशालनगरस्थित नेपाल कार्यालयमा काम गर्थे । ‘लन्च टाइम’ हुन्थ्योे, नजिकै खाजा खाने गतिला रेस्टुरेन्ट थिएनन् । कुनै राम्रा रेस्टुरेन्टले खाजा अफिससम्म ल्याइदिए हुन्थ्यो भन्ने उनको मनमा लागिरहन्थ्यो ।

त्यसबेला मनमा लागेको कुरो केही समयमै ‘स्टार्टअप बिजनेस’ मा परिणत गर्न सकिन्छ भन्ने छनक उनको मनमा आयो । उनको मनको ‘आइडिया’ ले उनलाई अहिले जहाँ पुर्‍याएको छ, त्यो सायद उनको मनमा थियो कि थिएन ?

मनोहरले त्यसबेला अफिसमै खाजा ‘डेलिभरी’ गरिदिने गतिला रेस्टुरेन्ट नहुँदा भोगेको समस्या नै उनको व्यापार सुरुवातको कडी बन्न पुग्यो ।

सन् २००४ देखि २००६ सम्म काम गरेर मनोहरले डि–टु–हकाई छाडे । अनि, स्वतन्त्र रूपमा सफ्टवेयर विकासको काम गर्न थाले । तर, त्यसरी चार वर्ष काम गरेपछि २०१० मा उनलाई लाग्यो– ‘यसरी हुँदैन, अब आफ्नै प्रडक्ट ल्याउनुपर्छ ।’

सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरिरहेका कारण उनले त्यही क्षेत्रमै काम गर्ने कम्पनी खोल्ने योजना बुने ।

कस्तो कम्पनी बनाउने भनेर अनेक विकल्पमा छलफल गरे । त्यसमध्ये सबैभन्दा उत्कृष्ट विकल्पका रूपमा उनले अनलाइन मार्फत खाजा तथा खाना अर्डर गर्ने र डेलिभरी दिने व्यवसायलाई लिए ।

नजिकै भनेजस्तो रेस्टुरेन्ट नभएका कारण मन लागेको खानेकुरा खान नपाएका आफूजस्तै अरू पनि धेरै होलान्, उनीहरूले अनलाइनबाट खाना अर्डर गरेर घर वा कार्यालयमै बसेर खान पाउने सुविधा दिन सकियो भने सजिलै ग्राहक आकर्षित गर्न सकिन्छ भन्ने उनको मनमा गढ्यो ।

त्यसपछि मनोहरले सुरु गरे काठमाडौंमा फुड डेलिभरी कम्पनी– फुडमान्डु ।

त्यसबेला रेस्टुरेन्टले आफ्ना वरिपरिका कार्यालय तथा घरमा खाना डेलिभरी गर्थे, ग्राहकले आफूले चाहेको खाना चाहेको ठाउँमा खान त्यहीँ जानुपथ्र्यो । त्यही समस्या समाधान गर्ने उद्देश्यले फुडमान्डु सुरु भयो ।

तर, जुन उत्साह लिएर उनले काम सुरु गरे, नतिजा आएन । त्यो स्वाभाविक थियो । किनकि, त्यसबेला इन्टरनेट पहुँच नै कम थियो, स्मार्टफोन प्रयोग लगभग शून्य थियो भन्दा हुन्छ ।

अझै अनलाइनमार्फत अर्डर गरेर खाना खाना पाइन्छ भन्ने कुरा नै उपभोक्ताले पत्याउन सकिरहेका थिएनन् । रेस्टुरेन्टहरूलाई पनि अनलाइनमार्फत अर्डर होला र बेच्न सकिएला भन्ने त एकरति थिएन ।

मनोहरले सुरुमा सबैभन्दा पहिला फुडमान्डुमा रेस्टुरेन्टहरूलाई आबद्ध गर्न थाले । तर, त्यो काम नै उनलाई सबैभन्दा चुनौतीपूर्ण हुन पुग्यो । काठमाडौंका रेस्टुरेन्टहरूलाई अनलाइनमार्फत पनि व्यापार हुन्छ भनेर विश्वास दिलाउन मनोहरले कति धाए होलान्, भनिसाध्य छैन ।

‘रेस्टुरेन्टहरूलाई कन्भिन्स गर्नै समय लाग्यो,’ मनोहर अहिले सम्झिन्छन् ।

रेस्टुरेन्टहरूलाई आबद्ध गराइसकेपछि त ग्राहक आइहाल्छन्, उनीहरूलाई आबद्ध गर्न सजिलो हुन्छ भन्ने सोचाइ अलि अपरिपक्व थियो सायद । त्यही भएर व्यवसाय गर्न सोचेजस्तो सजिलो थिएन ।

‘पहिलो वर्ष त दिनको औसत पाँचवटा अर्डर आउँथ्यो,’ मनोहर व्यवसायका सुरुवाती दिन सम्झिन्छन्, ‘त्यति सानो व्यापार गरेर कसरी अफिस चलाउने, कसरी कर्मचारीको तलब दिने, कसरी प्रविधिमा खर्च गर्ने, घरभाडा कसरी तिर्ने ?’

उनको कम्पनी वास्तवमा लामो समय घाटामै गयो ।

व्यवसाय सुरु गर्दा सबैभन्दा गाह्रो भनेकै खाना डेलिभरी गर्ने मान्छे पाउन पनि गाह्रो भयो । ‘यो अरूले गरिरहेजस्तो काम थिएन, काम गर्ने मान्छेलाई यो काम यस्तो हो, भनेर बुझाउनै गाह्रो,’ मनोहर भन्छन्, ‘नयाँ क्षेत्रको काममा मान्छे पाउनै गाह्रो, उनीहरूलाई कुरा बुझाएर काममा लगाउनै अप्ठ्यारो ।’

व्यवसाय सुरु गरेको करिब चार वर्षसम्म त ‘यो व्यवसाय चल्छ कि चल्दैन’ भन्नेमै दुविधा थियो । व्यापार बढिरहेको थियो, तर सोचेजस्तो थिएन । आयको तुलनामा खर्च धेरै थियो ।

तर, पनि यो व्यवसाय कुनै न कुनै दिन सफल हुन्छ भन्ने मनोहरको विश्वास डगमगाएको थिएन । त्यसका लागि केही न केही आधार भने बनिसकेको थियो ।

‘म आत्मविश्वासी थिएँ, किनभने यो व्यवसायलाई बजारले ‘भ्यालिडेट’ गरेको थियो । व्यवसाय वृद्धि पनि भइरहेको थियो । ग्राहक थपिने क्रम पनि बढिरहेकै थियो तर सुस्त थियो,’ उनी भन्छन्, ‘एकपटक आएका ग्राहक फेरि पनि नियमित आउँथे । हाम्रो प्रडक्टमा समस्या छैन भन्ने प्रमाणित भएको थियो ।’

आजको भोलि नै नाफा कमाइहालुँ भनेर नसोच्ने र लामो समयको व्यवसाय सोच्ने हो भने यो व्यवसाय दिगो हुन्छ भन्ने आत्मविश्वास मनोहरसँग थियो ।

व्यवसाय थालेको चार वर्षको अन्तिमतिर मात्रै यो कम्पनी अब चाहिँ टिक्छ भन्ने खालको व्यवसाय हुन थालेको उनी बताउँछन् ।

तर, त्यो ‘मोमेन्टम’ लामो समय रहन पाएन । किनभने, २०१५ मा मुलुकमा विनाशकारी भूकम्प गयो, त्यसको केही महिनामा भारतले नेपालामथि नाकाबन्दी थोपर्‍यो ।

त्यसले फुडमान्डुको व्यवसायमा पनि ठूलो धक्का दियो । व्यवसाय कम भए पनि त्यसबेलासम्म फुडमान्डु एउटा विश्वासिलो ब्रान्ड बनिसकेको थियो । लगानीकर्ताका आँखामा पनि यो परिसकेको थियो ।

मनोहरले फुडमान्डु सुरु गर्दा भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड तथा एन्जल इन्भेस्टरहरू नेपालमा थिएनन् । उनले भेन्चर क्यापिटलबाट लगानी जुटाउँला भन्ने सोचेका पनि थिएनन् । तर, २०१६ सम्म पुग्दा भने त्यस्तो काम गर्ने कम्पनी सुरु भइसकेका थिए ।

फुडमान्डुको प्रगतिमा भेन्चर क्यापिटलहरूको नजर परिसकेको थियो । तीमध्ये केहीले कम्पनीमा लगानी गर्ने प्रस्ताव लिएर आए । त्यसपछि उनलाई लाग्यो, लगानी थप्न पाए, व्यवसाय विस्तार पनि छिटो हुन्थ्यो ।

त्यसपछि फुडमान्डुले पहिलो चरणमा २०१६ नोभेम्बरमा ‘ट्रु नर्थ एसोसिएट्स’ सँग लगानी उठायो । त्यसले कम्पनीको व्यवसाय विस्तारमा ठूलो योगदान गर्‍यो ।

जब लगानी भित्रियो

कम्पनी स्थापना भएपछिका पाँच वर्षसम्म वेबसाइटबाट नै यसले व्यवसाय गरिरहेको थियो । २०१५ मै उसले मोबाइल एप बनायो ।

फुडमान्डुले २०२० मा दोस्रो चरणको लगानी जुटायो । २०१६ देखि २०२० बीचमा कम्पनीको व्यवसाय १० गुणाले बढिसकेको थियो । कम्पनीको मूल्यांकन पनि त्यहीअनुसार तय भयो । र, फुडमान्डुले लगानी भित्र्यायो ।

‘सन् २०२० मा पहिलो चरणमा लगानी गरेको ट्र्यु नर्थ एसोयिट्स आंशिक रुपमा बाहिरियो भने केही सेयर कम्पनीबाट पनि टिम भेन्चर्सलाई दिइयो,’ अधिकारी भन्छन् ।

२०२१ मा आएर कम्पनीले आफ्नो व्यवसाय पोखरामा पनि विस्तार गर्‍यो । ‘पोखरामा काठमाडौं उपत्यकाको जस्तो ठूलो व्यवसाय छैन, तर यसको विस्तार राम्रो भइरहेको छ,’ उनी भन्छन् ।

२०२३ मा फुडमान्डुले तेस्रो चरणमा लगानी संकलन गर्‍यो । यसपालि फुडमान्डुले डोल्मा इम्प्याक्ट फन्डबाट ४६ करोड रुपैयाँ लगानी भित्र्यायो । त्यसअघि दुईपटक भित्र्याएको लगानी कति हो भन्ने विषयमा कम्पनीले सार्वजनिक गरेको थिएन ।

डोल्माले गरेको कुल लगानी कति हो भन्ने कम्पनीले सार्वजनिक गरे पनि कम्पनीको मूल्यांकन कति गरियो भन्ने चाहिँ सार्वजनिक गरेको छैन ।

‘सन् २०२० सम्म व्यवसाय विस्तार तीव्र गतिमा भएको थियो, कोभिडका कारण त्यसपछि केही घटेको छ तर अहिलेको वृद्धि पनि निकै राम्रो छ,’ मनोहर भन्छन् ।

कोभिडका बेला ‘लकडाउन’ भएपछि फुडमान्डुमा खाना अर्डर अत्यन्तै धेरै भए पनि रेस्टुरेन्ट र आवतजावत बन्द हुँदा डेलिभरी गर्न नसकिएको उनी बताउँछन् ।

अहिले फुडमान्डुमार्फत रेस्टुरेन्टहरूको वार्षिक कारोबार ७५ करोडभन्दा बढीको हुन्छ । फुडमान्डुमा आबद्ध भएका रेस्टुरेन्ट संख्या निकै ठूलो भए पनि हाल सक्रिय भने ८ सय देखि ९ सय छन् ।

दैनिक २ हजारदेखि २२ सय अर्डर यो प्लेटफर्म मार्फत हुन्छ । ३ सयभन्दा बढी डेलिभरी राइडर छन् । कार्यालयमै बसेर काम गर्ने कर्मचारी १ सय २० भन्दा बढी छन् ।

काठमाडौं र पोखरापछि अब अन्य ठूला सहरमा पनि विस्तार गर्ने योजना रहेको मनोहर सुनाउँछन् । ‘कुन–कुन सहरमा जाने भनेर अध्ययन गरिरहेका छौं, तर चाँडै नै केही ठूला महानगरमा हामी उपस्थित हुनेछौं,’ उनी भन्छन् ।

यस अतिरिक्त ‘क्लाउड किचेन’ मा लगानी गर्ने योजना पनि फुडमान्डुको छ । धेरै रेस्टुरेन्टका भान्छा एकै ठाउँमा राख्न स्थान उपलब्ध गराउने र अर्डरका आधारमा त्यहीँबाट डेलिभरी गर्ने आइडिया नै क्लाउड किचेन हो ।

व्यवसाय विविधीकरण गर्न फुडमान्डूले दैनिक उपभोग्य सामान तथा तरकारी–फलपूmल (ग्रोसरी) डेलिभरी गर्ने काममा पनि हात हालिसकेको छ । यो व्यवसायलाई पनि विस्तार गर्ने योजना फुडमान्डुको छ ।

कम्पनी विस्तार हुँदै जाँदा कर्मचारीको सेवा सुविधामा पनि आफूहरू उत्तिकै जिम्मेवार रहेको उनी बताउँछन् ।

‘फुड डेलिभरी उद्योगमा हामी सबैभन्दा राम्रो तलब सुविधा दिन्छौं, सामाजिक सुरक्षामा गएका छौं,’ मनोहरको दाबी छ, ‘कानुनले तोकेअनुसार सेवा सुविधा दिने मामलामा कुनै सम्झौता गर्दैनौं ।’

आफ्नो कम्पनीमा अहिले प्रत्यक्ष विदेशी लगानी भएकाले पनि कानुन पालनामा कुनै सम्झौता नहुने उनको भनाइ छ ।

राइडरहरूले काम अनुसार पैसा कमाउने उनी बताउँछन् । ‘न्यूनतम पनि २०–२२ हजारदेखि ६०–७० हजार कमाउने राइडर पनि हामीसँग छन्,’ उनी भन्छन्, ‘न्यूनतम तलबको ग्यारेन्टी छ । त्यसभन्दा बढी कति कमाउने भन्ने उसको कार्यक्षमतामा भर पर्छ ।’

आईपीओमा जाने योजना

फुड डेलिभरी व्यवसाय अहिले प्रारम्भिक अवस्थामा रहेको र यसले बल्ल ‘टेकअफ’ गर्ने चरणमा रहेको मनोहरको विश्लेषण छ ।

‘अहिलेसम्म हामी बजार निर्माणमा लाग्यौं । अन्य अनलाइन व्यवसाय जस्तै यसको व्यवसाय अब तीव्र वृद्धि हुनेछ,’ उनी भन्छन्, ‘छिमेकी भारतको तुलनामा पनि अहिले नेपालमा यो व्यवसाय धेरै नै कम छ । त्यसैले यसको विस्तार धेरै नै हुनेवाला छ ।’

आगामी पाँच वर्षमा व्यवसाय र कम्पनीको आकार कम्तीमा १० गुणा बढाउने लक्ष्य मनोहरको छ । र, त्यही बीचमा कम्पनी प्रथम सार्वजनिक निष्कासन (आईपीओ) मा गएर सेयर बजारमा सूचीकृत हुने योजनामा पनि छ ।

तर, यो व्यवसाय विस्तार गर्दै जाँदा अर्को कुनै ठूलो कम्पनीलाई बिक्री गर्ने सम्भावनालाई पनि नकार्दैनन् उनी । किनभने, स्टार्टअपले अत्यन्तै राम्रो गर्‍यो भने कि त्यो आईपीओमा जान्छ, कि अर्को कम्पनीले किन्छ ।

‘यी दुवै ढोका अहिलेका लागि खुला छ । तर, सार्वजनिक निष्कासनमा गएर आफैंले यो व्यवसायलाई अघि बढाउने सम्भावना ज्यादा छ,’ उनी भन्छन् ।

पछिल्लो समय यो व्यवसायमा अन्य कम्पनी पनि आएका छन् । त्यसले मनोहरलाई खुसी बनाएको छ । ‘किनभने, यो व्यवसायलाई उद्योगका रूपमा स्थापित गर्न एउटा कम्पनीले मात्रै काम गरेर पुग्दैन,’ उनी भन्छन्, ‘त्यसो हुँदा यही क्षेत्रमा अन्य प्रतिस्पर्धी पनि आउँदा व्यवसायको ‘इकोसिस्टम’ बन्छ । अन्य खेलाडी आउँदा त्यसले राम्रो गरेको छ ।’

तर, व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भयो, अन्य खेलाडीले कानुन पालनामा ध्यान दिएनन् भने त्यसले चुनौती थप्ने उनको बुझाइ छ ।

‘हरेक कामको लागत पर्छ, त्यसका लागि पर्ने न्यूनतम लागतभन्दा कम पैसामा कसैले सेवा दिन्छ भने उसले कहीँ न कहीँ गुणस्तर वा कानुन पालनामा सम्झौता गरेको हुनसक्छ,’ उनी भन्छन्, ‘हामी त्यसो नहोस् भन्ने चाहन्छौं ।’

त्यसैले कसैले पनि ‘डिस्काउन्ट’ वा ‘अफर’ का नाममा ग्राहकलाई झुक्याउने काम नगरोस् भन्ने उनको चाहना छ । ‘जसले इमानदारीसाथ काम गरेको छ, उसैले दण्डित हुन नपरोस् भन्नेमा सचेत हुनुपर्छ,’ उनी भन्छन् ।

प्रविधिमा आधारित व्यवसायले सधैं सिर्जनात्मकता खोजिरहेको हुन्छ । कसैले नयाँ सिर्जना गरेर बजार आफ्नो पक्षमा पार्न सक्छ ।

‘२०१० मा फुडमान्डु सुरु गर्दा फुड डेलिभरी व्यवसाय संसारमै नौलो थियो । हामीले नेपालमा त्यो काम सुरु गर्‍यौं । सिर्जनात्मकता संसारको सानो मुलुकमा पनि हुँदो रहेछ भन्ने प्रमाण हो यो,’ उनी थप्छन् ।

तर, अन्य देशमा त्यसपछि सुरु भएका व्यवसाय पनि नेपालभन्दा धेरै अघि बढिसकेको उनको अनुभव छ । फुडमान्डु सुरु भएकै बेला भारतमा सुरु भएको जोमाटो तथा २०१४ मा मात्रै सुरु भएको स्विगीको वार्षिक आम्दानी खर्बभन्दा माथि छ ।

‘बाहिर यो व्यवसाय धेरै नै अघि बढिसकेको छ । अर्थतन्त्रको आकारका हिसाबले पनि नेपालमा त्यो स्तरको व्यवसाय हुन सक्दैन,’ उनी भन्छन् ।

फुड डेलिभरीकै व्यवसाय नेपालबाट बाहिर गएर प्रतिस्पर्धा गर्न गाह्रो भए पनि कुनै व्यवसाय फरक ढंगले गरियो भने नेपाली कम्पनी पनि विश्व प्रतिस्पर्धा गर्न सक्ने उनको अनुभव छ ।

‘इनोभेसनमा संसारमा कोही पछाडि छैन,’ उनको आत्मविश्वास छ ।

तस्वीर/भिडियो : चन्द्र आले

उदीयमान उद्यम- १

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?