+
+

सुन तस्करी नियन्त्रण हाम्रो कार्यक्षेत्रमा पर्दैन : त्रिभुवन विमानस्थल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १८:०३

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले सुन लगायत भन्सार निरीक्षण र नियन्त्रण विमानस्थल नागरिक उड्डयन कार्यालयको कार्यक्षेत्र भित्र नपर्ने जनाएको छ ।

विमानस्थल नागरिक उड्डयन कार्यालयले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले विमानस्थल कार्यालयको जिम्मेवारीमा पूर्वाधार सुधारमात्र पर्ने बताएका हुन् ।

विमानस्थलबाट भइरहेको सुन तस्करीका विषयमा विमानस्थल प्रशासनमाथि आलोचना भइरहेको सन्दर्भमा प्रशासनले विमानस्थलभित्र २५ भन्दा बढी सरोकारवाला निकायसहित १ सय ७० प्रत्यक्ष/अप्रत्यक्ष निकाय आबद्ध रहेको जनाएको छ ।

बढ्दो यात्रु चाप मध्यनजर गर्दै कार्यालयले भन्सार क्षेत्र विस्तारको काम गरेपछि सेवा प्रवाहमा सुधार आएको समेत तिवारीले बताए ।

विमानस्थलमा सहसचिव स्तरको प्रमुख रहने अध्यागमन र भन्सार कार्यालय आ–आफ्नो ऐन/कानुन अनुसार सञ्चालनमा रहेको समेत विमानस्थल प्रशासनले स्मरण गराएको छ ।

विमानस्थल प्रमुखको ‘चेन अफ कमान्ड’ मा नपर्ने यस्ता निकायसँग विमानस्थल प्रशासनले समन्वय मात्र गर्ने र यो काम हुँदै आइरहेको समेत तिवारीको भनाइ छ ।

यात्रु सहजीकरणका लागि सरकारले हालै भिजिट भिसासम्बन्धी नयाँ व्यवस्था गरेको र अध्यागमन विभागले समेत थप नयाँ जनशक्ति व्यवस्था गरेपछि विमानस्थलमा यात्रु आवागमन व्यवस्थित हुँदै गएको तिवारीको भनाइ छ । पिक आवरमा यात्रु चापका कारण जाँचमा केही ढिला हुने समस्या भने रहेको उनले बताएका छन् ।

प्रहरीसँग समन्वयमा छौं

विमानस्थल भित्रको प्रवेश नियन्त्रण तथा खानतलासीमा नेपाल प्रहरीसँग निकट समन्वयमा रहेर काम गरिरहेको समेत विमानस्थल महाप्रबन्धक तिवारीको भनाइ छ ।

विमानस्थल भित्रको सेवा प्रवाहमा कुनै पनि जिम्मेवार निकायले कमी कमजोरी गर्न नहुने भन्दै यसका लागि सबै निकायलाई प्रशासनले अनुरोध समेत गरिरहेको उनले बताएका छन् ।

ब्यागेज ह्यान्डलिङ नेपाल एयरलाइन्सको जिम्मेवारीमा रहेको र यसलाई जिम्मेवारी बनाउन ध्यानाकर्षण गराइरहेको समेत तिवारीले बताए । पछिल्लो दिनमा ब्यागेज ह्यान्डलिङ सम्बन्धी गुनासो कम हुँदै गएको समेत प्रशासनको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?