+
+

फेरियो परिवेश, फेरिएन लैंगिक विभेद

विभिन्न समयमा भएका विभिन्न आन्दोलनले समाजमा महिलाको अवस्थामा निकै सकारात्मक परिवर्तन आएका छन्। धेरै अधिकारहरू स्थापित पनि भएका छन् र समान हकका लागि कानुन पनि बनेका छन् अब यी कानुन व्यवहारमा लागू गर्नुपर्छ। महिलाको श्रमलाई सम्मान गर्ने संस्कृति र कानुनको विकासका लागि छलफल जरुरी भएको छ।

चण्डिका तिमल्सिना चण्डिका तिमल्सिना
२०८० फागुन २५ गते १५:४४

मार्च ८ लाई संसारभरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाइन्छ। विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता र समतामूलक समाज निर्माणको लक्ष्य हासिल गर्न यो दिवसले हामी सबैलाई झक्झक्याउँछ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि हुने श्रमशोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो। यसै सन्दर्भमा नेपालमा महिला आन्दोलनको इतिहासका उपलब्धि र नयाँ चुनौतीबारे चर्चा गर्नु वाञ्छनीय हुन्छ।

नेपालमा महिला आन्दोलनको सुरुवात

महिला आन्दोलनको सुरुवातको कुरा गर्दै गर्दा बिर्सनै नहुने नाम हो योगमाया न्यौपाने। १९२४ सालमा भोजपुरमा जन्मिनुभएकी योगमाया न्यौपाने आफैं बालविवाह जस्तो कुरीतिको सिकार पनि हुनुभएको थियो। योगमायाले त्यतिखेरको समाजमा विद्यमान सती प्रथा, बालविवाह, अनमेल विवाह, जातीय विभेद, दास प्रथा जस्ता कुरीति र अन्यायको विरुद्ध आवाज उठाउनुभयो। जहानियाँ राणाशासनमा सामाजिक न्यायको निमित्त आवाज उठाउन त्यति सजिलो थिएन। तर, उहाँले आवाज उठाइरहनुभयो र तत्कालीन सरकारले सती प्रथालाई रोक लगाए पनि बालविवाह, छुवाछूत प्रथा चलिरहेको थियो।

चण्डिका तिमल्सिना

योगमायाले सती प्रथाको विरोध मात्र हैन, विधवाले पुनर्विवाह गर्न पाउनुपर्छ, महिलाले वेद पढ्न पाउनुपर्छ, बालविवाह अन्त्य हुनुपर्छ जस्ता माग राखेर तत्कालीन सरकारलाई खबरदारी गरिरहनुभयो। योगमायाले चालेको सामाजिक न्यायको आन्दोलनमा सरकारले ठोस कदम नचालेपछि तत्कालीन सरकारलाई चुनौती दिंदै १९९८ साल असार २२ गरे हरिशयनी एकादशीका दिन आफ्ना ६६ जना अनुयायी सहित जल समाधि लिनुभयो। तत्कालीन सरकारले योगमाया सहितको सामाजिक न्यायको आन्दोलनलाई कमजोर ठाने पनि योगमायाकै नेतृत्वबाट नेपाली समाजमा सामाजिक न्यायको आन्दोलनको  बीजारोपण भयो र योगमायाले सुरुवात गर्नुभएको सामाजिक न्यायको आन्दोलन आज पनि जारी छ।

त्यसैगरी समान कामको समान ज्याला र बराबर अधिकार जस्ता माग राखी २००३ सालमा विराटनगरका महिला मजदुरले गरेको आन्दोलन महत्त्वपूर्ण आन्दोलन थियो। त्यसपश्चात् २००४ सालमा मङ्गलादेवी, सहाना प्रधान लगायत महिलाहरुले नेपाल महिला सङ्घ स्थापना गरेर त्यस मार्फत राणाशासन, बालविवाह, बहुविवाह जस्ता विभेद र असमानताको विरुद्ध लडिरहे। महिला आन्दोलनकै फलस्वरूप २००४ सालको वैधानिक कानुनले महिलालाई निर्वाचनमा मतदान गर्न र उम्मेदवारी दिन पाउने अधिकार प्रदान गर्‍यो। त्यसपश्चात् पनि नेपालमा विभिन्न समयमा भएका राजनीतिक र सामाजिक न्यायको आन्दोलनमा महिलाको भूमिका अग्रणी स्थानमा रह्यो।

सदियौंदेखि महिलामाथि हुँदै आएको विभेद र अत्याचार विरुद्ध अघिल्लो पुस्ताले जुन हिम्मतका साथ लड्यो त्यो निकै गौरवको विषय हो। तर सामाजिक न्यायको आन्दोलन त्यतिमै सकिएको छैन। आज परिवेश भिन्न छ, हिंसाका स्वरूप बदलिएका छन् तर हिंसा र विभेद अझै पनि पूर्ण रूपमा निर्मूल भएको छैन र यसको लागि आजको पुस्ताले अझ धेरै लड्न बाँकी नै छ।

उस्तै छ महिलामाथिको हिंसा चक्र

महिला आन्दोलनको परिणामस्वरूप आजको समाजमा महिलाको अवस्थामा सकारात्मक परिवर्तन पनि आएको छ। विभिन्न आन्दोलन र अभियानले धेरै अधिकारहरू स्थापित पनि भएका छन्। तर, हिंसाको अन्त्य भएको छैन। हिंसाले स्वरूप फेरेको छ। हिजोको समाजमा महिलामाथिको हिंसा बाहिर आउनै दिइँदैनथ्यो। परिवार, समाज र इज्जतको डरले पीडितहरू मुद्दा बोकेर प्रहरीसम्म पुग्न डराउँथे। तर, आज त्यो अवस्था छैन बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा विरुद्ध अहिले खुल्ला रूपमा बहस हुन्छ र यी मुद्दामा राज्य थोरै गम्भीर पनि भएको देखिन्छ। कडा कानुन पनि बनेका छन् तर कानुनी प्रक्रिया र न्यायको उपचार जटिल र लामो हुने अनि पीडक बलियो र सार्वजनिक पद धारण गरेको व्यक्ति भएको अवस्थामा पीडितले न्याय पाउन हम्मे–हम्मे परेको देखिन्छ।

पीडितलाई नै अपराधीकरण गर्ने र पीडितको इज्जत माथि नै प्रश्न उठाउने कार्यले गर्दा न्याय त्यति सजिलै मिलेको देखिंदैन। दक्षिणएशियाकै चर्चित महिला अधिकारकर्मी तथा लेखक कमला भसिनले भन्नुभएको थियो– पितृसत्ताले महिलाको इज्जत उसको योनिमा हुन्छ भनेर परिभाषित गरिदिएको छ जुन गलत हो। जस्तै कुनै महिला माथि यौनजन्य हिंसा भयो भने यो समाजले महिलाको इज्जत गएको मान्छ, बलात्कारीको इज्जत गएको मान्दैन। खासमा इज्जत जानुपर्ने त अपराधीको हो तर किन पीडितको इज्जत माथि प्रश्न उठाइन्छ? किन बलात्कारीको इज्जत जाँदैन? अनि परिवारको इज्जतका खातिर अपराधका घटना प्रहरीसमक्ष पुग्न नसकेका र पुगेका घटनालाई पनि पीडितलाई दबाब दिएर घटना सामसुम पार्न मिलाउन खोजेका समाचार पनि आइरहेका हुन्छन्। यो विषयमा हाम्रो समाज सिरियस छैन। इज्जतको ठेक्का कहिलेसम्म महिलाले आफ्नो काँधमा बोकिदिनुपर्ने हो?

यो लेख लेख्दै गर्दा चितवनको एक स्कुलले चलाएको छात्रावासमा बस्ने १४ वर्षीया बालिकाको दुःखद् घटना बाहिरिएको छ। मृतक बालिकाले न्याय पाउनेछिन् भन्ने आशा छ। तर हरेक घटनामा हामी ढुक्कले न्याय पाइन्छ भन्नेमा विश्वस्त हुँदैनौं। छोरीहरू कहाँ सुरक्षित छन् भनेर म आफैंसँग प्रश्न गरिरहेकी छु। आमाको पाठेघरदेखि परिवारसम्म, विद्यालय, कार्यस्थलदेखि सार्वजनिक स्थलसम्म कहीं पनि छोरी सुरक्षित छैनन्। र यो असुरक्षाको मूल कारण हाम्रै समाज हो।

ढोंगी र दोगलापनको चरम सीमा पार गरेको यो समाजले बलात्कार हुनु भनेको घिसारेर लछारपछार पारेर जबरजस्ती गरेर हत्या गर्नु हो भन्ने बुझ्छ। यदि कोही बलात्कार पीडित जीवित छन् र उनीहरू आफ्नो न्यायको निमित्त आवाज उठाइरहेका छन् भने उनीहरूलाई अनेक लाञ्छना लगाएर बाँच्न गाह्रो पारिन्छ यो समाजमा। अझ पीडक पपुलर छ, सार्वजनिक पद धारण गरेको व्यक्ति छ भने त यो समाजले पीडकलाई फूलमालाले स्वागत गर्छ र पीडितलाई मर्न विवश गराउँछ। यो समाजको दोगलापन विरुद्ध कहिलेकाहीं धेरै आक्रोशले मन पिरोलिन्छ। योनी सहितको शरीर हुनु नै असुरक्षाको कारण हो भन्ने पनि लाग्छ तर होइन। महिलामाथिको जति पनि हिंसा छन् ती सबै हिंसाको एउटै कारण पितृसत्तात्मक नजर सहितको हिंसात्मक चेतना नै हो।

यो समाजमा अझ अर्को एउटा के गलत भ्रम छ भने रातमा घरबाहिर निस्केकाले हिंसा हुन्छ। कतिपय मानिस महिलाले छोटो लुगा लगाउनुलाई बलात्कारको कारण मान्छ। यी सबै बहाना बलात्कारको मानसिकतालाई मलजल गर्ने प्रयास मात्रै हुन्। यहाँ नाबालकमाथि बलात्कार भएको छ अनि छोटा कपडाको लजिक कसरी म्याच गर्छ? घरभित्रै परिवार र आफन्तबाट बलात्कृत भएका छन् अनि रातमा घरबाहिर निस्किनुहुन्न भन्ने लजिकले कसरी काम गर्छ?

अझ एक समयमा बलात्कार विरुद्ध आत्मरक्षाको तालिम जस्ता हलुका विषय पनि चर्चामा आएका थिए। के महिलाहरू आत्मरक्षा गर्न नसकेर मात्र बलात्कृत भएका हुन् र? ८/९ वर्षका बालिका बलात्कृत भएका छन् ७०/८० वर्षका वृद्ध बलात्कृत भएका छन् अनि उनीहरूलाई कस्तो आत्मरक्षाको तालिम दिने? आत्मरक्षाको तालिमको लजिक कस्तो हो, पुरुषहरूलाई हिंसा गर्ने छुट छ उनीहरूले जुनसुकै बेला तिमी छोरीहरूमाथि हमला गर्न सक्छन् त्यही भएर तिमी आत्मरक्षाको लागि तयार हुनुपर्छ भन्न खोजिएको हो कि के हो! जे भएपनि आत्मरक्षाको तालिमले बलात्कार रोक्छ भन्नु भ्रम मात्रै हो।

संरचना नै समस्या

महिला हिंसाको प्रमुख कारक भनेको हिंसात्मक सोच सहितको समाज र सामाजिक संरचना हो। जबसम्म लैङ्गिकताको जगमा विभेद कायम रहन्छ तबसम्म हिंसा भइरहन्छ। जबसम्म महिला माथिको हिंसालाई इज्जतसँग जोडेर हेरिन्छ तबसम्म हिंसा विरुद्ध आवाज उठाउन कठिन हुन्छ नै। त्यसैले हिंसालाई कम गर्न पहिले त हामीले आफ्नो सोचाइमा परिवर्तन गर्न जरुरी छ। महिलालाई हेरिने नजरिया परिवर्तन गर्न जरुरी छ। अपराध पीडितलाई कानुनी उपचारमा राज्यद्वारा सहयोग र पीडितलाई समाजमा पुनर्स्थापनाको लागि सामाजिक सहयोगको आवश्यकता हुन्छ। बलात्कार भएमा पीडितको होइन अपराधीको इज्जत जान्छ र जानुपर्छ भनेर बुझ्न जरुरी छ।

रोजगारी र उद्यममा महिलाको अवस्था

रोजगारीको विषयमा महिलाहरूको अवस्था सुधारोन्मुख नै छ। अझै पनि सन्तोषजनक अवस्था भने छैन किनकि धेरैजसो रोचक र आकर्षक पेशामा महिलाहरूको स्थान अझै पनि कम छ। महिला सेक्रेटरी राख्न र रिसेप्सनका लागि खोजिन्छन् तर मेनेजिङ डाइरेक्टरमा आउन लागेको महिलामाथि विश्वास गरिहालिंदैन। नर्सिङ पेशामा धेरै महिला छन् तर डाक्टर महिला कमै छन्। नर्सिङ पेशामा मिहिनेत धेरै छ तर पारिश्रमिक कम।

जनसङ्ख्याको आधारमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी भएपनि तुलनात्मक रूपमा उत्कृष्ट पदमा महिलाको सङ्ख्या हुनुपर्ने भन्दा कम नै छ। अझ उद्यमशीलतामा त महिलाको पहुँच निकै नै कम छ। उद्यमशीलताको लागि प्रमुख कडी भनेको पूँजी हो जुन निर्माणको लागि स्रोत–साधनको आवश्यकता पर्छ। स्रोत–साधनको कुरा गर्नुपर्दा पुरुषहरूको तुलनामा महिलासँग पूँजी निर्माणको स्रोतहरू कम छन्। कानुनले पैतृक सम्पत्तिमा समान अधिकार भने पनि व्यावहारिक रूपमा यो लागू भएको छैन। अहिले पनि समाजले छोरालाई मात्र पैतृक सम्पत्तिको हकदार मान्छ र विवाहपश्चात् श्रीमानको सम्पत्तिमा महिलाको हक हुने भनिए तापनि महिलाको नाउँमा घरजग्गा हुने कमै छन्।

आफ्नै नाउँमा घरजग्गा भएका महिलाहरू पनि स्वनिर्णयको अधिकारबाट परै छन्। श्रीमान् वा परिवारको साथ नभएकै कारण उद्यमी बन्ने सपना पूरा नभएका पनि छन्। हुनत देशभरिका उद्योगी व्यवसायी सङ्घको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा भर्खरैसम्म भवानी राणा हुनुहुन्थ्यो। उहाँ जस्तै उद्यममा सफल भएका अरू धेरै महिला पनि छन् तर ती सबै औंलामा गन्न सकिने सङ्ख्यामा मात्रै छन्। र उद्यमशीलतामा महिलाको आकर्षणलाई वृद्धि गर्नको लागि सहज रूपमा कर्जा सुविधा, अनुदान र सहुलियत जस्ता विषयमा महिलाको हकमा अलि सहज व्यवस्था गरिनुपर्छ जस्तो लाग्छ मलाई।

राजनीतिक नेतृत्वमै पुग्नुपर्छ महिला !

राजनीतिमा महिलाको सहभागिता र नेतृत्वको इतिहास हेर्दा अहिलेको समयमा महिला सहभागिता र नेतृत्वको अवस्था सन्तोषजनक होइन। इतिहासमा सँगै राजनीति सुरु गरेका सँगै लडेका महिला र पुरुषमा पुरुषहरू नीतिनिर्माण तहमा छन् तर अझै पनि महिलाको पहुँच कमै छ। कानुनले राजनीतिक दलमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको भएतापनि राजनीतिक दलमा महिला सहभागिता सङ्ख्या पुर्‍याउने खेलमै सीमित छ। महिलालाई पार्टी प्रमुखको नेतृत्व दिन हिचकिचाउने र ‘उप’ मै रमाउने प्रवृत्ति दुवै ठिक छैनन्।

अहिलेको समयमा राजनीतिमा महिला सहभागिता मात्र हैन महिलाको हस्तक्षेपकारी भूमिकाको जरुरी छ। हुनत राजनीतिमा धेरैजसो महिलाले पूर्णकालीन रूपमा समय दिनसकेका छैनन् र समय दिन नसक्नुमा महिलाका विभिन्न कठिनाइ छन्। घरपरिवार, बालबच्चाको जिम्मेवारी लगायत अनेक विषय छन् जसले महिलालाई पुरुषहरूलाई जस्तो सहज वातावरण दिएका छैनन्। तर, पनि अब महिलाको हस्तक्षेपकारी भूमिका जरुरी छ। पछिल्लो समयमा नयाँ राजनीतिक दलमा धेरैजसो सम्भावना बोकेका महिला नेतृहरू आउनुभएको छ, जुन सकारात्मक छ। उहाँहरूलाई नीतिनिर्माण तहमै देख्न पाइन्छ भन्ने आशा पनि गरेकी छु।

महिलालाई घरभित्रै नरोकौं

रोजगारी, उद्यमशीलता र राजनीतिमा महिलाको पहुँचलाई रोक्ने निकै धेरै कुराहरू छन्। ती मध्ये एक हो महिलालाई भान्सामै परिवारको हेरचाहमै सीमित गर्न खोज्ने रणनीति। मातृत्व, परिवारको हेरचाह जस्ता विषयमा महिलालाई महान्/देवीको उपमा दिई–दिईकन उनीहरूको ऊर्जाशील समय र श्रमको शोषण गरिएको हुन्छ। मातृत्व आफैंमा गलत कुरा होइन। महिलालाई प्रकृतिले प्रजननको अभिभारा दिएको छ जसको कारण सन्तान जन्माउने दायित्व महिलाकै हो। तर, सन्तान हुर्काउने दायित्व पनि नितान्त महिलाको मात्र कसरी भयो? अनि मातृत्व र सन्तान हुर्काउने विषयलाई हाम्रो समाजले यति सामान्यीकरण गरेको छ कि यो त कुनै ठूलो कामै होइन। यो त आफैं हुने कुरा हो जस्तो गरिन्छ।

तर समाजले सामान्य भनेको विषय त्यति सजिलो र सामान्य भने होइन। त्यही काम पुरुषले गर्न पर्‍यो भने ओहो कति महान् श्रीमान्! बच्चाको हेरचाह गर्ने, भान्साको काममा सघाउने, श्रीमतीको ख्याल राख्ने भनेर तारिफ गर्न थालिन्छ। तर महिलाले सदियौंदेखि गर्दै आएको त्यही कामलाई अवमूल्यन गरिएको छ। श्रीमानले आर्थिक जिम्मेवारी आफ्नो काँधमा लिएको समाजले देख्छ तर श्रीमतीले घर व्यवस्थापन गरेको, बच्चा हुर्काएको विषयलाई समाजले देख्दैन। देखेर पनि अवमूल्यन गर्छ र अर्कोतिर घर सँगसँगै जागिर पनि म्यानेज गरिरहेका महिलाका दुःखको त कुरा गरिसाध्य छैन। श्रीमान् सँगसँगै जागिरबाट आएर श्रीमतीहरू बच्चाको हेरचाह र भान्सामा छिर्छन् अनि श्रीमानहरु टिभी, पत्रपत्रिका अथवा आरामतिर लाग्छन्।

यसरी असमानताको जगमा उभिएको परिवार संस्थालाई समान बनाउन र महिलालाई पुरुष सरह स्वतन्त्रता प्रदान गर्नको लागि आर्थिक जिम्मेवारीमा महिलाहरू अघि सरे जस्तै भान्सा र बच्चा रेखदेखको जिम्मामा पुरुषहरू अघि सर्नुपर्छ। जो घर र बच्चा सम्हालेर बसेका आमा दिदीबहिनी हुनुहुन्छ उहाँहरूको श्रमको र समयको मूल्याङ्कन गरिनुपर्छ। महिलालाई हाउस वाइफ हैन हाउस मेनेजरको रूपमा हेरिनुपर्छ।

अन्त्यमा, विभिन्न समयमा भएका विभिन्न आन्दोलनले समाजमा महिलाको अवस्थामा निकै सकारात्मक परिवर्तन आएका छन्। धेरै अधिकारहरू स्थापित पनि भएका छन् र समान हकका लागि कानुन पनि बनेका छन् अब यी कानुन व्यवहारमा लागू गर्नुपर्छ। महिलाको श्रमलाई सम्मान गर्ने संस्कृति र कानुनको विकासका लागि छलफल जरुरी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?