+
+

जापानमा हुर्किंदो नेपाली साहित्य         

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८० फागुन २८ गते १४:५६

टोकियो । नेपाली साहित्यको सुरुवात १९ औं शताब्दीबाट भएको पाइन्छ । आधुनिककालसम्म आइपुग्दा यसको आयाम फराकिलो भएको छ । पहिले भारत, म्यानमार, भुटान, थाइल्याण्ड लगायत देशमा नेपाली साहित्य र संस्कृति झल्काउने विभिन्न क्रियाकलाप हुने गर्दथे । पछिल्लो समय जापानसँगै अमेरिका, अष्ट्रेलिया र युरोपका धेरै देशमा नेपाली साहित्य र संस्कृतिसम्बन्धी गतिविधि हुने गरेका छन् ।

परदेश पुगेका नेपालीहरु भावनात्मक परिकल्पना र वास्तविक अवस्था व्यक्त गर्ने माध्यम साहित्यलाई बनाइरहेका छन् । सोहीअनुरुप जापानमा पनि नगन्य रुपमा प्रवासी नेपालीद्वारा लिखित साहित्यको वृद्धि भइरहेको छ । संसारभर छरिएका नेपाली साहित्यकारहरुको अधिकारिक संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रवासमा नेपाली साहित्यको विकासमा मलजल गरिरहेको छ ।

गत महिना अनेसास जापानले आयोजना गरेको ‘टोकियो कविता कन्सर्ट’मा पुग्ने जोकोहीले महसुस गर्न सक्थो कि जापानमा नेपाली साहित्य हुर्किरहेको छ । अनेसास जापानले आयोजना गरेको कविता कन्सर्टमा कविहरु जयन्ती मगर सरगम, शरद पोखरेल, डा. बैकुण्ठ भट्ट र सविना रेग्मीले देशप्रेम, जागरण, विदेशी कथा, नारी उत्थान लगायत विषयमा कविता प्रस्तुत गरेका थिए । कन्सर्टमा कविहरुले २४ वटा कविता वाचन गरेका थिए ।

जयन्ती मगरले रेमिट्यान्सले देश धानिरहेछ भन्दै प्रवासी आवाजका साथ कविता वाचन सुरु गरेकी थिइन् । उनले भीरफूल शीर्षकमा नारी उत्थानका कुरा, ल्हासा आएकी मुना शीर्षकमा विवशताले परदेशिएकाको कथा कवितामार्फत प्रस्तुत गरिन् । अर्का कवि शरद पोखरेलले ख्वामितका जुत्ता शीर्षकमा दमनको प्रवृत्तिमाथि प्रहार गरे, बा गाई र देश शीर्षकमा कर्मशील बुवाको कर्मलाई सम्मान गर्दै सम्झना गरेका पोखरेलले जातीय विभेदविरुद्धको आवाजलाई कवितामार्फत रुपा सुनारको हातमा के छ ? भनी न्यायालय र समाजप्रति प्रश्न राखे । उनले मेरा गणितका गुरु कविता सुनाउँदै नेपालको शिक्षा र जीवनको तालमेललाई कवितामार्फत प्रस्तुत गरेका थिए ।

विशेषगरी छन्दका कवितामा पोख्त सविना रेग्मीले प्रियतमप्रति कविता भुजुगंप्रयात छन्दमा पस्कँदै प्रेमभाव प्रकट गरिन् । कविता भोक र आन्दोलनमार्फत देशको यथार्थ सचित्र पस्कँदै कोरिया कामदारमा जान चाहने क्रममा भएको प्रहरी दमनमा मारिएका युवाको भाव र परिवारका वेदनालाई शार्दुल विक्रिडित छन्दमा कविता वाचन गरेकी थिइन् । विमानस्थलमा एक दिन कवितामार्फत देशको परिस्थितिलाई सचित्र कवितामा उतारेका कवि वैकुण्ठ भट्टले आगो कवितामार्फत बेथितिविरुद्ध भुईं मान्छेका कथा र भावना सुनाए । भट्टले देशको मानचित्र शीर्षकको कवितामा देश भनेको भूगोल मात्र होइन रहेछ भन्ने भाव प्रकट गरे । उनले छोडी जानेको नाममा शीर्षकको कवितामार्फत वियोगान्त भाव प्रकट गर्दा कन्सर्टमा उपस्थित मन्त्रमुग्ध देखिन्थे ।

जापानमा विश्व नेपाली साहित्य महासंघ (विनेसाम)पनि सक्रिय छ । विनेसामले फेब्रुअरीमा टोकियोमा एक कार्यक्रमको आयोजना गर्दै प्रवीण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ कवितासंग्रह लोकार्पण र राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचन कार्यक्रम गरेको थियो । विनेसामले सोही अवसरमा कवि सयपत्री थुलुङको ‘गाउँ फर्किरहेको परदेशी’ टोकियो साँझ कार्यक्रम पनि सम्पन्न गर्‍यो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङ्तानले ओ पेङ्दोर्जे कवितासंग्रह नयाँ पुस्ताका लागि आवश्यक एक दस्तावेज रहेको बताए । त्यस्तै प्रवीण लामाले सिनकानसेनको देशबाट कवितासंग्रह कर्मथलो जापानको विकास सिनकानसेन (बुलेट ट्रेन) जसरी तीव्र गतिमा भएको र त्यसरी नै आफ्नो मातृभूमिको पनि विकास भइदिए हुन्थ्यो भन्ने आशयमा कवितामा समेटिएको बताए । कवि थुलुङले कार्यक्रममा एकल कविता वाचन गरेकी थिइन् । जापानमा बस्दै आएकी थुलुङले गत मंसिरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कवितासंग्रह गाउँ फर्किरहेको परदेशी विमोचन गरेकी थिइन् । परदेशको देखाइ र भोगाइलाई समेट्दै गाउँ फर्किरहेको परदेशीको जन्म भएको थुलुङको भनाइ छ ।

जापानमा २०२१ सालमा साहित्य चौतारी जापानको स्थापना भएको छ । साहित्य चौतारी जापानले पनि समय-समयमा साहित्यिक गतिविधि गर्दै आएको छ । साहित्य चौतारी जापानले रचना वाचनका साथै सांस्कृतिक झाँकीको प्रदर्शनलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष अमर देव बाँस्तोलाले बताए । ‘हामी हरेक वर्षको जनवरीमा विभिन्न जातजातिको संस्कृति झल्काउने झाँकी प्रदर्शन  गर्छौं,’ बाँस्तोलाले भने, ‘देशको संस्कृतिलाई परदेशमा पनि जीवन्त राख्न साहित्य चौतारी नेपाल निरन्तर अघि बढ्छ ।’

प्रवासमा साहित्यिक माहोल बनाइरहेको अनेसास

प्रवासमा नेपाली भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई नेपाली भाषा सिकाउने र भाषा तथा साहित्यमा योगदान पुर्‍याउनेलाई प्रोत्साहन गर्ने उदेश्यले सन् १९९१ मा अमेरिकाको भर्जिनियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को स्थापना भएको हो । जापानमा सन् २००३ को लक्ष्मीजयन्तीको अवसरमा अनेसासको स्थापना गरिएको जापान शाखाका संस्थापक अध्यक्ष कुमार बस्नेतले जानकारी दिए ।

‘अनेसासको स्थापना हुनुपूर्व नै जापानमा साहित्यिक गतिविधि हुँदै आएका थिए,’ बस्नेतले भने, ‘अन्य विभिन्न देशमा पुगेका नेपाली मूलका साहित्यकारसँग जोडिन एक साझा मञ्चको अवश्यकता महसुस गरी जापानमा अनेसास स्थापना भयो ।’

अनेसासले विश्वभरका ७० बढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको अनेसासका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश माइला पौडेल बताउँछन् । अनेसासमा च्याप्टर, केन्द्रीय समिति र बोर्ड अफ ट्रस्टीज गरी तीन निकाय छन् । अनेसासले अमेरिका बाहिर पहिलो शाखाको रुपमा जापानमा शाखा स्थापना गरेको अनेसासका निर्वतमान केन्द्रीय अध्यक्ष पौडेलले जानकारी दिए । अनेसास जापानले सन् २०१५ मा टोकियोमा विश्व सम्मेलन, सन् २०२० मा टोकियोमा नै अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनको आयोजना गरेको पौडेलले बताए । अनेसास जापानले सन् २०१८ मा टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव समेत गरेको थियो । महोत्सवमा नेपाल, जापान साथै बेलायतका हाइकुकारको सहभागिता रहेको पौडेलले जानकारी दिए ।

अनेसास केन्द्रकै योजना अनुरुप जापान शाखाले नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष, भानुजयन्ती र लक्ष्मी जयन्तीमा हरेक वर्ष कार्यक्रमको आयोजना गर्दै आएको जापानका अध्यक्ष अरुण पौडेलले बताए । ‘यसका अलावा पनि हामी समय-समयमा विभिन्न साहित्यिक कार्यक्रम गर्छौं, आएका छौं,’ पौडेलले भने, ‘जापानीज र नेपाली साहित्यकारको सहभागितामा साहित्यिक कार्यक्रम गर्ने योजना पनि हामी बनाइरहेका छौं ।’ जापानस्थित नेपालीको दोस्रो पुस्तामा नेपाली भाषा र साहित्य सिकाउन अनेसास जापानले जापानमा रहेका नेपाली विद्यालयमा पनि कार्यक्रम गर्दै आएको पौडेल बताउँछन् । आफ्नो कार्यकालमा यसलाई पनि निरन्तरता दिने उनको भनाइ छ ।

पछिल्लो समय जापानमा नेपालीको संख्या बढेसँगै नेपाली साहित्यकारको संख्या पनि बढेको उनले बताए । जापानमा कृति प्रकाशन गरिसकेका साहित्यकारको संख्या ३० जना हाराहारीमा रहेको उनको भनाइ छ । तीमध्ये केही लेखकका पुस्तकले मूलधारको नेपाली साहित्यमा दरिलो उपस्थिति जनाएको पौडेल बताउँछन् ।

त्यस्तै सन् २०१९ बाट विनेसाम जापान शाखाको स्थापना भएको संस्थाका अध्यक्ष देवीबहादुर इङ्नामले जानकारी दिए । नेपालसहित विश्वका २४ वटा देशमा विनेसाम सक्रिय रहेको इङ्नाम बताउँछन् । परदेशमा रहेपनि आफ्नो भाषा, साहित्य र कलाको संरक्षण गर्नु हाम्रो साझा दायित्व रहेको इङ्नामको बुझाइ छ ।

डायस्पोरा कि प्रवासी नेपाली साहित्य ?

आम बुझाइमा प्रवासमा सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भनेर पनि बुझिन्छ । तर जापानमा बस्दै आएका साहित्यकार शरद पोखरेलका अनुसार डायस्पोरिक साहित्य भनेको लामो समय विदेशमा बसोबास गरी त्यही देशको भाषा, कला, संस्कृति अंगीकार गरिसकेका लेखकबाट सिर्जित साहित्य हो । मातृभूमि छाडेर विदेशी भूमिमा बसोबास गर्दै आएका नागरिकबाट सिर्जित सिर्जनालाई ‘प्रवासी नेपाली साहित्य’का रुपमा बुझ्नुपर्ने उनको तर्क छ ।

‘हामी केही समय श्रम गर्न विदेश आएका हौं । यहीको स्थायी बासिन्दा होइनौं । त्यसैले हाम्रा सिर्जनाहरुलाई प्रवासी साहित्य भन्नु उचित हुन्छ,’ पोखरेलले भने । पोखरेलले जापान बसाइकै क्रममा ‘मरुभूमिमा डुंगा’ कविता कवितासंग्रह प्रकाशनमा ल्याएका छन् ।

प्रवासी साहित्य जीवन जिउने माध्यम रहेको साहित्यकार मञ्जु गिरी बताउँछिन् । लामो समयदेखि जापान बस्दै आएकी गिरीले आफ्नो काव्य लेखन कलालाई निरन्तरता दिइरहेकी छिन् । सपना हराएको देश, साकुराको देशबाट उनका कृति हुन् । जापानीज भूमिमा लेखिने र छापिने साहित्यका विभिन्न विधामा कविता सबैभन्दा धेरै लेखिने र छापिने विधा रहेको उनले बताइन् ।

घरदेशको यादमा जन्मिन्छ साहित्य

लेखन प्रयासदेखि साहित्यमा नयाँ चिन्तन ल्याउने तहका साहित्यकारहरु जापानमा छन् । मोरङ उर्लाबारीका मञ्जुल मितेरी जापान बस्दै आएका स्थापित साहित्यकार हुन् । उनले हालसम्म तीनवटा कृति प्रकाशन गरिसकेका छन् । वि. सं. २०५७ सालमा ‘आस्था’ कवितासंग्रह, २०७१ सालमा ‘अर्काको देशमा’ कथासंग्रह र २०७९ सालमा ‘कामी’ कवितासंग्रह उनका कृति हुन् । जातीय उत्पीडनविरुद्ध विद्रोह ओकलिएको उनको ‘कामी’ कवितासंग्रह पाठकले रुचाएको कवितासंग्रह हो । ‘देश छाडेर हिंडेपछि देशको माया र सम्झना पनि बढ्दो रहेछ, परदेशबाट हेर्दा घरदेशका सुन्दर र कुरुप पक्षहहरु देखिंदा रहेछन् । यही माया, सम्झना, विकास, वितृष्णा अभिव्यक्त गर्ने माध्यम साहित्य बन्ने रहेछ,’ मितेरी भन्छन् । परदेश आएपछि लेख्ने कारण थपिएको अनेसास जापानका सल्लाकार समेत रहेका मितेरीको अनुभव छ । ‘नयाँ ठाउँ, नयाँ परिवेशले स्वदेशमा खासै कलम नचलाएका साथीहरु पनि यहाँ नियमित रुपमा लेख्ने गरेको मैले पाएको छु,’ उनले भने ।

मितेरी मूर्तिकार समेत हुन् । उनकै नेतृत्वमा रहेको ६ जना नेपाली नागरिकको टोलीले जापानको कुमोमोतो केनको विशाल चट्टानी पहारामा बुद्धको मूर्ति निर्माण गरेका छन् । उक्त मूर्ति ढुंगामा निर्माण गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो बुद्धको मूर्ति रहेको मितेरी बताउँछन् । ‘बौद्ध धर्म पनि हाम्रो देशको संस्कृति हो । हाम्रो संस्कृतिलाई विश्वमा चिनाउने हाम्रो लक्ष्य छ,’ मितेरीले भने ।

जापानमा कतिपय साहित्यकारहरु व्यक्तिगत रुपमा पनि सक्रिय देखिन्छन् । देश छाडेर विदेश बस्दाको पीडा प्रवासी नेपाली साहित्यमा झल्कने युवा कवि शेखर विकल्पले बताए । उनले ‘अक्षरहरुको रंङ’ कविता संग्रह प्रकाशनमा ल्याएका छन् । प्रवासका साहित्यकारहरुले प्रकाशनमा ल्याएका साहित्यिक कृतिहरुले मूलधारको साहित्यमा भने सोचे झैँ पकड जमाउन नसकिरहेको विकल्पको भनाइ छ । ‘एकातर्फ कृतिकार स्वयं परदेशी भएकाले विमोचनपछिको बजारीकरण र विभिन्न कार्यक्रममा समय दिन चुकिरहेको हुन्छ अर्कोतर्फ हेर्ने हो भने प्रकाशकहरुले समेत चासो दिंदैनन्,’ विकल्प भन्छन् ।

दोस्रो पुस्तालाई भाषा सिकाउँदै नेपाली विद्यालय

जापानमा जन्मेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति र नेपालको परिवेश सुहाउँदो शिक्षा दिने उद्देश्यले जापानमा नेपाली भाषा र नेपाली पाठ्यक्रमअनुसार पढाइ हुने विद्यालय पनि सञ्चालनमा छन् । टोकियोमा एभरेष्ट इन्टरनेसनल स्कुल र हिमालयन इन्टरनेसनल एकेडेमी छन् भने नागोयामा तोकाई वाटिका इन्टरनेसनल स्कुल सञ्चालनमा छन् । नेपाली विद्यालयले पनि भाषा विकासमा योगदान पुर्‍याइरहेको एभरेष्ट इन्टरनेसनल स्कुलका प्रध्यानध्यापक विष्णु भट्ट बताउँछन् ।

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?