+
+

प्रधानमन्त्रीप्रति विनम्र तर निर्मम कांग्रेस

‘यो मेरो दुर्भाग्य हो कि देशको, यो देशको जनप्रतिनिधि भएको छु । यो देशको प्रधानमन्त्रीले लात्ताले हान्न सिकाउँदै हुनुहुन्छ’, लेखक प्रधानमन्त्रीप्रति खनिए, ‘यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’

लिलु डुम्रे लिलु डुम्रे
२०८० फागुन २४ गते २०:५७

२४ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि नम्रतापूर्वक, तर निर्मम प्रश्न उठाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेसलाई छाडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । १४ फागुनदेखि संसद छल्दै आएका प्रधानमन्त्रीले नयाँ गठबन्धन बनेपछि भने बिहीबार सम्बोधन गरे । त्यसक्रममा उनले गठबन्धन बदल्नुको कारण भन्दै स्पष्टीकरण दिए ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले बिद्रोह गर्नुका साथै राष्ट्रिय सभामा अन्तर्घात गरेको, महासमिति बैठकमा बिना सन्दर्भ गठबन्धनको निन्दा गरेको र जनयुद्धको दानवीकरण गरेको प्रधानमन्त्रीको भनाइ छ ।

परिर्वतन, सुशासन र सम्मृद्धिको आफ्नो तीव्र आकांक्षामा कांग्रेसका मन्त्रीहरुले न्याय नगरेको भन्दै उनले भने, ‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि जोखिम उठाएर भएपनि राजनीतिक प्रतिवद्धताअनुसार राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो रोजेँ ।’


तर प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरेको निष्कर्षमा रहेको कांग्रेसले उनको प्रतिवाद गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ गठबन्धन बनाएर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको संसदीय दलको निष्कर्ष सुनाए ।

संविधान, संघीय लोकतन्त्रको रक्षा र राजनीतिलाई स्थिरताका गठबन्धन गरेको र त्यसअनुसार नै जनतामा गएको भन्दै उनले अहिले त्यही गठबन्धनका प्रधानमन्त्रीले नयाँ गठबन्धन बदल्नु जनमतकै घोर अपमान भएको बताए । राजनीतिक बेइमान भनेकोमा प्रधानमन्त्रीको असन्तुष्टि सुनेका लेखकले रोष्टममा उभनिएर भने, ‘इमान नभएकाले बेइमानी भनिएकै हो ।’

८ बुँदेको चिरफार

नयाँ समीकरण बनाएका चार दलका अध्यक्षहरुले २१ फागुनमा ८ बुँदे सहमति गरेका थिए । त्यही सहमतिलाई टेकेर कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमाथि प्रश्न मात्र उठाएनन्, प्रधानमन्त्री असक्षम भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले समेत हस्ताक्षर गरेको सहमतिको पहिलो बुँदामा ‘जनचाहना अनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन’ गठबन्धन गरेको उल्लेख छ । सुशासन, विकास, सामाजिक न्यायका लागि भनि नयाँ गठबन्धन बनाइएको भन्दै राखिएको शब्दावलीप्रति लेखकले कडा टिप्पणी गरे ।

‘प्रधानमन्त्री भएको १५ महिना लाग्दैछ । १५ महिनापछि विकास पनि भएन, सुशासन भएन । सामाजिक न्याय पनि भएन भनेर आफैं भनिरहनुभएको छ’, उनले भने, ‘त्यसो भए १५ महिना तपाईंले के गर्नुभयो भनेर जनताले सोध्न पाउँछन् होला नि ?’

फेरि त्यही प्रधानमन्त्रीले केहीबेर अगाडि मात्र रोष्ट्रममा उभिएर सुशासन, विकासमा यो यो काम गरेँ भनेको स्मरण गर्दै नेता लेखकले कुन सही हो भनेर प्रश्न गरे ।

सहमतिको चौथो बुँदामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने उल्लेख छ ।

यही बुँदामा लेखकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘संक्रमणकालीन विधेयक रोक्ने को हो ? कांग्रेसले रोकेको हो ?’ उनले कांग्रेसका कारण संक्रमणकालीन न्यायको काम पूरा नभएको भन्नु गलत भयो भनेर प्रधानमन्त्रीले स्वीकार नगर्दासम्म यो विधेयकमा छलफल गर्न कांग्रेस तयार नभए के हुन्छ भनेर समेत प्रश्न गरे ।

संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ८ बुँदे सहमतिको अर्को बुँदामा पनि उनले यस्तै प्रश्न गरे । ‘१५ महिनामा संघीयता कार्यान्वयन भएन । सबै तहका सरकार प्रभावकारी भएन । अनि के गर्नुभयो त ?’ लेखकले प्रधानमन्त्रीलाई सोधे ।

नयाँ गठबन्धनका चार दलले जारी गरेको ८ बुँदे स्वयं प्रधानमन्त्री अक्षम भएको प्रमाणपत्र भएको उनले बताए । ‘यति भनिसकेपछि फलाना मन्त्रीले काम गर्न दिएन, फलाना मन्त्रीले मलाई राम्रोसँग नमस्कार गरेन, फलाना पार्टीले दस्तावेजमा फलानो कुरा लेखेको हुनाले मैले गठबन्धन छाड्नुपर्‍यो भन्ने ठाउँ छ ? उनले प्रश्न गरे, ‘गर्न नसकेको जिम्मा कसले लिने ? मन्त्रीले ?’

मन्त्रीहरु आफ्नो मन्त्रालयको कामप्रति र प्रधानमन्त्री समग्र सरकारको कामप्रति जवाफदेही हुने भन्दै नेता लेखकले अमुक मन्त्रीले काम गर्न दिएन भनेर भाग्न नपाइने बताए ।

साहब जाफरीको उर्दु शेर सुनाउँदै उनले अगाडि भने, ‘यदि १४ महिनामा काम भएको थिएन, गठबन्धन ढाल्नुपर्थ्यो भने जाँदा त सबै जानुपर्थ्यो नि ! अरु सबै बेठीक, म मात्र ठीक भन्ने ठाउँमा पुग्दा जनताले कसरी मूल्यांकन गर्लान् ?’

यसो भन्दा कांग्रेसले लोभ गर्‍यो कि भन्ने पर्ला भन्दै उनले थपे, ‘कांग्रेसलाई लोभ छैन, तपाईंले दिनुहुन्न भन्ने बुझिसक्या छौं । बगलमा भएको पार्टनरलाई दिनुस् न त ।’

एक वर्षमा तीन पटक गठबन्धन फेरेको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड यही गतिमा हिँडे यो प्रतिनिधिसभाको कार्यकालमा झण्डै १३ पटक गठबन्धन फेरिने सुनाए । गठबन्धन फेरिरहने, प्रधानमन्त्री भइरहने अभिष्ट प्रचण्डमा देखिएको भन्दै उनले प्रश्न गरे, ‘५ वर्षमा १२/१३ पटक गठबन्धन फेर्ने, आफूचाहिँ रहिरहने ?’

गठबन्धन फेरिरहने प्रचण्डले आफू बाँचुञ्जेल उथलपुथल गर्छु भनेको भन्दै नेता लेखकले कटाक्ष गरे । ‘हजुर सय वर्ष जीवित रहनु होला, मेरो पनि उमेर हजुरलाई लागोस् । म भन्दा बढी देशलाई चाहिने नेता तपाईं हो’ उनले भने, ‘जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ, सबै मान्छेले सबै कुरा बुझिरहेका छन् । अब यो उथलपुथल कतिदिन रहन्छ, इतिहासले बताउँला ।’

प्रचण्डले केही दिनअघि प्रतिक्रियावादीले घेराबन्दी गरे लात्ताले हानेर हिँड्छु भन्ने अभिव्यक्ति दिएकामा पनि कांग्रेस प्रमुख सचेतक लेखकले आपत्ति जनाए । प्रधानमन्त्रीले कसलाई र किन लात्ताले हान्ने भन्दै लेखकले जवाफ मागे ।

‘यो मेरो दुर्भाग्य हो कि देशको, यो देशको जनप्रतिनिधि भएको छु । यो देशको प्रधानमन्त्रीले लात्ताले हान्न सिकाउँदै हुनुहुन्छ’, लेखक प्रधानमन्त्रीप्रति खनिए, ‘यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’

हाम्रो प्रतिवद्धता कसैको भन्दा कम छैन

प्रधानमन्त्रीले गठबन्धन तोड्नुको कारणका रुपमा कांग्रेस महासमिति बैठकमा स्टल नै राखेर हिन्दु धर्मका पक्षमा हस्ताक्षर संकलन गर्नुलाई पनि उल्लेख गरेका थिए ।

संविधानप्रति कांग्रेसको प्रतिवद्धतामा शंका गरेकामा प्रमुख सचेतक लेखकले कडा प्रतिवाद गरे । कांग्रेस बहुलवादमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको भन्दै उनले भने, ‘जहाँसम्म प्रधानमन्त्रीले हिन्दु धर्मको कुरा गर्नुभएको छ, यो कांग्रेसको आधिकारिक एजेण्डा होइन । महासमितिमा छलफल भएर पारित भएको छैन ।’

‘एक पटक सोच्नुस्, जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए भने तपाईं कहाँ पुग्नु होला ?’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।

संविधानप्रति कांग्रेस प्रतिवद्ध रहेको उनले बताए । कांग्रेसकै नेतृत्वमा संविधान बनेको भन्दै उनले भने, ‘हामी कसैको भन्दा कम प्रतिवद्धता लिएर यहाँ बसेका छैनौं । सबभन्दा ज्यादा इमान्दार प्रतिवद्धता छ, हामीले संविधानमा के लेखेका छौं भन्ने पनि थाहा छ, त्यसलाई कसरी पूरा गर्नुपर्छ भन्ने पनि थाहा छ ।’

पार्टीमा निर्णय नै नभएको विषयलाई लिएर धारणा बनाउनु कांग्रेसको होइन, प्रधानमन्त्रीको कमजोरी भएको उनले बताए । जनयुद्धबारे कांग्रेसले आफ्नो दस्तावेजमा लेखेको विषयको बचाउ गर्दै नेता लेखकले भने, ‘पार्टीहरुले आफ्नो दस्तावेजमा लेख्छन् । म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु, तपाईंको पार्टीले हिजोको दिनमा कांग्रेसलाई लेखेको शब्द एकपटक स्मरण गरिदिनु हुन्छ ?’

कांग्रेसलाई प्रधान सत्रु, दुष्मन भन्दा पनि कांग्रेसले शान्ति प्रक्रिया अगाडि बढाएको र संसदीय व्यवस्थालाई विध्वंश गर्छौं भनेर लेख्दा संसदमा ल्याउन भूमिका खेलेको स्मरण गरे ।

एमालेले दस्तावेजमा ‘पार्टी कब्जा गर्ने र विदेशी शक्तिहरुको इच्छा पूरा गर्ने वचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड’ भनेर लेखेको आफूले भेटेको भन्दै उनले प्रश्न गरे, ‘लेख्दा रहेछन् नि त पार्टीहरुले, यसलाई कसरी लिनुभएको छ ?’

आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भनेर भएको छलफल पनि ५ वर्ष गठबन्धनप्रति प्रतिवद्ध रहन्छौं भनेर प्रष्ट निर्णय गरेको भन्दै नेता लेखकले भने, ‘निर्वाचनपूर्व गठबन्धन गर्ने कि नगर्ने भनेर कांग्रेसले छलफल गर्न पाउँदैन ?’

प्रचण्डले अब धोका दिन बाँकी कोही नरहेको निष्कर्षमा आफू पुगेको सुनाएका कांग्रेस प्रमुख सचेतक लेखकले चेतावनीको भाषामा भने, ‘एक पटक सोच्नुस्, जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए भने तपाईं कहाँ पुग्नु होला ?’

सरकारसँग अपेक्षा

कांग्रेस प्रमुख सचेतक लेखकले कांग्रेस समेत संलग्न सरकारले मिटरब्याज, शिक्षा विधेयक, भूमि सम्बन्धी काम अगाडि बढाएको भन्दै निरन्तरताको अपेक्षा राखे । इजरायलमा फसेका नेपालीहरुलाई परराष्ट्रमन्त्री आफैं गएर उद्दार गरेको भन्दै उनले रुसमा फसेका नेपालीहरुलाई त्यसरी नै उद्दार गर्न आग्रह गरे ।

कुनै मन्त्रीमाथि अनुसन्धान प्रारम्भ भयो वा कुनै ठाउँबाट प्रश्न उठ्यो भने राजीनामा दिनुपर्छ भनेर संसद अवरुद्ध भएको स्मरण गरेका उनले अगाडि भने, ‘अब मेरो आशा के छ भने अब नियुक्त भएर आउनुभएका मन्त्रीहरु कुनै पनि ठाउँबाट कुनै किसिमको अनुसन्धानको दायराभित्र परेको हुनुहोला ।’

‘यदि परेका छन् भने सदन के हुन्छ भन्ने जवाफ पनि प्रधानमन्त्रीसँग होला भन्ने आश गरेको छु’, राजनीतिलाई निर्मम विश्लेषण गर्नुपर्छ भन्दै लेखकले सम्बोधन टुंग्याए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?