+
+
Shares

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई  विमानस्थलमा ‘श्रम सहायता कक्ष’ स्थापना

कुनै समस्यामा परेको खण्डमा कहाँ उजुरी गर्ने भन्ने विषयमा समेत सहायता कक्षबाट श्रमिकलाई जानकारी गराइने गरेको छ ।

कृष्णसिंह धामी शंकर गिरी कृष्णसिंह धामी, शंकर गिरी
२०८३ वैशाख ९ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि 'श्रम सहायता कक्ष' स्थापना गरेको छ।
  • सहायता कक्षमा कर्मचारीहरूले श्रमिकलाई भिसा, टिकट, शुल्क र कानुनी प्रक्रियासम्बन्धी जानकारी दिने काम गरिरहेका छन्।
  • श्रम सहायता कक्षले विदेशबाट ल्याइने नेपाली शव व्यवस्थापनमा नि:शुल्क सहयोग र आवश्यक सम्पर्क उपलब्ध गराउने व्यवस्था गरेको छ।

९ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम सहायता कक्ष’ स्थापना गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम सहायता कक्ष’ स्थापना गरेको हो । श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड लगायत निकाय मार्फत सहायता कक्ष सञ्चालनमा आएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि श्रममन्त्री स्तरीय निर्णयबाट सहायता कक्ष सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय, विभाग र बोर्डबाट खटाइएका कर्मचारीले वैदेशिक रोजगारीमा जाने श्रमिक भिसा, फ्रि  भिसा फ्रि टिकट, म्यानपावरलाई तिरेको शुल्क, श्रम गरेको/नगरेको लगायत विषयमा जानकारी दिने गरेका छन् ।

सहायता कक्षमा खटिएका विभागका शाखा अधिकृत भीमबहादुर बस्नेत श्रमिकहरूले वैदेशिक रोजगारीमा जाँदा नेपालको कानुनी प्रक्रिया पूरा गरेर सहज जान पाउन भन्ने उद्देश्य रहेको बताउँछन् ।

‘हामीले जुन कामका लागि अन्तर्वार्ता दिनुभयो, त्यही काममा गइराख्नुभएको छ कि छैन भनेर सोध्छौं, त्यो एग्रिमेन्ट पेपरहरू पनि हेरिदिन्छौं र उहाँहरूलाई केही अप्ठ्यारो पर्‍यो, केही गुनासो छ कि छैन भनेर सोध्छौं,’ बस्नेतले भने, ‘उहाँहरूले कुनै गुनासो भए हामी तुरुन्त समाधानका लागि पहल गर्छौ भनेर भन्छौं ।’

यसका लागि श्रम मन्त्रालयले सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समन्वय समिति बनाएको छ । श्रमिकलाई विदेशमा रहँदा कुनै समस्या परेको खण्डमा दूतावासमा सम्पर्क गर्न र दूतावासका अधिकारीहरूको नम्बर समेत दिइने गरेको छ ।

त्यस्तै कुनै समस्यामा परेको खण्डमा कहाँ उजुरी गर्ने भन्ने विषयमा समेत श्रमिकलाई जानकारी गराइने गरेको छ ।

मंगलबारदेखि सुरु भएको सहायता कक्षमा नयाँ जानेभन्दा पनि यसअघि नै वैदेशिक रोजगारीमा गई फर्केर आएपछि पुन: जानेहरूले बढी चासो राख्ने गरेको पाइएको छ ।

श्रमिकले समेत आफ्नो श्रम स्वीकृति सक्कली हो वा नक्कली,  हवाई टिकट लगायत विषयमा जिज्ञासा राख्ने गरेका छन् ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले कुनै पनि बहानामा वैदेशिक रोजगारीमा जाने श्रमिक नठगिउन् भनेर जानकारी दिने उद्देश्य सहित सहायता कक्ष स्थापना गरिएको बताए ।

अहिले सञ्चालन गरेर सुरुवात गरिएको र आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै लगिने उनको भनाइ छ ।

श्रम कक्ष अहिले सामाजिक सुरक्षा कोषमार्फत निर्माण गरिए पनि यसलाई थप व्यवस्थित गर्न नसक्दा श्रमिकका लागि प्रभावकारी देखिएको छैन । एयरपोर्टमा यात्रुहरू दुई फरक प्रवेशद्वारबाट आउने भएकाले श्रम कक्ष बाहिरपट्टि परेपछि सेवाग्राहीको पहुँच कमजोर बनेको देखिन्छ । जुन श्रम कक्षमा रहेका कर्मचारीले समेत स्वीकार गरेका छन् ।

यदि प्रवेश बिन्दु एकीकृत गरी श्रमिकलाई सोही मार्गबाट ल्याउने व्यवस्था मिलाइयो भने आफूहरू त्यहीँ उभिएर प्रत्येक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्न सक्ने, आवश्यक जानकारी लिन सक्ने र मिडियासँगको सहकार्यमा तथ्यहरू बाहिर ल्याउन सहज हुने बस्नेतको भनाइ छ ।

भीमबहादुर बस्नेत, शाखा अधिकृत, वैदेशिक राेजगार विभाग

श्रम कक्षमा विदेशबाट ल्याइने नेपाली शव व्यवस्थापनका विषयमा समेत सहजीकरण भइरहेको छ । यदि आवश्यक सम्पर्क वा साधन नभएको अवस्थामा भने श्रम कक्षबाट नि:शुल्क शव वाहनका नम्बर उपलब्ध गराइने, फोनमार्फत गाडी बोलाइदिने र भन्सार क्लियर गरी परिवारजनलाई जिम्मा लगाउने काम भइरहेको छ ।

श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा म्यानपावर व्यवसायी वा एजेन्टहरूले पूर्वतयारीका रूपमा केही कुरा सिकाएर पठाउने प्रचलनबारे प्रश्न उठाइए पनि सहभागीले त्यस्तो प्रत्यक्ष अनुभव भने हालसम्म नपाएको बताए ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?