+
+
उदीयमान उद्यम-३ :

२८ देश घुमेपछि विकासले यसरी जन्माए ‘अरेबिका कफी’

विकास ‘कफी बारिस्टा’ को अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक भए । संसारका २८ देश पुगे । त्यहाँका नाम चलेका ठूला रेस्टुरेन्ट र क्याफेले दिएका प्रस्तावले उनलाई आकर्षित गर्न सकेन । पीआरको पनि लोभ गरेनन् । उनलाई ठूला देशका चकाचौंधको मोह र रंगिन सपनाले तानेन ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत ७ गते १९:५०

७ चैत, काठमाडौं । उनले जीवनमा सायद नसोचेको एउटा यस्तो सफलता हात पारे, जसले उनको ‘हाइप’ ह्वात्तै बढ्यो । छोटो समयमै उनले उचाइ चुमे ।

अहिलेलाई नेपालको कुरा नगरौं, युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता अतिविकसित देशका नामुद रेस्टुरेन्ट र क्याफेले उनलाई आकर्षक तलबसहित जागिरको दर्जनौं प्रस्ताव गरे ।

आकर्षक आम्दानी, स्थायी बसोबास (पीआर), घर, गाडी, बंगला, त्यसबेला उनले चाहेको भए चुट्कीका भरमा पाउँथे । तर, उनको तन र मनले ती सबै प्रस्तावलाई गौण मान्यो । र, उनी कतै अडिन सकेनन्, अनि सिधै हुइँकिए मातृभूमि नेपालतिर ।

अनि आफैं थाले नेपाली कफीलाई विश्वबजारमा ‘ब्रान्डिङ’ गर्ने काममा । सिन्धुपाल्चोकको एउटा सामान्य परिवारमा जन्मेहुर्केका ३१ वर्षे विकास भण्डारीले युरोप, अमेरिका र अस्ट्रेलियाका आकर्षक प्रस्ताव त्यसै माया मारेका होइनन्, उनी अहिले जे छन् र जे गरिरहेका छन्, त्यो देख्ने जो कसैलाई अहिले उनको त्यसबेलाको निर्णय सही थियो भन्न करै लाग्छ ।

केही समय अगाडि फर्कौं ।

विकास ‘कफी बारिस्टा’ को अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक भए । संसारका २८ देश पुगे । त्यहाँका नाम चलेका ठूला रेस्टुरेन्ट र क्याफेले दिएका प्रस्तावले उनलाई आकर्षित गर्न सकेन । पीआरको पनि लोभ गरेनन् । उनलाई ठूला देशका चकाचौंधको मोह र रंगिन सपनाले तानेन ।

नेपालमा अहिले कफी कल्चर क्रमशः बढ्दै छ । कफी पिउनेसँगै कफी सप खोलेर उद्यमशीलता गर्ने जमात पनि क्रमशः बढ्दै छ । नेपालमा कफी क्षेत्रमा राम्रो सम्भावना पनि छ ।

एउटा सम्पन्न जीवन बाँच्ने र लोभलाग्दो कमाइले नरोकिएका विकास सबै अवसर लत्याएर मातृभूमि आए । युरोप, अमेरिका र अस्ट्रेलिया नेपाली युवाको सपना बनिरहेका बेला विकासलाई चाहिँ के कुराले आफ्नै भूमिमा फर्कायो त ?

विकासले कफी पछ्याउँदै जाँदा अन्तर्राष्ट्रिय कफी बारिस्टा प्रशिक्षकको मान्यता पाए । देशविदेश घुमे । कफी उद्यमी भए । आफूले सिकेको ज्ञान अरूलाई बाँडे । अनि, आफै लागे नेपाली कफी विस्तार र ब्रान्डिङमा । उनको अहिलेको यो उचाइ कम्ती लोभलाग्दो छैन ।

१४ वर्षअघि

सन् २००८ तिर सिन्धुपाल्चोकबाट एसएलसी सकिनासाथ काठमाडौं ओर्लिए । काठमाडौं आएर नाम कहलिएको ‘हिमालयन जाभा’ मा काम गर्ने मौका पाए र मिहिनेत गर्न थाले । त्यहाँ उनले कफी बनाउने काम पाए । बारिस्टाका रूपमा काम गरे । अथक मिहिनेत र लगनले उनी छोटो अवधिमा हिमालयन जाभा क्याफेको म्यानेजरसम्म बन्न सफल भए ।

सुरुमा उनलाई आर्मी (नेपाली सेना) हुने उत्कट चाहना थियो, सेना बन्न नसके प्रहरीसम्म हुने सपना साँचेका थिए । त्यसका लागि उनले हरसम्भव प्रयास गरे । तर, आठ पटकसम्म प्रयास गर्दा पनि फौजी हुने सपना पूरा हुन पाएन ।

‘अहिले लाग्छ, म कफीकै लागि जन्मिएको रहेछु,’ विकास कफी उद्यमी बन्नुर्ला एउटा संयोगमात्र मान्छन्, ‘जीवनमा जे लेखेको छ, त्यही हुन्छ सायद ।’

हिमालयन जाभामा काम गर्दै गर्दा उनले २०१६ मा नेदरल्यान्डमा भएको कफी एक्स्पोमा जाने मौका पाए । उनी त्यसरी पहिलो पटक अन्तर्राष्ट्रिय कफी एक्सपो पुगे । ‘त्यहाँ पुगेपछि नै हो, मलाई आफू कफीकै लागि जन्मिएको रहेछु भन्ने बोध भएको,’ विकास सम्झिन्छन् ।

कफी टर्निङ प्वाइन्ट

नेदरल्यान्ड पुग्नु नै विकासको जिन्दगीको ‘टनिङ प्वाइन्ट’ भयो । कफी एक्सपोले उनलाई कफीको दुनियाँमा छिरायो । उनले कफीप्रति विदेशीहरूको मोह देखे । बिहान उठेदेखि राति नसुत्दासम्म कफी खाने अचम्मको ‘कफी कल्चर’ देखे । त्यहाँ उनले विदेशीको कफी कल्चरबारे बुझ्ने मौका पाए ।

‘कफी खाली पिउने पदार्थमात्र रहेनछ,’ विकास भन्छन्, ‘कफी कल्चर वहृत् रहेछ । यो त विदेशीहरूको जीवनशैलीको एउटा अभिन्न अंग रहेछ भन्ने त्यहाँ पुगेपछि मात्र देखेँ ।’

कफीको संसार कति वृहत् रहेछ भन्ने बुझेपछि उनले कफीमै करियर बनाउने सोचे । ‘त्यो बेलादेखि कफीसँग एक प्रकारको प्रेम नै भयो,’ उनी भन्छन्, ‘त्यसपछि मैले कफीलाई नै आफ्नो करियर बनाउँछु भनेर निर्णय गरेँ ।’

त्यसअघि उनले कफी क्षेत्रमै करियर बन्छ भन्ने सोचका पनि थिएनन् । फेरि, त्यो बेला नेपालमा कफी कल्चर नै कति थियो र ? हिमालयन जाभाले कफी कल्चर विकास गर्दै जो थियो ।

कफी सिक्दै देश–विदेश

कफी उद्योगमै करियर बनाउने सोचेर विकास विदेश गए । कफीसम्बन्धी अध्ययन गर्न थाले । त्यो बेला नेपालमा कफीबारे पढाइ हुँदैनथ्यो । भारतमा समेत ‘एससीए’ अन्तर्गत कफी सम्बन्धी पढाइ हुँदैनथ्यो । ‘अनि म कफी सिक्नै भनेर विदेशा गएर पढ्न थालेँ,’ उनी सुनाउँछन् ।

सन् २०१६ देखि नै उनले एससीए (स्पेसलिस्ट कफी एसोसिएन) अन्तर्गत कफीसम्बन्धी विभिन्न कोर्स पढ्न भनेर इटाली, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, जर्मनी, क्यानडा, अष्ट्रेलिया, जर्मनी, अष्ट्रिया, चीन, हङकङ, सिंगापुर जस्ता देश पुगे । त्यहाँ उनले कफी बारिस्टा सम्बन्धी पढाइ पूरा गरे ।

‘कफीबारे पढ्ने भोकले मलाई थुप्रै देश पुर्‍यायो,’ विकास भन्छन्, ‘त्यहाँ पुगेर पढ्न थालेपछि कफीलाई चिन्न पाएँ, कफी कल्चरको महत्व बुझेँ।’

कफी प्रोफेसनल लेभल कोर्स

कफीबारे कोर्सहरू पूरा गरेपछि २०१९ मा उनी (स्पेसलिस्ट कफी एसोसिएन) अन्तर्गत ‘प्रोफेसनल लेभल’ र ट्रेनरको कोर्स गर्न अस्ट्रेलिया गए । एससीए मान्यता प्राप्त प्रोफेसनल ट्रेनरको कोर्स गर्न सजिलो थिएन । खर्चिलो पनि उस्तै । झन्डै ५ हजार युरो लाथ्यो ।

त्यसमाथि एससीएले मान्यता दिने भएकाले परीक्षामा नाम निकाल्नु सजिलो पनि थिएन । सामान्य मिहिनेतले परीक्षा पास गर्न सकिँदैनथ्यो ।

‘त्यो परीक्षा लोकसेवा जत्तिकै कठिन हुन्छ,’ उनी भन्छन्, ‘एकदमै डेडिकेटेड र मिहिनेतले मात्र त्यो लाइसेन्सका लागि परीक्षा उत्तीर्ण गर्न सकिन्छ ।’

तर, कफीप्रतिको प्रेम, ‘प्यासन’ र दृढताले अन्ततः विकासले परीक्षा पास गरे । त्यसपछि उनी अन्तर्राष्ट्रिय बारिस्टा ट्रेनर भए । उनी जहाँ, जुनसुकै देशमा पनि काम गर्नमात्र होइन, तालिम पनि दिन सक्ने भए ।

हालसम्म नेपालमा एससीए मान्यता प्राप्त कफी प्रशिक्षक उनीसहित डा. राजकुमार बञ्जारा, निमातेन्जिङ शेर्पा गरी तीन जनामात्र छन् ।

त्यसपछि त के थियो र, उनको माग देश–विदेशमा हुन थाल्यो । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा त उनलाई मासिक ४ लाख नेपाली तलब दिने गरी अफर नै आयो । यस्तै अफर अस्ट्रेलियाबाट पनि आयो ।

युरोपका धेरै देशबाट पनि अफरको ओइरो लाग्यो । ‘तलबमात्र होइन, सेवा सुविधा पनि राम्रै दिन्छु भने । पीआरको लोभ नदेखाइएको होइन । तर, मलाई केहीले तानेन,’ उनी भन्छन्, ‘जुनकुसै देश गए पनि राम्रै जीवन जिउन सक्थेँ, तर ती अफर मेरा लागि महत्वपूर्ण थिएनन् ।’

त्यसबीच उनी अध्ययन, एक्स्पो लगायतमा सहभागी हुन २८ देश पुगिसकेका थिए । ती देश घुम्दा उतै ‘सेटल’ हुन सक्थे, तर उनलाई त्यो सोच कहिल्यै आएन ।

कफीसम्बन्धी कोर्स पूरा गरेर २०२० मा विकास नेपाल फर्किए । यसको कारण के भने उनलाई कहिल्यै विदेशमै बस्न मन भएन । उनी सधैं नेपाल फर्केर केही गर्न चाहन्थे ।

‘थुप्रै अवसर आउँदा पनि विदेशमै बस्ने मन कहियै लागेन,’ उन दृढ सुनिन्छन्, ‘म आफूलाई एजुकेटरका रूपमा काम गर्न चाहन्थेँ । बाहिर सिकेको कुरा अरूलाई पनि सिकाउनुपर्छ भन्ने लागिरहन्थ्यो ।’

यो कुरा उनले आफ्नो बुबाबाट सिकेका हुन् । ‘बुबा शिक्षक भएकाले आफूले सिकेका कुरा अरूलाई सिकाउनुपर्छ भनिरहनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सानैदेखि मेरो मस्तिष्कमा त्यो कुराको छाप परेको थियो, त्यही कुराले मलाई नेपाल फर्कायो ।’

अनि, जन्मियो– अरेबिका कफी

विकास नेपाल फर्किएर सोचे– ‘सर्टिफिकेटमात्र राखेर भएन, आफूले सिकेको कुरा अरूलाई किन नसिकाउने त ?’

सुरुमा उनले नेपाल फर्केर क्याफे खोलेर उद्यम सुरु गरे । पहिलो सरुवात स्वरूप २०२० मा दरबारमार्गमा ‘अरेबिका कफी’ सार्वजनिक गरे ।

क्याफेबाट उनले उद्यमशीलता थालनी गरे । विदेशमा कफी बनाउन सिकेको सिप नेपालमा पाइने हिमालयन कफी ‘फ्युजन’ गरेर अरेबिका कफीको स्वाद चखाए । क्रमशः कफी रुचाउनेलाई त्यो स्वादले तान्दै लग्यो । अरेबिका क्याफेले कफी पारखीका मन जित्दै गयो ।

फलतः अहिले तीन वर्षमै चार ठाउँमा आफ्नै र पाँच ठाउँमा फ्रेन्चाइजी गरी काठमाडौं उपत्यकामा नौ ठाउँमा अरेबिका कफी विस्तार भयो । जसैजसै कफी पारखी बढ्दैछन्, अरेबिका कफी (क्याफे) पनि फैलिँदै छ ।

‘विषेशता के छ भने हामी हिमाली भेगमा पाइने नेपाली स्पेसल क्वालिटीको कफी खुवाउछौं,’ उनी भन्छन्, ‘जुन कफी विश्वमै उत्कृष्ट मानिन्छ । यसलाई फ्रेन्चाइजी दिएर अझै विस्तार गर्दै लैजाने सोच छ ।’

अन्तर्राष्ट्रिय स्तरको बारिस्टा तालिम

कफीको बारिस्टाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन् विकास । उनीजस्ता प्रशिक्षक नेपाली बजारमा तीन जनामात्र छन् । त्यसैले त नेपालीमा बजारमा पनि उनको माग धेरै छ ।

त्यसैले उनले नेपाल फर्किएपछि अरेबिका क्याफेको विस्तारसँगै कफी बारिस्टाको प्रशिक्षणको काम पनि सँगसँगै थाले । आफूसँग सिकेको कुरा अरूलाई सिकाउन लागि परे ।

‘विदेशबाट फर्किंदा मसँग कफीबारे सिकाउनुपर्ने ज्ञान र अनुभव थियो,’ उनी भन्छन्, ‘आफूले सिकेका ज्ञान र सिप म अरूलाई सिकाउन चाहन्थेँ । त्यही अनुसार तालिम दिन थालो ।’

त्यसबीच उनले झन्डै २ हजार जनालाई कफी तालिम दिइसकेका छन् । अहिले उनी नयाँ बानेश्वरस्थित ‘अरेबिका कफी बारिस्टा स्कुल’ सञ्चालन गरिरहेका छन् । ६ महिनाअघि सुरु गरेको अरेबिका कफीमा अरेबिका कफी स्कुलबाट पढाउन थालेका छन् । जहाँ एससीएको मापदण्डमा रहेर पाठ्यक्रम अन्तर्गत लेखाउँदै, पढाउँदै, प्राक्टिल गराउँदै कफीबारे पढाउँछन् ।

अन्तर्राष्ट्रिय स्तरको एससीए लेभलको कफी बारिस्टा ट्रेनिङ सिकाउँछन् । त्यही पाठ्यक्रममा आधारित रहेर कफी बनाउने तालिम दिन्छन् । जहाँ उनले सिकाउँछन्– लाटे, क्यापुचिनो जस्ता ५० बढी स्वादका कफी बनाउन । पढाउँदै, लेखाउँदै र प्राक्टिकल गराउँदै कफी बनाउन मात्र होइन, कफी कल्चरबारे बुझाउँछन् पनि ।

उनले सिकाएको यो तालिमले विश्वभरि नै मान्यता पाउँछ । ‘यहाँ सिकेपछि वर्ल्डवाइड सर्टिफाइड हुन्छन्,’ विकास भन्छन्, ‘एससीएको सर्टिफिकेट अमेरिकाबाटै आउँछ । जसले विश्वभरि नै मान्यता पाउँछ ।’

नेपाली कफीको गुणस्तर चिन्ने हो र बाहिर पठाउने हो भने देशले ठूलो लाभ लिन सक्छ ।

पहिले–पहिले भने यो कोर्स पढ्न बाहिर नै जानुपर्थ्यो । किनभने, त्यो बेला नेपालमा एससीए मान्यता प्राप्त प्रशिक्षक नै थिएनन् । त्यसरी बाहिर गएर पढ्दा धेरै खर्चिलो पनि हुन्थ्यो । अहिले उनी त्यही लेभलको तालिम नेपालमै दिन्छन्, त्यो पनि निकै कम पैसामा ।

सँगसँगै विकासले कफीमा सिकेको ज्ञान कफी क्षेत्रमा उद्यमशीलता सुरु गर्नेलाई पनि सघाइरहेका छन् । पढाउने मात्र होइन, क्याफे खोल्दा परामर्शको काम पनि गर्छन् ।

‘कसैले क्याफे खोल्नु परे, सल्लाह दिन्छु,’ उनी भन्छन्, ‘कफी बनाउने मात्र नभई क्याफे चलाउनेबारे कुरा पनि सिकाइरहेको हुन्छु ।’

उनको बुझाइमा नेपालमा अहिले कफी कल्चर क्रमशः बढ्दै छ । कफी पिउनेसँगै कफी सप खोलेर उद्यमशीलता गर्ने जमात पनि क्रमशः बढ्दै छ । उनले नेपालमा कफी क्षेत्रमा राम्रो सम्भावना देखेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी ब्रान्डिङ

कालान्तरमा उनको योजना छ, नेपालको कफीलाई विश्वभरि पुर्‍याउने र यसको ब्रान्डिङ गर्ने । त्यसैलाई पूर्णता दिन उनी अहिले अरेबिका कफीमार्फत नेपाली कफी ब्रान्डिङ र जनशक्ति उत्पादन गर्न लागेका छन् ।

ढिलो चाँडो उनी नेपाली कफीलाई अझै ‘प्रमोट’ गर्दै अन्तर्राष्ट्रिय बजारमा फैलाउन चाहन्छन् ।

उनका अनुसार हिमालको हावा पानी भएकाले कफी उत्पादनका लागि नेपाल उत्कृष्ट मानिन्छ । नेपालमा उच्च गुणस्तरको कफी, अरेबिका जातको ‘स्पासिटी’ कफी फल्छ । एससीएका अनुसार नेपाली कफीले १ सयमा ८० अंक पाउँछ ।

नेपालको कफीको यो गुणस्तर चिन्ने हो र बाहिर पठाउने हो भने देशले ठूलो लाभ लिन सक्ने उनी बताउँछन् । ‘हिमाली उच्च भेगमा राम्रो हावापानीमा फल्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढी छ,’ विकास थप्छन्, ‘तर, माग अनुसार हामीले कफी उत्पादन गर्न सकेका छैनौं ।’

त्यही कारण नेपालमा समेत ७५ प्रतिशत कफी भारतबाट आइरहेको उनी सुनाउँछन् ।

‘नेपाली स्पेसल कफी पाइने भए पनि उत्पादन छैन,’ उनी भन्छन्, ‘कृषिमा खेतीमा कफी अझै सरकारको प्राथमिकतमा परेको छैन ।’

अहिले पनि कफी एक्सपोहरूमा विभिन्न देश पुगिरहेका हुन्छन् उनी । त्यहाँ विदेशीलाई नेपाली कफीको स्वाद चखाइरहेका हुन्छन् ।

कफीले भरेको उडान

३१ वर्षको उमेरमा विकासले आज जे उपलब्धि हासिल गरेका छन्, त्यो एकदमै साँच्चै लोभलाग्दो छ । कफी पछ्याउँदा पछ्याउँदै उनले उडान भरे । उनलाई कफीले बेग्लै पहिचान, आत्मविश्वास र आत्मसम्मान दियो । नेपालमा अहिले उनको कफी क्षेत्रमा विशिष्ट नाम छ ।

अझ भनौं कफीसँग उनको नाम जोडिएर आउँछ । ‘राजनीतिकर्मीलाई राजनीतिले चिनायो, कालाकारलाई कलाकारिताले चिनाएजस्तै कफीले मलाई चिनायो,’ भन्छन्, ‘कफीको उडान जारी छ ।’

तस्वीरहरू : आर्यन धिमाल

उदीयमान उद्यम-१

उदीयमान उद्यम-२

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?