+
+
Shares
उदीयमान उद्यम-५ :

दूध किन्ने पैसा नहुँदा जन्मिएको ‘चियावाला’

झुपडीमा सानो दोकान थापेर बुबाले चिया बेचिरहँदा उनी भने सिनेमा हेर्ने र उपन्यास पढ्ने चक्करमा दौडिरहेका हुन्थे । तर, जुन दिन उनलाई सिनेमाले धोका दियो, त्यही दिन बुबाकै पेसामा फर्किए ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत १८ गते २०:४६

‘केही मिठो बात गर, वाईफाई त घरमा छँदैछ ।’

यो चोटिलो पंक्तिले आगन्तुकको ‘मुड चेन्ज’ त्यसरी नै गरिदिन्छ, जसरी बाफ उड्दै गरेको तात्तातो चियाले । आँत भर्ने गरी सुरुप्प-सुरुप्प चिया पिएपछि कोकाकोलाको विज्ञापनमा झैं यसो भन्न मन लाग्छ- ‘चिया भनेकै चियावालाको ।’

चिया केवल पेयमात्र होइन, यो मान्छेको सम्बन्ध नवीकरण गर्ने स्वादिलो रसायन पनि हो । त्यसैले त कुनै नयाँ साथी भेट्नासाथ हामी भनिरहेका हुन्छौं, ‘अहो, आज कहाँबाट भेट भो, लु चिया पिऔं !’

बिग्रिएको कुरा सपार्न होस् वा कुनै नयाँ योजना बीजारोपण गर्न, हामी चियाको साथ खोज्छौं । यसो भन्दै, ‘यसो चिया खाएरै गफ गरौं न !’

चियाले भोक मेट्छ न पोषण दिन्छ । तर, सम्बन्धहरू न्यानो बनाइराख्छ । सम्बन्ध जोड्ने र मोड्ने सेतु हो चिया ।

यो बखान चियाको त हुँदै हो, त्योभन्दा बढी ‘चियावाला’ को । चियावाला अर्थात् गणेशदेव पाण्डे । चलचित्र क्षेत्रमा सबैलाई थाहा छ, सिनेमाका यायावर निर्देशक पाण्डे चियाका खाँट्टी पारखी पनि हुन् । ‘मालतीको भट्टी’, ‘मञ्जरी’, ‘गाजाबाजा’, ‘जुलेबी’ जस्ता फिल्म बनाइसकेका उनी कुन मोडहरूमा ठोक्किँदै चिया उमाल्न आइपुगे ?

चिया दोकान : समाज चिहाउने आँखीझ्याल

उनका बुबा घनश्याम पाण्डे बुटवलमा एउटा चल्तीको चिया दोकान चलाउँथेे । मध्यबजारको एउटा मामुली झुपडीमा उनको चिया दोकान थियो । बुबा त्यही दोकानमा चिया उमाल्थे, स-साना काँचको गिलासमा पस्किन्थे र ग्राहकको हात-हातमा टक्र्याउँथे ।

चिया दोकान आफैंमा यस्तो थलो पनि हो, जहाँ अनेकतिर ठोक्किँदै मान्छेहरू भेला हुन्छन् । अनेक गन्थन-मन्थन गर्छन् । देश हाँक्ने कुरादेखि गाडी हाँक्नेसम्मको कुरा त्यहीँ हुन्छ ।

‘चिया पसलमा अनेक मान्छे, अनेक कुरा थाहा पाइन्थ्यो,’ काठमाडौं थापाथलीमा चिया दोकान ‘चियावाला’ चलाइरहेको गणेश नोस्टाल्जिक भए, ‘मान्छेका घरायसी झैं-झगडादेखि अनेक किस्सा थाहा पाइन्थ्यो ।’

चिया दोकान फगत दोकानमात्र थिएन, समाज चिहाउने आँखीझ्याल पनि थियो । मान्छेहरू के सोच्छन् ? के गर्छन् ? कसको जीवन कसरी चलिरहेको छ ? यावत् कुरा चियागफमा छर्लङ्ग हुन्थ्यो ।

मान्छेहरूको कुरा सुन्नबाहेक गणेशलाई चियामा अतिरिक्त लगाव थिएन । न पढाइलेखाइमै लगाव थियो । बरु, सहरका चोकहरूमा बरालिन्थे, यत्तिकै ।

बुबाको चिया दोकान नजिकै सिनेमा घर थियो । नयाँ फिल्म आउनासाथ गणेशले त्यहाँ एउटा ‘जागिर’ पाउँथे- पोस्टर टाँस्ने । आˆनै चिया दोकानमा पोस्टर टाँसिदिए बापत सित्तैँ हल छिर्न पाइन्थ्यो ।

त्यसो त उपन्यास र कमिक्समा पनि उनको खास रुची थियो । आफ्नो दोकानको मिठाइ बोकेर उनी पुस्तक पसलेकहाँ पुग्थे । पसलेबाट सित्तँैमा उपन्यास र कमिक्स पढ्न पाउँथे ।

समाज, सिनेमा र साहित्यसँग यसरी उनी नजानिँदो पाराले एकाकार हुँदै गए । उनी सोच्न थाले, ‘चिया दोकानमा आउने मान्छेहरू, उनीहरूको जीवन भोगाइहरू कुनै न कुनै रूपमा व्यक्त गर्न पाए कस्तो हुन्थ्यो ?’

तर, कसरी व्यक्त गर्ने ? कुन माध्यमबाट ? मेलोमेसो पाएकै थिएनन् । मन उकुसमुकुस थियो । छटपटी थियो । उनका मामा अर्थात् अभिनेता टिका पहारीले भान्जाको मनोदशा बुझेछन् । अनि सुझाए, ‘मुम्बई गएर फिल्मबारे अध्ययन गर !’

मामाकै सल्लाहमा उनी मुम्बई हान्निए, सन् २००५ मा । त्यहाँ उनले फिल्मी व्याकरण बुझ्ने यत्न गरे । ‘जुनियर असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गर्न पाएँ,’ गणेश दुई दशकअघि फर्किन्छन्, ‘आर्ट डिजाइनदेखि फिल्मी सेटभित्र हुने सबै साना काम गरेँ । त्यहाँ फिल्मदेखि सोनी र स्टार प्लस च्यानलमा प्रशारण हुने सिरियलहरूमा पनि काम गरेँ ।’

सिनेमाको रंगीन दुनियाँमा हेलमेल हुने यो एउटा अमूल्य मौका त थियो, तर सन्तुष्टिको स्रोत थिएन । यो मोडसम्म आइपुग्दा पनि उनको मन स्थिर भएन । किनभने, उनी त आफैंभित्र उकुसमुकुस कथाको पोकोपन्तुरो खोल्न चाहन्थे, आफ्नै दृश्यभाषामा ।

‘तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर…’ भने जस्तै उनले आफ्नो गन्तव्य बदल्न चाहे । र, मुम्बईको काम थाँती राख्दै नेपाल फर्किए ।

सिनेमाको चक्करले ‘डिप्रेसन’

सन् २०१० ।

उनीसँग फिल्मको कथा थियो । पटकथा थियो । जोश थियो । अनि सपना पनि । त्यसैको आडमा उनी निर्माताको खोजीमा हिँड्न थाले ।

तर, पत्याउने कसले ?

फिल्म बनाउन तम्सिएको एउटा अल्लारे केटो । कस्तो बनाउलान् ? कसरी बनाउलान् ? संशय हुने नै भयो । तर, उनी हारेनन् । दृढतासाथ आफ्नो प्रयास जारी राखे । अन्ततः उनका लागि त्यो दिन पनि आयो, जहाँ उनले ‘निर्देशक’ को कित्तामा आफूलाई उभ्याउन सक्थे ।

सन् २०११ मा उनले फिल्म ‘मालतीको भट्टी’ बाट निर्देशनको पहिलो पाइला चाले । मौलिक कथा भनेकाले उनलाई लागेको थियो, दर्शकले मन पराइदेलान् । तर फिल्मले सोचे जस्तो प्रतिक्रिया पाएन । व्यावसायिक भाषामा भन्ने हो भने फिल्म ‘फ्लप’ भइदियो ।

दोस्रो प्रयत्न स्वरूप उनले ‘मञ्जरी’ ल्याए । २०१८ मा ‘गाँजाबाजा’ ल्याए । तर ‘गाँजा’ मा आपत्ति जनाउँदै चलचित्र विकास बोर्डले फिल्म रोकिदियो । लखौं लगानी लगाएर बनाएको फिल्म दर्शकसामु पुग्न सकेन । मिहिनेतले बनाएको फिल्म राज्यले रोकिदिएपछि उनी रन्थनिँदै सर्वाेच्च अदालत पुगेर मुद्दा हाले । झन्डै डेढ वर्ष अदालतमै फिल्म रोकियो ।

‘धेरै दुःख र लगानीमा बनाएको फिल्ममा सेन्सरको कैँची लगाइयो,’ गणेश भन्छन्, ‘त्यसपछि म टुटे जस्तै भएँ ।’

सेन्सरसिप र त्यसले उत्पन्न विवादले उनी थप आक्रोशित र निराश बने । आर्थिक संकट र ऋणले चारैतिरबाट घेरिएपछि उनी त्यही दौरान ‘डिप्रेसन’ मै गए ।

चियाको तलतलले मोडिदियो बाटो

सिनेमामा गरेको प्रयास निरर्थक जस्तै थियो । सिनेमा बनाउँछु भन्ने सुरुवाती जोसमा ठेस पुगेको थियो । र, मन यसैयसै बेचैन थियो ।

के गरौं, कसो गरौंको एउटा विषाद मनोदशामा पुगेका बखत उनलाई खै झट्ट चियाको तलतल लाग्यो । उनले श्रीमतीलाई भने, ‘एक कप चिया ल्याउ त !’

चिया पकाउन घरमा दूध थिएन । एक पोका दूध किन्ने पैसाधरी थिएन । श्रीमतीले पसलेलाई उधारोमा दूध मागिन् । तर, पसलेले विश्वास गरेनन् । रित्तो हात फर्काइदिए ।

गणेशले आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुस गरे । जब ठेस लाग्छ, पाइला मोडिन्छ । उनले पनि आफूलाई मोडे अर्कै दिशामा । र, मनमनै योजना बनाए- ‘अब जे जसरी हुन्छ एउटा चिया दोकान खोल्छु ।’

जब मान्छे एक्लो वा संकटमा पर्छ उसले आफन्ती र परिवार सम्झिन्छ ।

‘फिल्म रोकिएर म पूरै ऋणमा डुबेको थिएँ,’ गणेश सम्झिन्छन्, ‘जिन्दगी चलाउन मसँग कुनै उपाय थिएन ।’

आफू संकट र निराशाले घेरिएका बेला उनले बुबाले गरेको चिया पसल सम्झिए ।

‘बुबाले मलाई पेसा दिनुभएको थियो, चिया बनाउने सिप सिकाउनुभएको थियो,’ उनी भन्छन्, ‘मैले अरू केही गर्न सकिन भने पनि यो त गर्न सक्छु नि भनेर बुबाकै बाटो पच्छयाएँ ।’

संकटमा फुरेको जुक्ति : चियावाला

त्यो बेला लगानी जति फिल्ममा फसिसकेको थियो । चिया पसल खोल्ने पैसा थिएन । तर, उनीसँग आँट थियो । उनलाई के थाहा भयो भने यदि कुनै कुरा मनैदेखि चाहने हो भने सबै कुरा मिल्दै जान्छ ।

उनले फिल्म ‘ओम शान्ति ओम’ को यस्तै एउटा डाइलग सम्झिए, ‘अगर किसी चिजको तुम दिल से चाहो तो पुरी कायनात उसे तुमसे मिलानेकी कोसिसमे लगजाती है ।’

हुन पनि भयो त्यस्तै । उनले आँट के गरेका थिए, सबै कुरा मिल्दै गयो ।

त्यही वर्ष उनले शंखमुलस्थित बागमती खोलाको किनारमा तीन आना जग्गा भाडामा लिएर चिया पसल खोले । त्यसको नाम जुराए- ‘चियावाला’ ।

तर, त्यसमा कुनै महँगा सामान, सोफा थपेनन् । घरकै भाँडाकुडाबाट चिया बनाउने सामान जुटाउन थाले । फालिएका काठको बेन्च र टेबुल बनाए । फालिएका रुखको ठुटोलाई बस्ने मुडा बनाए ।

गुन्द्री र चकटी राखे । खटिया राखे । कवाडमा फालिएका समानहरू पुनप्रयोग गरे । त्यसलाई बस्न मिल्ने ठाउँ र छानो बनाए । थोत्रो टिभी-टेबुल राखे । यस्तै समान जोरजाम गरेर चिया पसलमा बस्न मिल्ने ठाउँसम्म बनाए ।

त्यसमाथि चिया त्यस्तै मिठो । बाँकी थियो, त्यसलाई अलि ‘आर्टिस्टिक’ -कलात्मक) रूप दिन । चिया पसललाई बुटिक र ‘अर्थिनेचर’ रूपमा प्रस्तुत गरे । ढुुंगाहरू ल्याए बुट्टा भरे, काठका मुडाहरूमा कलात्मक रङरोगन गरे ।

‘भारतमा काम गर्दा फिल्म सेट सजाउन सिकेको काम, चिया पसल सजाउन काम लाग्यो,’ उनी भन्छन् ।

उनी चिया दोकान ‘रियालिस्टिक’ बनाउन चाहन्थे । अर्थात्, बनावटी होइन, जस्तो जीवन त्यस्तै सिनेमा । चिया पसलमा पनि उनले यस्तै कुरा लागु गरे । महँगा कृत्रिम चिज राखेनन् । अरू त अरू, इन्टरनेट, वाईफाई ऐनाहरू समेत राखेनन् । ‘अहिले जताततै बनावटीमात्र छन्, म यहाँ त्यो चिजहरू राख्न चाहँदैन थिए,’ उनी सुनाउँछन् ।

त्यसमा थपिदए- सेल्फ अर्डर सेल्फ सर्भिस । चिया पनि आफैं अर्डर गर्ने र आफैं लिन जाने । चिया पसलमा आएर मोबाइलमा घोत्लिने भन्दा पनि गफ गर्ने, खुसी साट्ने रमाउने ठाउँका रूपमा विकास गरे । भित्तामा लेखिएको ‘केही मिठो बात गर, वाईफाई त घरमा छँदैछ’ भन्ने शब्द त ‘भाइरल’ समेत भयो ।

यसरी तयार भयो- चियावाला ।

तर, काठमाडौंमा करोडौंको लगानीमा खोलिएका चिया पसल र क्याफे दर्जनौं थिए । उनीहरूका अघि एउटा सानो लगानीमा सुरु भएको चिया पसल, त्यो पनि बागमती खोला छेउमा । चिया दोकान चल्छ भन्नेमा उनका सहकर्मी र आफन्तीहरू विश्वस्त थिएनन् । उनले सुरु गर्दा धेरैले पत्याएनन् पनि । उल्टै फिल्म निर्देशन गर्न छाडेर चिया पसल खोलेको भनेर सम्झाए पनि ।

तर, उनी बुबाको चियाप्रति विश्वस्त थिए । उनलाई लाग्थ्यो- बुबाले बनाउने चियामा जादु थियो ।

हुन पनि चिया पारखीले त्यही साधारण कुरा रुचाइदिए । अझ बढी उनको चियाको स्वाद रुचाए । जसै खुल्यो, ‘चियावाला’ एकपछि अर्काे गर्दै चिया खान आउनेहरूको लाम नै लाग्न थाल्यो ।

‘महँगा रेस्टुरेन्टमा चिया कफी खाने बानी परेकाहरूलाई अन्तिममा सबैलाई हाम्रै चियाले तान्यो,’ गणेश हौसिँदै भन्छन्, ‘एक प्रकारले व्यवसाय बुम नै भयो ।’

‘चियावाला’ एक ब्रान्ड

पसल खुलेको पाँच वर्षमा चियावाला आफैं एउटा ब्रान्ड भइसकेको छ । चिया पारखीको ‘जंक्सन’ बनिरहेको छ । कलाकार, नेता, पत्रकारहरू चिया खान आइपुग्छन् ।

‘कलाकारकर्मी र मिडियाकर्मीहरूको त एक प्रकारको जंक्सन नै भइरहेको छ,’ उनी भन्छन्, ‘पर्दामा देखिने कलाकारहरू समेत चिया पिउन आउनुहुन्छ ।’

जसैजसै चियावालाको लोकप्रियता फैलिँदो, उपत्यकाभित्र चिया खाने पारखीहरू पनि बढ्दैछन् । फलस्वरूप अहिले उनले चियावालालाई काठमाडौंका थापाथली र चाबहिल, भक्तपुर र बुटवल गरी चार ठाउँमा विस्तार भएको छ ।

‘अरू ठाउँबाट पनि चियावाला खोल्नुपर्ने भन्दै आउने माग धेरै छ,’ उनी भन्छन्, ‘लगानी गर्छु भन्ने र फ्रेन्चाइजी माग्नेहरू पनि उत्तिकै हुनुहुन्छ ।’

अहिले उनले अन्य व्यापार-व्यवसाय गरिरहेका आफ्ना भाइबहिनीलाई पनि यसमा संलग्न गराएका छन् । उनीहरू आफ्नो पेसा व्यवसाय छाडेर चियावाला सम्हालिरहेका छन् ।

कालान्तरमा उनी ‘चियावाला’ चियाको स्वाद देशभरि फैलाउन चाहन्छन् । मुलुकभरि सय ठाउँमा खोल्ने योजनामा छन् उनी ।

दैनिक ३० हजारको कारोबार

बितेका पाँच वर्षमा ‘चियावाला’ लोकप्रिय मात्र होइन, आर्थिक रूपमा पनि बलियो भइरहेको छ । चिया बेचेरै एउटै आउटलेटबाट दैनिक ३० हजार रुपैयाँभन्दा बढी कारोबार हुन्छ ।

उपत्यकाभित्रका चारवटै आउटलेटबाट दैनिक २ सय लिटर दूधमात्र खपत हुन्छ । ‘आजको दिनमा आर्थिक रूपमा पनि हामी उत्तिकै सक्षम भइरहेका छौं,’ गणेश थप्छन्, ‘एउटै आउटलेटबाट चारवटा आउटलेटसम्म विस्तार गर्न सक्ने अवस्थामा पुगेका छौं । यद्यपि, हामी अझै इन्भेस्टमेन्टको चरणमै छौं भन्दा हुन्छ ।’

बुबाको नाममा चिया

‘चियावाला’ मा विषेशता भनेकै यहाँ पाइने चिया हो । करिब १ सय प्रकारका चिया यहाँ पाइन्छ । ‘हामी कालो, दूध, हनी, गि्रन टी गरी सय बढी प्रकारका चिया बनाउँछौं,’ उनी भन्छन्, ‘५० रुपैयाँबाट सुरु भएर ५ सयसम्मको चिया यहाँ पाइन्छ ।’
रोचक त के छ भने उनले आफ्नै बुबाको नामबाट चियाको नाम राखेका छन्, ‘घनश्याम चिया’ भनेर । चिनी कम र कडा रङ भएको चियालाई उनले घनश्याम चिया नाम दिएका छन् ।

चियावाला आउने नियमित ग्राहकको पहिलो रोजाइ नै घनश्याम चिया हुन्छ । ‘बुबाले बनाउने चियालाई अहिले उहाँकै नाम दिएको छु,’ गणेश भन्छन्, ‘यहाँ आउने हरकोहीको मनमा यो नाम झुन्डिरहेको हुन्छ ।’ उनलाई लाग्छ, सायद बाबुप्रति छोराले दिने सम्मान अरू के नै पो होला र ?

निर्देशक होइन, ‘चियावाला’

चार फिल्म निर्देशन गरेका गणेशको अर्को नाम थपिएको छ अहिले, चियावाला । र, फेरिएको उनको दिनचर्या पनि । उनी दिनभरि चिया बनाउँदै, कप उठाउँदै, टेबुल पुस्दै र सरसफाइ गर्दै गरेका भेटिन्छन् । ‘तपाईंहरूलाईर् अचम्म लाग्ला यहाँ म चुरोटको ठुटो उठाइरहेको हुन्छु ।’

हाम्रो प्रश्न थियो, ‘यस्तो काम गर्दा हिनताबोध त हुँदैन नि !’

उनले हाँस्दै जवाफ दिए, ‘कहाँ हुनु, उल्टै म यहाँ रमाइरहेको हुन्छु । फेरि, काम गरेर कोही सानो हुँदैन नि !’

अन्त्यमा, उनलाई चियावालाको सफताको राज सोध्यौं । गणेश मौन भए र नेस्टाल्जिक हुँदै भने, ‘बुबाले मलाई कर्म गर्न र इमान हुन सिकाउनुभयो । मैले त्यो छाडिन । कारण पनि यही हो कि !’

फोटो–भिडियो : शंकर गिरी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
उदीयमान उद्यम
लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?