+
+
उदीयमान उद्यम-४ :

हुटहुटी र आत्मविश्वासले जन्मिएको ‘खल्ती’

पुल्चोक इन्जिनियरिङ क्याम्पस पढिरहेका चार दौंतरीले देखेको त्यही सपना बिपनामा परिणत भएको छ– ‘खल्ती’ बनेर । अहिले खल्तीलाई आफ्नो कारोबारको अपरिहार्य माध्यम बनाउनेको संख्या नै ३५ लाख पुगेको छ । यो चानचुने अंक होइन ।

विजय पराजुली विजय पराजुली
२०८० चैत १३ गते २०:२८

१३ चैत, काठमाडौं । डेढ दशकअघि । ललितपुर पुल्चोक इन्जिनियरिङ क्याम्पस पढिरहेका चार दौंतरीले सामूहिक सपना देखे– अर्थतन्त्रको डिजिटल ट्रान्सफर्मेसन ।

त्यो सपनालाई बिपनामा परिणत गर्न चारै जनाले यसरी अथक मिहिनेत गरे कि आज विगततिर फर्किएर हेर्दा उनीहरू आफैं अचम्म मान्छन्– के यो साँच्चै हामीले देखेको सपना थियो ?

हो, यो उनीहरूले नै देखेको सपना थियो । उनीहरूले देखेको त्यही सपना बिपनामा परिणत भएको छ– ‘खल्ती’ बनेर ।

अहिले खल्तीलाई आफ्नो कारोबारको अपरिहार्य माध्यम बनाउनेको संख्या नै ३५ लाख पुगेको छ । यो चानचुने अंक होइन । खल्ती प्रयोग गर्ने पसल कबलमात्रै १ लाख पुगिसक्यो ।

खल्तीलाई प्रयोगमात्र गर्ने होइन, खल्तीले ३ सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी पनि दिइरहेको छ ।

यसो हेर्दा र सुन्दा यो छोटो समयको सफलता झैं लाग्छ । हुन त डेढ दशक धेरै लामो समय नहोला, तर सफलता हात पार्न लामै समय भन्दा दुई मत नहोला ।

खल्तीमार्फत डिजिटल भुक्तानी हुँदा आर्थिक पारदर्शितामा मात्रै भूमिका खेलेको छैन, डिजिटल कारोबारले भ्रष्टाचार घटाउन समेत योगदान गरेको छ ।

यो सफलताका सूत्रधार चार साथी हुन्– ध्रुव अधिकारी, अरबिन्द साह, मनिष मोदी र अमित अग्रवाल ।

उनीहरू सन् २००७ मा एकसाथ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत थिए । चारै जनाको कुरा मिल्थ्यो । अनि, एक दिन कुरैकुराको सिलसिलामा ‘अर्थतन्त्रको डिजिटल ट्रान्सफर्मेसन कसरी गर्न सकिन्छ होला ?’ भन्ने बहस भयो ।

त्यही बहसलाई व्यवहारमा उतार्दै–उतार्दै जाँदा खल्ती जन्मियो र सुरु भयो नेपालको अर्थतन्त्रको डिजिटल ट्रान्सफर्मेसन ।

सुरुका केही वर्ष स्थापित हुन नै संघर्ष गरेको खल्तीमा अहिले लगभग अधिकांश बैंक तथा वित्तीय संस्था जोडिँदै डिजिटल भुक्तानीको अभिन्न अंग बनेको छ ।

चार साथीले डेढ दशकअघि देखेको सपना बिपनामा परिणत अर्को एक दशक लाग्यो । सन् २०१७ मा स्थापना भएको डिजिटल वालेट खल्तीले सात वर्षमा धेरै आरोह अवरोह पार गरेको छ । सुरुमा त खल्तीलाई पत्याउने एक जना पनि थिएनन् । तर, अहिले यो सफलताको सिँढी उक्लिँदै–उक्लिँदै लाखौंको ‘खल्ती’ मा बस्न सफल भएको छ ।

चार साथीले २०१७ मा खल्ती सुरु गर्नुभन्दा अगाडि नै डिजिटल ट्रान्सफर्मेसनका लागि काम गरिसकेका थिए । केही गरौं भन्ने हुटहुटी बोकेका उनै चार साथीले पुलचोक इन्जिनियरिङ क्यापसमा पढ्दै गर्दा क्याम्पसको होस्टललाई नै रजिस्टर्ड कार्यालय बनाएर ‘जानकी टेक्नोलोजी’ नामको आईटी (सूचना प्रविधि) कम्पनी दर्ता गरे ।

सुरुमा उनीहरूले उक्त कम्पनीमार्फत विभिन्न कम्पनीलाई ‘आउटसोर्सिङ’ सेवा उपलब्ध गराउँदै आएका थिए । जानकी इन्जिनियरिङबाट एकसाथ सुरु भएको ध्रुव, अरबिन्द, मनिष र अमितको सपना र सहकार्य १७ वर्षसम्म निरन्तर जारी छ ।  

‘सुरुमा हामीले सफ्टवेयर आउटसोर्सिङको काम गर्दै आएका थियौं,’ खल्तीका संस्थापकमध्ये एक अमित भन्छन्, ‘ई–कमर्स, वेबसाइट डेभलपमेन्टदेखि, विदेशी कम्पनीको काम गरिरहेका थियौं । जानकी टेक्नोलोजीबाट विशुद्ध सर्भिसको मात्रै काम गरेका थियौं ।’

पैसा लिने र आउटसोर्सिङ सेवा प्रवाह गर्दै आएका उनीहरूले देशमा कुनै ठूलो परिवर्तन वा डिजिटज ट्रान्सफर्मेसन ल्याउनु छ भने सर्भिसको बाटो सजिलो भए पनि प्रडक्टको बाटो रोज्नुपर्छ भन्ने सोचे ।

‘शुल्क लिने र अरूको काम गरेर पैसा कमाउने हाम्रा लागि सजिलो बाटो थियो,’ अमित विगत सम्झिन्छन्, ‘प्रडक्टमा काम गर्न समय र मिहिनेत लाग्छ । तर, त्यसले देशलाई ट्रान्सफर्मेसन गर्ने तागत राख्छ ।’

त्यतिबेला उनीहरूका लागि दुइटा बाटो थियो । एउटा, नेपालमै बसेर विदेशी कम्पनीको काम गरेर सहजै पैसा कमाउने । अर्को,   डिजिटल ट्रान्सफर्मेसनका लागि देशको प्रडक्ट बनाउने ।

अनि, उनीहरूले रोजे दोस्रो बाटो ।

प्रडक्टमा काम गर्नु नाफामूलक नभए पनि आफ्नै प्रडक्ट बनाउँदा देशको डिजिटल ट्रान्सफर्मेसन गर्न सकिन्छ भन्ने जोखिम मोलेर अगाडि बढेको अमित बताउँछन् ।

‘प्रतिस्पर्धा भयो भने प्रयोगकर्ताले राम्रो सेवा र फाइदा पनि पाउँछन् । देशका लागि पनि योगदान हुन्छ  । एउटै काममा निरन्तर लाग्दा त्यसले प्रतिफल पनि दिन्छ भन्ने विश्वास हामीमा थियो,’ अमित भन्छन्, ‘

त्यसैले पैसा कमाउने सजिलो बाटो छाड्दै कठिन बाटो समात्यौं । अहिले खल्तीको सफलता देख्दा औधी खुसी लाग्छ ।’

आर्थिक पारदर्शिता र भ्रष्टाचाररहित समाज बनाउँदै

आजको दिनमा खल्तीमार्फत डिजिटल भुक्तानी हुँदा आर्थिक पारदर्शितामा मात्रै भूमिका खेलेको छैन, डिजिटल कारोबारले भ्रष्टाचार घटाउन समेत योगदान गरेको छ ।

अप्रत्यक्ष हेर्दा काठमाडौंको ट्राफिक कम गर्न पनि सहयोग गरिरहेको छ । हिजो खानेपानीको बिल भुक्तानीदेखि स्कुल–कलेजको फि तिर्न तथा बीमा प्रिमियम, विद्युत् महसुल भुक्तानी सबैका लागि सम्बद्ध कार्यालय पुग्नुपर्ने बाध्यता थियो ।

अहिले घरै बसेर सबै काम हुने भएपछि सर्वसाधारणको समयको बचत त भएको छ नै ट्राफिक व्यवस्थापनमा समेत त्यसले सहज बनाइदिएको छ ।

नेपाल राष्ट्र बैंकले नोट छपाइ तथा ढुवानीमा वार्षिक ठूलो परिमाणको आर्थिक स्रोत खर्च गर्दै आएको थियो । त्यसलाई कम गर्न पनि डिजिटल भुक्तानीको विकासले योगदान गरेको छ ।

‘आजको दिनमा मैले काठमाडौंमा पर्स भुलेर घरबाट निस्किए पनि कुनै डर हुँदैन,’ अमित भन्छन्, ‘मसँग डिजिटल वालेट छ र त्यसबाट लगभग हरेक ठाउँमा फोन–पे, युनियन–पे, नेपाल–पेको जुनसुकै पसलको क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ । हाम्रो टिम यसैमा खुसी छ ।’

यो सबै ट्रान्सफर्मेसन ८/९ वर्ष एउटै कुरामा दिनरात सोच्ने, काम गर्ने, प्रविधि विकासमा ध्यान दिएर मात्रै सम्भव भएको अमित बताउँछन् । देशमा भएको समस्या समाधान गर्न प्रडक्ट बनाउन लाग्यो भने मात्रै सम्भव छ । जुन कुरा अमित सहितको टिमले पनि गरेर देखाएको छ ।

यसरी जन्मियो ‘खल्ती’

सन् २००८ मा जानकी टेक्नोलोजी मार्फत व्यावसायिक यात्रा थालेका चार साथीले जब २०१० मा ‘स्प्यारो एसएमएस’ नामक डिजिटल इन्फर्मेसन सेवा सुरु गरे, त्यो सफल बन्दै गयो । स्प्यारो एसएमएस जस्तो सानो एसएमएस सेवाबाट एसएलसीको नतिजा हेर्नेदेखि, तरकारीको मूल्य र लोडसेडिङको रुटिन हेर्नसम्मको सेवा ग्रामीण क्षेत्रमा उपलब्ध गराउँदा त्यसले पारेको प्रभावले उनीहरूलाई अझै केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जगायो ।

‘स्प्यारो एसएमएस मार्फत ‘एक्सिस टु इन्फर्मेसन’ मा त हामीले काम गरिरहको थियौं । अब देशको डिजिटल ट्रान्सफर्मेसनका लागि एक्सिस टु फाइनान्समा काम गर्नुपर्छ भन्ने सोचाइ आयो । स्प्यारोको सफलता नै खल्तीमा काम गर्ने हाम्रो उत्प्रेरणा हो,’ अमित थप्छन्, ‘त्यही उत्प्रेरणले हामीसँग पूँजी नभए पनि अथक मिहिनेत र स्प्यारोबाट आर्जन गरेको केही रकमबाट २०१७ मा खल्ती डिजिटल वालेट सुरु गर्‍यौं ।’

वालेट लन्च गर्नुभन्दा एक वर्ष अगाडिदेखि नै उनीहरूले त्यसमा तयारी गरिरहेका थिए । वालेटको ठेट नेपाली शब्द खोजी गर्दा खल्ती नाम आएको अमित बताउँछन् ।

खल्ती भनेको पैसा राख्ने वा सानातिनो सामान राख्न प्रयोग गर्ने बोलिचालीको शब्द भएकाले त्यही नाम खल्तीलाई नै किन डिजिटल वालेट नबनाउने भनेर खल्ती नाम राखेको अमित बताउँछन् ।

२०१७ मा वालेट सुरु गर्नुअघि नाम छनोटदेखि त्यसको प्रविधि, लाइसेन्स, बैंक इन्ट्रिग्रेसन जस्ता काम गर्नुपर्ने थियो । त्यो एक वर्ष ठूलो चुनौतीपूर्ण बनेको उनीहरूको अनुभव छ ।

अरूभन्दा कसरी फरक हुने भन्ने चुनौती उनीहरूमा थियो । जसले गर्दा उनीहरूले नयाँ प्रविधि प्राथमिकतामा राखे । खल्तीको ‘यूआईयूएक्स’ प्रयोगकर्तालाई मनपरेर नै खल्ती सबैमा परिचित भएको अमित बताउँछन् । सिनेमा, इभेन्ट वा फ्लाइट बुकिङमा पनि खल्तीको ब्रान्डिङ सबैले मन पराएको उनी बताउँछन् ।

बजारमा खल्तीभन्दा ८ वर्ष पुरानो ‘प्लेयर’ पनि थियो ।  भविष्यमा अर्को ठूलो लगानीसहित अर्को प्लेयर आउन सक्छ भन्नेमा उनीहरू तयार थिए । उनीहरूसँग ठूलो लगानी त थिएन तर काम गर्ने हुटहुटी भने थियो । त्यही हुटहुटी र आत्मविश्वासले नै आज खल्तीले एउटा उचाइ हासिल गरेको छ ।

‘पहिला बैंकहरूले नै खल्तीलाई विश्वास गरेनन् । ६ वर्षसम्म खल्तीलाई बैंक इन्ट्रिग्रेसन गर्नै लाग्यो,’ अमित खल्ती स्थापना गर्न गरेको संघर्ष सम्झिन्छन्, ‘आजको दिनमा खल्तीले कन्सिस्टेन्सी देखाएपछि बल्ल खल्तीलाई विश्वास गरेर बैंकहरूले सपोर्ट गरेका छन् । अहिले सबै बैंकहरू खल्तीमा जोडिएका छन् ।’

विश्वास आर्जन गर्नुअघिका चुनौती

स्प्यारो एसएमएस २०१० मा सुरु भयो । जसमा अमित सहित चार जनाको टिमले न्यूनतम १५/२० हजार रुपैयाँ तलब लिएर १३ वर्षदेखि काम गरिरहेको छ । अहिले पनि उक्त कम्पनी सञ्चालनमा छ ।

काठमाडौं बाहिर नै स्थायी घर भएका चार साथी काठमाडौंमा कोठा भाडामा लिएर बसेका थिए । त्यही पनि न्यूनतम पारिश्रमिकमा नै स्प्यारोमा काम गरेर कम्पनीलाई अगाडि बढाए । त्यसबाट आर्जन गरेको सम्पूर्ण आम्दानी खल्तीमा लगानी गरे ।

कम्पनी सुरुमा नै नाफामा जाने कुरा भएन । स्प्यारोबाट कमाएको सबै पैसा खल्तीमा लगानी भएर सकियो । त्यसपछि उनीहरू लगानीकर्ता खोज्न लागे । त्यहीबीच वल्र्डलिंक कम्युनिकेसनले खल्तीमा केही प्रतिशत लगानी गर्‍यो । अहिले पनि खल्तीले थप लगानीकर्ता खोजिरहेको छ । खल्ती प्रयोगकर्ताको संख्या बढ्दै जाँदा आम्दानी बढेर प्रतिफल दिने अवस्थामा कम्पनी पुगेको अमित बताउँछन् ।

पहिले खल्ती जोडिदिनुपर्‍यो भन्दै मर्चेन्टकोमा जानुपर्थ्यो भने अहिले मर्चेन्ट आफैं खल्ती कसरी जोड्ने भन्दै आउँछन् ।

एकातिर लगानी थप्दै जानुपर्ने र अर्कातिर जनशक्ति टिकाउनुपर्ने चुनौती कम्पनीले सँगैसँगै सामना गर्नुपरेको छ । विश्वभरि नै आईटी जनशक्ति बढ्दा माग बढिरहेको छ । यस्तोमा ‘ट्यालेन्ट रिटेन’ सम्भव नभएको अमितको अनुभव छ । यो खल्तीको मात्रै नभई देशकै समस्या भएको उनी बताउँछन् ।

प्रडक्ट बनाउँदा त्यसमा धेरै मिहिनेत हुने तर आम्दानी नहुने अमितको अनुभव छ । तर, काम गर्ने ‘प्यासन’ भने उनीहरूमा छ । ‘हामीले बनाएको प्रडक्टले कसैको आम्दानी बढ्यो । त्यसबाट जुन ‘रिकग्निसन’ पाउँछौं, त्यो नै आजसम्मको खल्तीको अर्निङ हो,’ अमित हौसिन्छन् ।

खल्तीको सात वर्षे यात्रामा उनीहरूले त्यसबाट प्रतिफल पाउनेभन्दा उल्टै लगानी थपरिहेका छन् । चाहे त्यो स्प्यारो एसएमएसबाट होस् वा मानव पूँजीका रूपमा आफ्नो परिश्रम पनि त्यसैमा लगानी गरिरहेका छन् । अहिलेको यो संघर्षले भोलिका दिनमा आर्थिक प्रगति हुन्छ वा हुँदैन अझै निश्चित छैन । तर, डिजिटल ट्रान्सफर्मेसन मार्फत देशलाई योगदान दिएको र अझै दिन सकिन्छ भन्नेमा सबै साथी विश्वस्त छन् ।

सँगैका साथीले बाहिरको काम गरेर मनग्य आम्दानी गरिरहेका छन् । ‘हाम्रो चार जनाको टिम छ । हामीले नै यदि बाहिरको कम्पनीको काम गर्ने हो भने महिनाको १०/२० हजार डलर कमाउन कुनै समस्या नहोला । त्यो क्षमता हामीमा छ,’ अमित थप्छन्, ‘यहाँ काम गर्दै गर्दा मासिक २ लाख तलब लिन पनि गाह्रो हुन्छ । न्यूनतम आवश्यकता र पैसा सबैलाई चाहिन्छ । तर, त्योसँगै आफूले गरेको कामले जुन प्रभाव छाडेको हुन्छ र त्यसले पाएको रिकगिनसनले नै जीवनलाई एउटा अर्थ दिन्छ ।’

भोलिका दिनमा खल्तीलाई अन्तर्राष्ट्रिय प्रडक्टका रूपमा विकास गर्न सकिने विश्वासले नै उनीहरूले दिनरात नभनी प्रडक्ट उत्पादन मार्फत देशको डिजिटल ट्रान्सफर्मेसनमा लागिरहेका छन् ।

‘कहिलेकाहीँ हतोत्साहित पनि भयौं । के गरिरहेका छौं, किन गरिरहेका छौं भन्ने अनुभूति भयो,’ अमित सम्झिन्छन्, ‘त्यो चरण र त्यो मनोविज्ञान धेरै फेस गरिसकेको छौं । अहिले एक तहको परिपक्वता हामीमा आइसकेको छ । खल्ती पनि आठौं वर्षमा हिँडिरहँदा धेरै प्रविधि बनाइसक्यौं । सबै बैंक आबद्ध भइसकेका छन् । पहिले खल्ती जोडिदिनुपर्‍यो भन्दै मर्चेन्टकोमा जानुपर्थ्यो भने अहिले मर्चेन्ट आफैं हाम्रो खल्ती कसरी जोड्ने भन्दै आउँछन् ।’

अबको १० वर्षपछिको प्रविधि कस्तो हो ? अहिले स्कुल पढ्दै गरेका विद्यार्थीले १० वर्षपछि कसरी बैंकिङ गर्छ ? त्यो सोच राखेर अहिलेदेखि नै ‘इनोभेसन’ मा खल्तीले काम गरिरहेको छ ।

उनीहरू केन्द्रीय बैंकले डिजिटल करेन्सी, डिजिटल बैंक ल्याउँदा खल्तीले कसरी काम गर्ने भन्ने सोचेर काम गरिरहेका छन् । एआईले अहिले नै धेरै परिवर्तन गरिरहेको छ । यी सबैका लागि इनोभेटिभ फिनटेक वा प्रडक्ट कम्पनी चाहिन्छ । जुन खल्तीले सोचेर अगाडि बढेको छ ।

अब उनीहरूले देखेको प्रतिस्पर्धा, इनोभेसन, ग्राहक सेवा, ग्रोथ, व्यवसायको आकार र परिपक्वता हो । उनीहरू आईटी कम्पनीभन्दा पनि वित्तीय संस्थाको सोचाइ सहित अगाडि बढिरहेका छन् ।

ट्यालेन्ट प्रडक्सनमा खल्तीले लिएको अग्रसरता

ट्यालेन्ट रिटेन सम्भव नभए पनि खल्ती आफैंले ट्यालेन्ट प्रडक्सनमा भने काम गरिरहेको छ । खल्तीले पुलचोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षका विद्यार्थीलाई ‘इलेक्टिभ’ कक्षा सञ्चालन गरिरहेको छ । जसको स्वीकृत त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ‘प्रोपर इलेक्टिभ अप्लाइड फिन्टेक इन्जिनियरिङ बाई खल्ती’ नाम गरेको पाठ्यक्रम सहित कक्षा सञ्चालन गरिरहेको छ ।

विद्यार्थीले उक्त कक्षा लिएपछि अन्य विषयजस्तै परीक्षा पनि भइरहेको छ । त्यसको सबै क्लास खल्तीको अफिसमा नै सञ्चालन भइरहेको छ । अरूका लागि मास लेभलमा नभए पनि खल्तीले आफ्ना लागि ट्यालेन्ट उत्पादन भने गरिरहेको छ ।

खल्तीले पढाएको विषयका प्रश्नपत्र बनाउने, परीक्षा लिने,  मूल्यांकन हुने गरी नै पुलचोक इन्जिनियरिङ क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको छ । यो वर्षबाट सुरु गरेको कोर्समा खल्तीले १२ विद्यार्थी छानेर पढाइरहेको छ ।

अहिले खल्तीका ३५ लाख प्रयोगकर्तामध्ये साढे ३ लाखले हरेक महिना कारोबार गर्दा हरेक प्रयोगकर्ताको १० घण्टा बचाउन सकियो भने देशका लागि हरेक महिना ३५ लाख घण्टा उत्पादन समय बचाउन सकिने अमित बताउँछन् ।

त्यसले वातावरण, यात्रा समय बचाउन, ट्राफिक कम गर्ने, आर्थिक कारोबारमा पारदर्शिता कायम गर्दै भ्रष्टाचार घटाउन सम्म भूमिका खेल्न सक्छ ।

इनोभेसन जारी

बैंक इन्ट्रिग्रेसन सकेर अब ‘टेकअफ’ का लागि धावनमार्गमा  पुगेको अमित बताउँछन् । टेकअफका लागि अब खल्तीले इनोभेसनमा काम गर्ने छ । खल्तीले सुरुवाती चरणमा मुभी (चलचित्र) र इभेन्ट बुकिङ सहज बनाइसकेको छ । वर्ल्डलिंकको इन्टरनेट बिल भुक्तानी सहज बनाएको छ ।

यस्तै राइड सेयरिङ एपमार्फत सेवा लिँदा खल्तीमा पैसा पठाउन सहज बनाएको छ । ‘हामीले इनोभेनमा धेरै काम गरिरहेका छौं । आउने दिनेको लक्ष्य फाइनान्सियल इन्क्लुजन हो,’ अमित भन्छन्, ‘भुक्तानी भनेको डिजिटल ट्रान्सफर्मेसनको एउटा औजार मात्रै हो । फाइनान्सियm इन्क्लुजन भनेको बैंकसँग मिलेर बैंकको फिनटेक अंग जस्तै बनेर बैंकलाई आबद्ध बनाएर बैंकको काम नै सजिलो बनाउने हो ।’

खल्ती एउटा यस्तो प्रडक्ट हो जसमा हरेक दिन नयाँ इनोभेसनमा काम गरिरहनुपर्छ ।

खल्ती डिजिटल वालेटको लक्ष्य बैंकले अफिस र जनशक्तिमा गरिरहेको ठूलो खर्च कटौती गर्ने, चौबिसै घण्टा काम गर्ने र अहिलेको शाखा पनि नचाहिने बनाउने भन्ने हो ।

नेपालमा भएको कर्जा धितोमा आधारित छ । सुरक्षण नभएको कर्जाका लागि क्रेडिट रेटिङ छैन । साना–साना कर्जा, किस्तामा भुक्तानी गर्न कुनै आधार नै छैन । राष्ट्रिय परिचयपत्र बाँड्न काम भइरहेको छ । केन्द्रिकृत केवाईसीपछि क्रेडिट रेटिङको कुरा आउँछ । भोलिका दिनमा बैंकले क्रेडिट कार्ड, लोन, निक्षेप, स्मार्ट निक्षेप, क्रसबोर्डर भुक्तानीका लागि एक्सिस टु फाइनान्स र एक्सिस टु क्यापिटलमा काम गर्ने सोच खल्तीले राखेको छ ।

सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, वेल्थ म्यानेजमेन्ट, म्युचुअल फन्डमा पनि काम गर्ने योजना र इनोभेसनमा खल्तीले काम गरिरहेको छ ।

आजका दिनमा डिजिटल ‘अनबोर्डिङ’ का लागि ५/६ डलर लाग्ने एसियाली विकास बैंकको रिपोर्टले नै देखाएको छ । जुन काम फिन्टेक वा वालेटमा काम गरिरहेको र आगामी दिनमा फाइनान्सियल सिस्टममा काम गर्ने अमित बताउँछन्  ।

बीमा पोलिसी पनि भविष्यमा सहज बनाउन खल्तीले काम गर्ने अमित बताउँछन् । भोलि हरेक घरमा एउटा खल्ती खाता होस् र आफ्नो सबै कारोबार मात्रै नभएर लगानी, बैंकिङ तथा फइनान्सियल सेवा, पूँजीबजार, बीमा,  इन्भेस्टमेन्ट प्लान, वेल्थ म्यानेजमेन्ट सबै त्यसैबाट गर्न पाउनुपर्छ भन्ने हिसाबले खल्तीले इनोभेसनमा काम गरिरहेको छ ।

अब के ?

खल्ती एउटा यस्तो प्रडक्ट हो जसमा हरेक दिन नयाँ इनोभेसनमा काम गरिरहनुपर्छ । तर, नेपालको बजार सानो भएकाले आम्दानी पनि कम छ । यो नै खल्तीका लागि चुनौती हो ।

हरेक दिन यही प्रश्नको उत्तर खोज्न धेरै नै सोच्ने गरेको अमित बताउँछन् । लगानी गरिरहनुपर्ने र बजार सीमित हुँदा कसरी सस्टेन गर्ने भन्ने चिन्ताले चार साथीलाई जतिबेला सताइरहेको हुन्छ ।

‘यस्तो बिजेनसका लागि ठूलो अर्थतन्त्र चाहिन्छ । सुरुमा लगानी नै गर्ने हो,’ अमित भन्छन्, ‘तर, जब ठूलो भोल्युममा कारोबार सुरु हुन्छ, तबमात्रै पैसा कमाउन सुरु हुन्छ ।’

तस्वीर/भिडियो : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?