+
+

परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने लोक सेवा आयोगको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १८:४६

२४ फागुन, काठमाडौं । लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगले पदपूर्ति गर्दा लिने विभिन्न परीक्षाको पाठ्यक्रम पुरानो ढर्राको भएको भन्दै आलोचना भइरहेको बेला कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो ।

विहीबार सार्वजनिक १३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, ‘लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने ।’

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले केन्द्र र प्रदेश लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको पाठ्यक्रममा एकरुपता कायम गर्दै आधुनिक समयको माग अनुसारका कर्मचारी छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नसक्ने प्रकृतिको बनाउनुपर्ने आवश्यकता बोध भएका सुर्खेत सम्मेलनबाट उक्त निर्णय गरिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘प्रदेशको आ–आफ्नो अधिकार क्षेत्र हो भन्ने मात्र कुरा नगरेर, आफ्नो विशेषता अनुसार फरक गर्नुपर्ने कुरामा सामान्य फरक पनि गर्ने र मूल रुपमा एकरुपता कायम गर्नुपर्ने ठाउँमा एकरुपता कायम गर्दै समग्र मुलुकलाई ध्यानमा राखेर पाठ्यक्रम बनाउने हो ।’

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी

अहिलेको पाठ्यक्रम नराम्रो नभए पनि त्यो अलि परम्परागत खालको भएकाले त्यसलाई परिमार्जन गरेर अझै राम्रो बनाउन खोजिएको अध्यक्ष रेग्मीको भनाइ छ । ‘हाम्रो पाठ्यक्रम अलि ट्रेडिसनल खालको भयो भन्ने कुराहरु उठेका छन् । त्यसअनुसार हामीले सुधार गर्दै लगेका पनि छौं,’ अध्यक्ष रेग्मीले भने, ‘उम्मेदवारहरु लोक सेवाको परीक्षा पास गरेर त आए तर जनताको सेवा गर्ने प्रकृतिका आए कि आएनन् भन्ने प्रश्न पनि छ । त्यसैले पाठ्यक्रम परिमार्जनको निरन्तरतालाई थप तीव्रता दिँदै जाने हो ।’

खर्च मापदण्डमा पनि एकरुपता

सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २३ र २४ गते आयोजित चौथो सम्मेलनमा लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंसँगै सातै प्रदेशका लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरुको सहभागिता थियो ।

सम्मेलनले लोक सेवा आयोगहरुको परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी खर्च मापदण्डमा एकरुपता कायम गर्ने र समयसापेक्ष बनाउँदै लैजाने लगायतका निर्णय पनि गरेको छ ।

यस वर्षको सम्मेलनको मुख्य थिम लोक सेवा आयोगको पाठ्यक्रमसँग सम्बन्धित थियो । गत वर्षको थिम भने आयोगको संगठन संरचनासँग सम्बन्धित थियो ।

योग्यता, निष्पक्षता र स्वच्छताको मूल्य मान्यता र सिद्धान्त बमोजिम कार्य सम्पादन गर्न प्रदेश लोक सेवा आयोगका कार्यालयहरुमा कम्तिमा ५० जना कर्मचारीसहितको संगठन संरचना आवश्यक पर्ने निष्कर्ष गत वर्षको सम्मेलनले निकालेको थियो । यस वर्षको सम्मेलनले गत वर्षको सम्मेलनबाट प्रस्तावित त्यो संगठन संरचनालाई कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

सुर्खेत सम्मेलनले लोक सेवा आयोगबाट सम्पादन गरिने कार्यहरुमा कार्यगत सम्बन्ध कायम गर्दै प्रभावकारिता अभिवृद्धि गर्न असल अभ्यासहरुको आदान प्रदान गर्ने, संघीय कानुन बमोजिम अवलम्बन गरिएका सिद्धान्त र मापदण्डबमोजिम कार्य सम्पादनको सुनिश्चितताका लागि सूचकहरु तयार गरी सो बमोजिम स्वमूल्यांकन एवम् आवश्यकता अनुसार समकक्षी समीक्षा गर्ने निर्णय समेत गरेको छ ।

साथै लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगको परीक्षामा अनियमितता गरी कारबाहीमा परेका उम्मेदवारहरुको अभिलेखीकरण गर्न आवश्यकताअनुसार प्रणाली विकास गरी कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

हेर्नुहोस् लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णय र सुर्खेत घोषणापत्र 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?