+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
उदीयमान उद्यम-७ :

रैथाने खानाको ‘मोडर्न ब्रान्ड’ : सन्तोष साहको ‘मिथिला थाली’

मिथिला थालीलाई ‘ब्रान्डिङ’ गर्न जनकपुरमा करिब २ करोड लगानी गरेका मास्टर सेफ सन्तोषले झम्सिखेलमा डेढ करोड हाले । अब पशुपति गौशालामा पनि लगानी गर्दैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते २१:१०

१३ जेठ, काठमाडौं । काउलीको तरुवा, दही कढीबडी, आलु चोखा, तिलौरी, दाल, सागको बिरिया, एक कचौरा भात, एउटा रोटी । त्यसमाथि आँप र लप्सीको अचार । थोरै तीलको चट्नी । एक गिलास लस्सी ।

मिथिलाको यो पारम्परिक भोजनले मुखको स्वादमात्र फेर्दैन, मस्तिष्कमा पक्कै पनि ‘घ्रेलिन हर्मोन’ पैदा गर्छ । त्यसैले त अनेकथरी स्वादले भरिपूर्ण थाली देख्नासाथ मुखमा पानी आउँछ । भनिहालौं, घ्रेलिन त्यही रसायन हो, जसले भोक जगाउँछ ।

भोक र स्वादको यो अन्तर्घुलन मिथिला थालीको आफ्नै विशिष्टता हो । यसैलाई आफ्नो पाकशालामा लिएर आएका छन्– मास्टर सेफ सन्तोष साह ।

यो कथामा मिथिला पाककला र सन्तोषको आ–आफ्नै हिस्सा छन् । त्यसमा अभिन्न रूपले जोडिन आइपुग्छन् दीलिप साह । नातागोता केलाउँदा सन्तोषका सहोदर दाइ हुन् दीलिप । उनै दीलिपबाट मिथिला पाकशाला यात्रा आरम्भ हुन्छ ।

मिथिला थाली सुरु गर्नुअघिको कुरा हो ।

सिरहा मिर्चैयामा सानो रेस्टुरेन्ट थियो दीलीपको । आगन्तुकहरू दालभात खान आउँथे । उनले सामान्य दालभातमा एक–दुईथरी परिकार यस्ता मिसाइदिन्थे, जुन उनले सानैदेखि आमाको हातबाट खाएका हुन् । कहिले दहीको कढीबडी, कहिले आलु चोखा, कहिले तिलौरी । खासमा यी मिथिला थालीका अभिन्न स्वाद थिए ।

सन्तोषलाई एकदिन लाग्यो, ‘दाइले पस्किने यो थालीमा सम्पूर्ण रूपले मिथिला व्यञ्जन पस्किन पाए कसो होला ?’

यो प्रश्न उनले दाइ दीलिपलाई सुनाए । अनि, उनले के पनि सुनाए भने, ‘मिथिलाको परिपूर्ण थाली छुट्टै भोजनालयबाट पेस गरौं ।’

जनकपुरधाममा ‘मिथिला थाली’ सुरु गर्ने त्यो आइडिया गजब थियो ।

देश परदेशको फन्को लगाएर, विश्वभरिका मेनु चहारेर, अनेकथरी स्वाद चाखेर, पाककलामै ख्याति कमाएर गाउँ फर्किएका मास्टर सेफ सन्तोषलाई कुन मोहले आफ्नै चुलोमा फर्कायो ?

‘जुन माटो टेकेर म हुर्किएँ, जुन हावापानीमा म खेलेँ, त्यहाँको स्वाद मेरा लागि सर्वोच्च हुँदोरहेछ,’ मास्टर सेफ सन्तोषले सुनाए, ‘जहाँ पुगे पनि, जे खाए पनि मैले त्यो स्वादको तलतल मेट्न सकिन ।’

सानो छँदा आमाको हातबाट मिठो मसिनो परिकार खाएका थिए उनले । त्यस्ता परिकार पाहुनापात आउँदा वा चाडबाडमा तयार हुन्थ्यो । खासगरी छठ पर्वमा । त्यो परिकारले पेट भरिन्थ्यो, तर मन भरिन्थेन ।

त्यही अतृप्त स्वादलाई उनले आफ्नो व्यवसायसँग जोड्ने निधो गरे । यसमा दाजुभाइको मन मिल्यो । अनि, जनकपुरधाममा सुरु भयो– ‘मिथिला थाली : बाई सेफ सन्तोष साह ।’

करोडौंको मिथिला थाली

मिथिला थालीको लामो इतिहास छ । मास्टर सेफ सन्तोषका अनुसार यो व्यञ्जन जनक राजाका पालादेखि नै प्रचलनमा थियो । मूलतः सात्विक भोजन हो मिथिला ।

समय क्रमसँगै यसको स्वादमा केही थपघट भयो । हावापानी र उत्पादन अनुरूप यसको मेनुमा केही परिकार मिसिए । यद्यपि, असली मिथिला खाना शाकाहारी नै हो, तीर्थव्रत गर्नेका लागि सही हुन्छ ।

मिथिला थालीको आफ्नो विशिष्टता र इतिहास मध्यनजर गरेर सन्तोष र दीलिपले जनकपुरधाममा आवासीय सुविधासहित ‘मिथिला भोजनालय’ स्थापना गरे । आफ्नी आमाको हातबाट भोजनालय उद्घाटन गराए । लगभग २ करोड रुपैयाँ लगानीमा सुरु भएको मिथिला थालीले यी दाजुभाइलाई स्थिर रहन दिएन ।

अन्ततः उनीहरूले निर्णय गरे, ‘अन्य ठाउँमा पनि मिथिला थाली पस्कौं, जहाँ तीर्थालुहरूको बढी जमघट हुन्छ ।’

जस्तो कि, काठमाडौंको पशुपतिनाथ । जस्तो कि, भारतको अयोध्या ।

पशुपतिनाथ दर्शन गर्न आउनेलाई लक्षित गरेर गौशालामा मिथिला थाली सुरु गर्ने तारतम्य मिलाइसकेका छन् । त्यहाँ पूर्णतः शाकाहारी भोजन मात्र पस्किइने छ । यहाँ एकसाथ २ सय जनाले खाना खान सक्छन् ।

यसअघि ललितपुर झम्सिखेलमा मिथिला थाली सञ्चालनमा ल्याइएको छ । १ करोड ५० लाख रुपैयाँ लागतमा खोलिएको यो रेस्टुरेन्टमा साह दाजुभाइसँग जोडिएका छन् भान्छे लक्ष्मण पनि । पाककलामा लामो अनुभव सँगालेका लक्ष्मण मिथिला भान्छा रेखदेख गर्छन् ।

झम्सिखेलको मेनुमा भने ग्राहकको रोजाइ अनुसार खसी, माछा, कुखुराको मासु पनि समावेश छ ।

१७ थरी स्वाद

झम्सिखेलस्थित रेस्टुरेन्टले मिथिला थालीमा १७ थरीका खाना समावेश गरेको छ । भात, रोटी, दाल, अचार, मासुसहित कढीबडी, चोखा, तिलौरी, बिरिया जस्ता मिथिला स्वादका दर्जन बढी परिकार चाख्न पाइन्छ । दही लस्सी, घिउमा तारेको जेरी यसमा समावेश गर्न सकिन्छ । आगन्तुकलाई यहाँ मही र दहीपुरीले स्वागत गरिन्छ ।

मिथिला थालीअन्तर्गत शाकाहारी खानाको मूल्य ५ सय ५० रुपैयाँ छ । कुखुरा मासुसहितको खाना ७ सय रुपैयाँमा खान पाइन्छ । यस्तै माछासहितको खानालाई ७ सय ५० रुपैयाँ तिर्नुपर्छ । सेफ सन्तोषको स्पेसल थाली पनि छ, जसको मूल्य १ हजार ५ सय रुपैयाँ छ ।

९ सय भारु तलब

अब फर्कौं सन्तोष साहतर्फ ।

सिरहा कर्जन्हा नगरपालिकास्थित सूर्यानी टोलमा जन्मेहुर्केको केटो । उनीसँग भविष्यका ठुल्ठुला योजना थिएन । जीवनमा चिताउनै नसक्ने आकांक्षा पनि थिएन । जेनतेन गुजारा चलेको थियो । घरको स्थिति त्यति राम्रो थिएन । उनको पढाइ लेखाइ पनि ।

एसएलसी अनुत्तीर्ण भए । त्यही झोंकमा दौँतरीसँग लागेर सन्तोषले घर छाडे । १५–१६ वर्षको केटो भारत गुजरातको अहमदावाद पुगे । अब के गर्ने ? कसरी पेट पाल्ने ? उपाय एउटै थियो होटलमा आश्रय लिने ।

त्यहाँ उनले भाँडा माझ्ने काम पाए । मासिक पारिश्रमिक भारु ९ सय ।

तीन महिना बित्यो । भान्छेसँग भने, ‘मलाई पनि खाना बनाउन मन लाग्छ ।’ भान्छेले उनलाई भान्छामा प्रवेश गराए । त्यही बिन्दुबाट सुरु हुन्छ मास्टर सेफसम्मको अविराम यात्रा ।

भान्छादेखि भान्छासम्म

अहमदावादस्थित होटलको त्यो भान्छा उनका लागि फगत भान्छामात्र रहेन । त्यो उनका लागि खुला कोर्स बुक थियो ।

त्यहाँ उनले दालरोटी मात्र पकाएनन्, अरू थुप्रै परिकार बनाउन सिके । थरीथरी खानेकुरा बनाउनु उनको लागि काम थिएन, सिकाइ थियो । अनुभव थियो । रहर थियो । अनि लक्ष्य पनि ।

त्यही लक्ष्यले डोहोर्‍याउँदै उनलाई पाँचतारे होटलको भान्छासम्म पुर्‍यायो । गुजरातको एउटा पाँचतारे होटलमा उनले कार्यकारी सेफका रूपमा काम गरे । त्यसपछि उनी युरोपेली मुलुक मोन्टेनेग्रो गए । तर, त्यहाँ सोचेजस्तो भएन । उनी फेरि भारत फर्किए । गुजरातकै अर्को होटलमा काम गर्न थाले ।

सोही क्रममा उनले ‘फुड फेस्टिभल’ गरे । यसले उनको पाककलालाई चिनाउन ठोस सहयोग पुर्‍यायो । भारतीय पत्रपत्रिकामा फुड फेस्टिभलको समाचार छापियो । त्यही समाचार देखेर लन्डनका एक रेस्टुरेन्ट व्यवसायीले सन्तोषलाई बेलायत आमन्त्रण गरे । यसरी उनी लन्डनस्थित भारतीयको होटलको भान्छामा पुगे । सन् २०१८ मा लन्डनको पाँचतारे होटल तलितमा काम सुरु गरे ।

त्यसबेलासम्म सन्तोषले इन्स्टिच्युट अफ बडोदाबाट होटल एन्ड क्याटरिङ म्यानेजमेन्टमा डिप्लोमा गरिसकेका थिए ।

‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स रिम्याच’ उपाधि जितेपछि सन्तोषको ख्याति एकाएक चुलियो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले कुखुराको तिते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाँ जस्ता विभिन्न परिकार पेस गरेका थिए ।

यसरी पाककला सम्बन्धी विश्वकै चर्चित प्ल्याटफर्ममा उनले आफूलाई गर्विलो ढंगले उभ्याएनन् मात्र मौलिक नेपाली परिकारसमेत चिनाए ।

त्यसअघि सोही प्रतियोगितामा उनी उपविजेता बनेका थिए । सन् २०२० मा आयोजित प्रतियोगितमा उनी पाल्पाली ढाकाटोपीमा ठाँटिएर नेवारी परिकार पस्किएका थिए । सोही बेला उनले अइला (रक्सी) पनि सर्भ गरेका थिए ।

घुम्दै फिर्दै आफ्नै चुलो

रोजीरोटी खोजीमा भारत पसे, रहँदा बस्दा पाककला सिके, आफ्नै बलबुतोले लन्डन पुगे, पाककौशलले ख्याति कमाए, विश्व समुदायमाझ नेपाली खाना पेस गरे अनि स्वदेश फर्किए ।

लन्डनमा बेग्लै रवाफ र वैभवमा बाँच्न सक्थे उनी । तर, मिथिला थालीले उनलाई गाउँ फर्कायो । यतिबेला उनी जन्मथलो जनकपुर हुँदै काठमाडौंमा मिथिला थाली विस्तार गरिरहेका छन् ।

‘नेपाली खानामा विविधता छ । पाइला पाइलामा फरक स्वाद भेट्न सकिन्छ । भूगोल, समुदाय अनुसार आफ्नो मौलिक व्यञ्जन छन् । यी खानेकुरा स्वाद र पोषणले आफैंमा परिपूर्ण छन् । अब बाँकी काम भनेको यसलाई विश्वको मेनुमा समावेश गर्नु हो,’ सन्तोष उत्साहित हुन्छन् ।

तस्वीर/भिडियो : शंकर गिरी

उदीयमान उद्यम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?