
२३ फागुन, काठमाडौं। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निष्पक्षतापूर्वक काम गर्ने बताएका छन् ।
बुधबार पत्रकारहरुसँग भएको भेटमा उनले आफू कुनै पनि दलको सिफारिसबाट महासचिव नभएको बताए । उनलाई पत्रकारहरुले दलको सिफारिसमा महासचिव भएको चर्चा चलेको भन्दै कसरी निष्पक्ष रुपमा काम गर्नुहुन्छ भनी सोधेका थिए ।
जवाफमा उनले आफू दलको सिफारिसमा नआएको जिकिर गरे । ‘म सभामुख र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएको हुँ’ उनले भने ।
आफूले लामो समय सरकारी कर्मचारीका रुपमा बिताएको भन्दै उनले दलको कार्यकर्ता नभएको पनि स्पष्टीकरण दिए । ‘म कुनै पनि दलको क्याडर होइन । हिजो म ब्युरोक्र्याट्सको रुपमा काम गर्थेँ । त्यहीँबाट म आएको हुँ’, महासचिव पाण्डेयले भने ।
संसदको महासचिवको पदमा रहुन्जेल कुनै पनि राजनीतिक दृष्टिकोणका आधारमा काम नगर्ने पनि उनको प्रतिवद्धता छ । उनी भन्छन्, ‘मेरो जहिले पनि सिद्धान्त हो– पदमा रहुन्जेल कुनै राजनीतिक विचार राखेर काम गर्नुहुँदैन । मैले निष्पक्षतापूर्वक काम गर्नुपर्छ भन्ने कुरामा दृढ छु ।’
कर्मचारीले राजनीति गर्न मन लागेमा राजीनामा गर्नुपर्ने आफ्नो मत रहेको पनि पाण्डेयले बताए । ‘मैले काम गर्ने कुरामा कुनै पनि राजनीतिक रङ देखाउँदिन र तपाईंहरु देख्न पाउनुहुन्न’, उनले भने ।
संसद सचिवालयका कर्मचारीहरुप्रति समेत आफूले कुनै विभेद नगर्ने उनको भनाइ छ । ‘मलाई थाहा छ– कर्मचारी कसरी सञ्चालन गर्ने, कर्मचारीको काम के हो बुझेको छु किनभने, म राजनीति गरेर आएको होइन । यसकारण कर्मचारीप्रति गर्ने मेरो व्यवहार निष्पक्ष नै हुन्छ’, महासचिव पाण्डेयले भने ।
प्रतिक्रिया 4