+
+

बच्चालाई तँ र तिमी पनि सिकाऔं

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०८० फागुन २६ गते १९:०३

एउटा निजी स्कुलमा एक कार्यक्रममा मलाई स्वास्थ्यसम्बन्धी छलफल गर्न बोलाइएको थियो । स्कुल जाँदा शिक्षकले विद्यार्थीलाई भनेको सुनेँ, ‘हजुरले के भनिबक्सेको, भनिस्योस् न ।’

त्यो वाक्यांश सुनेपछि मैले ठानेँ, शिक्षकले विद्यार्थीसँग जिस्केको होला अथवा विद्यार्थीले केही गल्ती गरेपछि रिसाएर त्यसरी ‘भनिस्योस् न’ भनेको होला । तर पछि थाहा भयो कि सबै शिक्षकले विद्यार्थीसँग त्यसैगरी बोल्दा रहेछन् । मैले उनीहरुसँग तपाईंहरुले किन विद्यार्थीलाई तपाईं, हजुर भनेको भनेर सोध्दा उनीहरुले जवाफ दिए, ‘हामीलाई आजकल त्यसैगरी बोल्नू भनिएको छ ।’

यस्तो निर्देशन कसले दियो भन्ने जिज्ञासा राख्दा उनीहरुले पाठ्यपुस्तक र तालिमहरुको उदाहरण दिए । पाठ्यपुस्तकमा प्रश्नको उत्तर दिनुहोस्, खाली ठाउँ भर्नुहोस् भनेर लेखिएको छ । अनि तालिम गर्दा पनि विद्यार्थीहरुलाई तपाईं भन्नुहोस् भनेर सिकाइन्छ भन्ने उनीहरुको कुरा थियो ।

त्यो निजी स्कुल थियो त्यसैले विद्यार्थीलाई बढी आदर गरेको होला भन्ठानेँ ।पछि पहाडी जिल्लाका केही सरकारी स्कुलमा जाँदा पनि सानासाना विद्यार्थीलाई पनि शिक्षकहरूले हजुर/तपाईंसम्बोधन गरेको सुनेपछि त उदेक नै लाग्यो । हुँदा हुँदा कति बाबुआमाले समेत छोराछोरीलाई हजुर सम्बोधन गरेको सुनेँ ।

साना नानीलाई, विद्यार्थीलाई तपाई भन्ने चलन कसरी आयो होला भनेर मैले धेरै शिक्षकहरुसँग सोधे । केही सरकारी स्कुलका शिक्षकले भने, ‘हामीलाई तालिम दिदा नै विद्यार्थीलाई आदर गरेर बोल्नुपर्छ भनेर सिकाइन्छ । अनि विद्यार्थीले पनि सिक्छन् रे । अब त बानी नै परिसक्यो विद्यार्थीलाई तपाईं भन्ने ।

अनि विद्यार्थीले तिमी, तँ भन्न कहिले सिक्छन् त भन्ने प्रश्न गर्दा त्यस्ता शब्द किन सिक्नुपर्‍यो ? सबैलाई आदर गरेर तपाईं नै भने भइहाल्यो नि भन्ने उत्तर अयो ।

उनीहरुले त्यसो भनेपछि मैले आफ्नो स्कुल पढ्दाको समय सम्झिएँ । हामी स्कुलका नजिकका साथीलाई तँ भन्छौं, तिमी भन्छौं । त्यो सम्बोधन जीवनभर रहन्छ ।

४० वर्षअघि स्कुलमा सँगै पढेका केही साथीलाई अहिले पनि तँ भन्छु, कलेज पढ्ने साथीलाई चाहिँ तिमी भन्छु । तिनीहरूमध्ये कुनै औपचारिक मञ्चमा सँगै बस्दा मात्र ‘तपाईं’ भन्छु, मञ्चबाट ओर्लने बित्तिकै तिमी भन्छु ।

यसरी शिक्षकले विद्यार्थीलाई तपाईं भन्दैमा आदर गरेको बुझिन्छ र ? यसो गर्दा त हाम्रो भाषाको सुन्दरता नै जान्छ । अंग्रेजीमा एउटै मात्र तिमी सम्बोधन छ भन्दैमा नेपालीमा त्यसै गर्नु उपयुक्त होला र ?

म पछिल्लो ३ महिनामा तराई र पहाडका गरेर ४०–४५ स्कुलमा गएँ । तराईको, सुदूर पश्चिमका केही स्कुलहरुमा चाहिँ शिक्षकहरुले विद्यार्थीलाई प्राय तिमी नै भनेर सम्बोधन गरेको सुनेँ त तर पहाडका, काठमाडौंका स्कुलमा भने तपाईं थोरै सुनेँ । त्यसरी हरेक स्कुलमा जाँदा मैले शिक्षकहरुलाई सोधेँ, ‘के तपाईहरू आफ्ना छोरा छोरीलाई पनि तपाईं भन्नुहुन्छ ?’

उनीहरुले उत्तर दिए, होइन उनीहरूलाई तिमी भन्छौं । बदमासी गरे भने गाली गर्दा चाहिँ तँ भन्छौं ।

मैले मेरी छोरीहरूलाई केही बदमासी गर्दा तपाईं भन्थेँ । मैले तपाईं भने पछि छोरीहरूले बुझ्थे कि केही गल्ती भएको छ ।

३०–४० वर्षअघि हाम्रा स्कुल, कलेजका शिक्षकले हामीलाई तिमी नै भन्थे । अहिले विद्यार्थीलाई तपाईं भन्दैमा उनीहरूको मान बढ्ने होइन, ‘तिमी’ भनेर राम्रो सँग व्यबहार गर्दा उनीहरूको सम्मान हुन्छ भन्ने कुरा कसले सिकाउला ?

कति बाबुआमाले आफ्ना सन्तानलाई, भतिजा, भतिजीलाई ‘तँ’ भनेर सम्बोधन गर्छन् । साथी, ठूलालाई तपाईं भन्छन् । त्यसो गर्दा बालबालिकाले कसलाई तपाईं, कसलाई तिमी, कसलाई तँ भन्ने कुरा सिक्छन् ।

तँ भन्ने शब्द पहिले आफू भन्दा कमजोर दासदासीहरूलाई, दलितहरूलाई प्रयोग गरिन्थ्यो, सायद त्यसैले यो शब्द अपमानसँग गाँसियो होला । स्कुलमा पनि पहिले पहिले शिक्षकहरूले विद्यार्थीहरू, विशेष गरी दलित समुदायका विद्यार्थीलाई ‘तँ’ भनेर सम्बोधन गर्थे ।

तर समाजमा आएको परिवर्तन सँगै, विद्यार्थीलाई अपमानित गर्नु हुँदैन, पिट्नु हुँदैन भन्ने भावना विकसित हुदै आयो । सायद अपमानजनक शब्द प्रयोग नगर्ने भनेर छलफल भयो होला ।

तँ, तिमी पनि प्रयोग नगर्ने सबैलाई आदर गरेर बोल्नुपर्छ भनेर आवाज उठेपछि लौ त तपाईं भन्ने गरी तालिम दिइयो । तर विद्यार्थीलाई तपाईं भन्नुपर्छ किनभने शिक्षकले जे भन्यो, विद्यार्थीले त्यही सिक्छन् भन्ने अर्थ लगाइयो ।

भर्खर स्कुल जान थालेका ४–५ वर्षका नानीलाई पनि शिक्षकले तपाईं भने । हिन्दी भाषामा पनि तु, तुम र आप जस्ता आदरार्थी शब्दहरू छन् । भारतका स्कुलमा शिक्षकले स्कुलका विद्यार्थीलाई ‘तुम’ अर्थात ‘तिमी’ भन्छन् । अंग्रेजी स्कुलमा त ‘यु’ भनेपछि मिलिहाल्छ ।

आफ्नो भाषालाई समृद्ध बनाउनुको साटो सबैलाई तपाईं सम्बोधन गर्दा विद्यार्थीलाई मान गरेको बुझ्ने ठान्नु ठीक होइन । त्यसै गर्ने हो भने त भविष्यमा ‘तँ’ र ‘तिमी’ जस्ता शब्द त शब्दकोषमा मात्र भेटिन सक्छ ।

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?