+
+

वैकल्पिक गठबन्धन बन्न नदिन माधव नेपालको खोजी

मंगलबार साँझ ओलीसहित एमाले नेताहरु राखेर पनि प्रचण्डले आफ्नो अप्ठ्यारो बुझिदिन आग्रह गरेका थिए । ‘गठबन्धनको कुरामा छलफल गर्न सकिनँ, त्यो कमजोरीको जिम्मेवारी म लिन्छु’, प्रचण्डले भनेका थिए ।

सइन्द्र राई सइन्द्र राई
२०८० फागुन २२ गते २२:५८

२२ फागुन, काठमाडौं । गठबन्धन बदल्न सोमबार सबै मन्त्रालयको जिम्मेवारी आफैं लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्राथमिकता नयाँ सहयात्री दलहरुबीच मन्त्रालय भागबण्डा र मन्त्री नियुक्तिमा हुनुपर्ने हो । तर उनको प्राथमिकता नेकपा एकीकृत समाजवादीका नेताहरु फकाउनेमा देखियो ।

मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमै पुगे । एमाले अध्यक्ष ओली माधव नेपालको निवास पुग्नु स्वभाविक दृष्य थिएन ।

किनकी २ भदौ २०७८ मा पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका माधव नेपालविरुद्ध ओली चर्को रुपमा प्रस्तुत हुँदै आएका थिए । एमालेमै हुँदा पनि अन्तरसंघर्षकै कारणले माधव नेपालको निवासमा केपी ओली जाँदैनथे । ‘२०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशन पछि केपी ओली संभवतः पहिलोपटक माधव नेपालको निवास जानुभयो, यसले अहिलेको परिस्थिति आँकलन गर्न सकिन्छ’, एमालेका एक नेता भन्छन् ।

अध्यक्ष नेपालको सचिवालय स्रोत अनुसार, प्रचण्डले फोन गरेर केपी ओली सँगै आउन लागेको जानकारी दिएका थिए । ‘प्रधानमन्त्रीले हामी त्यहाँँ आउँछौ भन्नुभयो, माधव कमरेडले पनि हुन्छ कुरा गरौं भन्नुभयो’ स्रोत भन्छन् ।

एमाले अध्यक्ष ओलीसहित नेताहरु लिएर माधव नेपाललाई भेटेका प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ आफ्नै पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर कोटेश्वर पुगेका थिए । रुघाखोकीका कारणले घरमै आराम गरिरहेका माधव नेपाललाई भेटमा बदलिएको सत्ता गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।

तर संकेत समेत नगरी गठबन्धन फेर्ने निर्णय गरेको भन्दै प्रचण्डप्रति माधव नेपालले एकोहोरो आक्रोश पोखेको एकीकृत समाजवादीका एक नेता बताउँछन् ।

नारायणकाजी श्रेष्ठसहित प्रचण्ड कोटेश्वर पुग्नु अगाडि नै एकीकृत समाजवादीको बैठक बसिसकेको थियो । माधव नेपालकै निवासमा बसेको बैठकले तत्काल कुनै निर्णय नगरी ‘पर्ख र हेर’को नीति लियो । एक वर्षभित्रै दोस्रोपटक एमालेसँग माओवादी केन्द्रले गठबन्धन गर्दा पनि एकीकृत समाजवादीले कुनै ठोस् निर्णय नगर्नुमा प्रधानमन्त्री प्रचण्डकै आग्रहले काम गरेको थियो ।

आइतबार राति एमाले नेताहरुसँग गठबन्धन बदल्ने अन्तिम निर्णय गरे लगत्तै प्रचण्डले अध्यक्ष नेपाल र महासचिव घनश्याम भूसालसँग टेलिफोन सम्वाद गरेका थिए । ‘उहाँले लगातार एउटै कुरा भनिरहनुभएको छ, सँगै जानुपर्छ । तर हाम्रो जवाफ पनि फेरिएको छैन’, एकीकृत समाजवादीका एक नेता भन्छन् ।

मंगलबार साँझ ओलीसहित एमाले नेताहरु राखेर पनि प्रचण्डले आफ्नो अप्ठ्यारो बुझिदिन आग्रह गरेका थिए । ‘गठबन्धनको कुरामा छलफल गर्न सकिनँ, त्यो कमजोरीको जिम्मेवारी म लिन्छु’, प्रचण्डले भनेका थिए ।

अध्यक्ष नेपालको भने उही कुरा थियो, ‘यत्रो घटना मबाट किन लुकाइयो ? यस्तो धोका किन ?’

प्रधानमन्त्री प्रचण्डले भने एमालेसँग सत्ता सहकार्यको कुरा बाहिर जान सक्ने खतरा भएकाले त्यस्तो कमजोरी हुन गएको प्रष्टोक्ति दिएका थिए । तर सररकारमा जाने वातावरण आफूले बनाउने र लामो सहकार्यको निम्ति तयार हुन प्रचण्डले आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओलीले पनि प्रचण्डकै भनाइमा सहमति जनाएको स्रोत बताउँछन् । ‘राजनीतिलाई परिस्थिति अनुसार बुझ्नुपर्छ, मेरो कुरा पनि सहकार्य गरौं भन्ने नै हो’, ओलीले भनेका थिए ।

दुबै नेतासँग झण्डै दुई घण्टा कुराकानी गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले भोलि (बुधबार) ११ बजे पार्टी बैठक राखेर निर्णय लिने जानकारी दिएका छन् ।

नेपाललाई भेटेर निस्किने क्रममा एमाले अध्यक्ष ओलीले कुराकानी सकारात्मक रहेको बताएका छन् । ‘म उहाँको स्वास्थ्य बुझ्न र स्वास्थ लाभको कामना गर्न आएको थिएँ । आइसकेपछि देशको परिस्थिति आदिबारे पनि चर्चा चल्नु स्वभाविक हो’ कुराकानी सकारात्मक भएको भन्दै उनले भने ।

संसदको अंकगणित महत्वपूर्ण

मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् पुनर्गठन रोकेर प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मनाउन हत्ते गरिरहनुमा केही वर्ष यताको राजनीतिक पृष्ठभूमि महत्वपूर्ण रहेको नेताहरु बताउँछन् । तर एमाले अध्यक्ष ओलीलाई माधव नेपालकै निवाससम्म पुर्‍याएर एकीकृत समाजवादीलाई मनाउन प्रधानमन्त्री प्रचण्डले गरिरहेको मिहिनेत भने विगतको सम्बन्धमा मात्रै आधारित देखिँदैन ।

किनकी एकीकृत समाजवादीलाई नयाँ सत्ता समीकरणमा नसमेट्ने हो भने एमाले नेतृत्वमा बनेको चार दलीय गठबन्धन जुनसुकै बेला अल्पमतमा पर्ने देखिन्छ । नयाँ गठबन्धन बनाउने क्रममा माओवादीले यो पटक १० पुस २०७९ मा साथ लिएको राप्रपालाई समावेश गर्न चाहेन । राप्रपालाई गठबन्धनभन्दा बाहिर राखेपछि नयाँ गठबन्धनलाई एकीकृत समाजवादीका साथ चाहिएको छ ।

हुनत सोमबार मात्र ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका चार दलसँग १४३ सिट छ । २७५ सदस्यीय प्रतिनिधिसभाका लागि यो संख्या बहुमत (१३८) भन्दा बढी हो ।

फेरिएको सत्ता गठबन्धनमा सभामुखसहित एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१ र जसपा १२ सिट छ । यो गठबन्धनमा जनमत पार्टी र नाउपा थपिने संभावना छ । यद्यपि ६ सिटको जनमत र ४ सिटको नाउपाले निर्णय गरिसकेको छैन ।

संसद्मा बाँकी रहेको कांग्रेस र राप्रपा संवैधानिक रुपमै प्रतिपक्षी भूमिकामा छ । ८८ सिट सहितको कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । राप्रपासँग १४ सिट छ । त्यो भनेको प्रष्ट १०२ सिट भयो । ४ सिट रहेको लोसपाले पनि तत्काललाई विपक्षी भूमिकामै रहने सम्भावना छ । लोसपा समेत विपक्षीमै जोड्दा १०६ सिट हुन्छ ।

अब अहिलेको गठबन्धनको विकल्पमा बहुमत पुर्‍याउन अपुग ३२ सिट हुन्छ । यस्तो अवस्थामा १० सिटको एकीकृत समाजवादी थपिए अर्को सत्ता समीकरण बनाउन २२ सिट अपुग हुन्छ । ६ सिटको जनमत र ४ सिटको नाउपाले सत्ता पछ्याउन नछोडेकाले त्यो संख्या बदलिन सक्छ । सत्ता निर्माणकै कोर्समा कांग्रेसले स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, योगेन्द्र मण्डल र प्रभु साहलाई पनि सामेल गराउन सक्छन् ।

अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय बदल्दा अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला अल्पमतमा पर्न सक्छ । तर १० सांसद भएको माधव नेपाल अहिलेको गठबन्धनमा थपिए रास्वपाले गठबन्धन छोड्ने निर्णय गर्दा पनि १३४ सांसद बाँकी रहन्छ । त्यसैले बदलिएको सत्ता गठबन्धनको बहुमत जोगाउन पनि माधव नेपाललाई समेटेर मात्रै मन्त्रिपरिषद् भागबण्डा गर्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली समेत देखिन्छन् ।

केन्द्र मात्र होइन, बागमती लगायतका प्रदेशमा पनि सरकार गठनका लागि एकीकत समाजवादी निर्णायक बनेको छ । त्यसैले माओवादी मात्र होइन, एमालेका नेताहरुले पनि वामपन्थीहरु एक ठाउँमा उभिने नारामा एकीकृत समाजवादीलाई गठबन्धनमा समेट्न चाहेको छ । समाजवादीमा भने अलमल देखिन्छ ।

पूर्वप्रधामन्त्री झलनाथ खनालसहितका नेताहरु नयाँ गठबन्धनमा जानुपर्ने मत राख्छन् । तर लगातार साथ दिँदा पनि प्रचण्डले धोका दिने गरेको र भविष्यमा वैकल्पिक सत्ता समीकरण बनाउन सकिने भएकाले हतार गर्न नहुने मत पनि बलियो छ ।

एकीकृत समाजवादीकै एक पदाधिकारी भन्छन्, ‘राजनीति सर्भाइभ गर्न पनि संघर्षमा उत्रनपर्ने हुनसक्छ, सधै चुप लागेर बस्ने भन्ने हुँदैन ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?