+
+

कांग्रेसप्रति प्रचण्डको आक्रोश : विश्वासघात भयो, गुन बिर्सियो

‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ भन्ने कुरा नबिर्सिनु होला ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० फागुन ३० गते १६:२१

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति आक्रोश पोखेका छन् । सत्ता समीकरण फेरिएपछि कांग्रेस नेताहरुले ‘धोकेबाज’ र ‘राजनीतिक बेइमान’ भनेकोमा उनको चित्त दुखाइ छ ।

प्रतिनिधि सभा बैठकमा बुधबार विश्वासको मत लिने प्रस्ताव राख्न रोष्टममा पुगेका प्रधानमन्त्री प्रचण्डले सुरुमै कांग्रेसले नै ‘विश्वासघात’ गरेको आरोप लगाएका थिए ।

तेस्रो पटक विश्वासको मत मागेका उनले पहिलो पटक कसरी प्रधानमन्त्री भएको भनेर सम्झिए । ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतृत्वको पार्टीले नेपाली कांग्रेसलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन मद्दत गर्यो । त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम पहिलोचोटी म नेकपा एमाले लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ,’ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने ।

कांग्रेस, माओवादीसहितका दलले गठबन्धन गरेर ४ मंसिर २०७९ को चुनाव लडेका थिए । आलोपालो सरकारको नेतत्व गर्न सहमत कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच को पहिला प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुटेन । त्यसपछि प्रचण्ड १० पुसमा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बने । २६ पुस २०७९ मा कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्रीले २६८ मत पाएका थिए भने विपक्षमा दुई मत मात्र परेको थियो ।

तर प्रचण्डले दुई महिनामै गठबन्धन फेरे । फागुन दोस्रो साता पूर्वसहमति विपरीत राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्दै प्रचण्ड कांग्रेसकै गठबन्धनमा फर्किए । जनतामा एकचोटी स्थापित भएको मान्यता अनुसार जानु उपयुक्त हुन्छ भनेर आफूले फेरि कांग्रेससँग सहकार्य गरेको उनले बताए । ६ चैत २०७९ मा दोस्रो पटक विश्वासको मत लिँदा १७२ र विपक्षमा ८९ मत खसेको थियो ।

अहिले नयाँ राजनीतिक परिस्थिति बनेको र नयाँ सत्ता समीकरण बनेको उनले बताए । सरकार पुनर्गठन र मन्त्रालय हेरफेर गर्न चाह ेपनि गठबन्धनमा सहमति समेत नजुटेपछि आफूले नयाँ समीकरण बनाएको उनले बताए । तर कांग्रेसले राजनीतिक प्रक्रियालाई अराजनीतिक रुपमा व्याख्या गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरुले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो ।’

कांग्रेसले गुन बिर्सिएको गुनासो

विगतको गुन समेत बिर्सिएर कांग्रेसले आफूमाथि आक्षेप लगाएको पनि उनको टिप्पणी छ । कांग्रेसको समर्थनमा आफू केवल एकपटक प्रधानमन्त्री भएको तर, माओवादीको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा दुईपटक प्रधानमन्त्री भएको उनले स्मरण गरे ।

१० पुस २०७९ मा कांग्रेसले आफूलाई प्रधानमन्त्री नबनाएर विश्वासघात गरेको भन्दै प्रचण्डले भने, ‘मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ, तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो ।’

त्यसबेला पनि आफूले धोकाको शोक गीत नगाएको र कसैलाई पनि आरोपित नगरेको उनले बताए । तर अहिले कांग्रेस युद्धविराम नै गरेर आफूलाई आरोपित गर्ने अभियानमा लागेको भन्दै प्रचण्डले भने, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ भन्ने कुरा नबिर्सिनु होला ।’

धोकाको आरोप कांग्रेसले होइन, एमाले अध्यक्ष ओलीले चाहिँ लगाउन सक्ने उनले बताए । यहीँनेर उनले भनेका छन्, ‘धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरु र त्यसका मुख्य नेतृत्व माननीय केपी ओलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँले बनाउने अनि खुरुक्क कांग्रेसमा जाने…, उहाँले यस्तो आरोप लगाउँदा मिल्दोजुल्दो हुन्छ, कांग्रेसले लगाएर मिल्दैन ।’

एमालेको समर्थनमा प्रधानमन्त्री बनेतापनि आफूले राष्ट्रिय सहमतिको आधार तयार गर्न कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेको प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रपति त अहिले पनि तपाईंहरुकै हुनुहुन्छ । यति छिट्टै सबै गुन बिर्सिएर धोका ! के हो धोका ? कसले गर्यो विश्वासघात ?’

विश्वासको मत लिने दिन निजी आरोप र प्रत्यारोप गर्न उपयुक्त नभए पनि संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भनेर जवाफ दिनुपरेको उनले बताए । कुनै बेला कांग्रेसकै सांसदले रोष्टममा उभिएर आफूलाई ‘राजनेता’ घोषणा गरेको स्मरण गदै प्रचण्डले प्रश्न गरे, ‘त्यही राजनेता संविधान अनुसार राजनीतिक मान्यताका आधारमा राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर राजनीतिक मुद्दा र एजेण्डालाई केन्द्रबिन्दुमा राखेर लोकतान्त्रिक प्रक्रियाद्वारा गठबन्धन बदल्दा विश्वासघाती र धोकेबाज कसरी भएँ ?’

बरु विगतमा कांग्रेसबाट माओवादी केन्द्रले पाएको धोकाको फेहरिस्त लामो रहेको भन्दै प्रचण्डले विगतका सहकार्य स्मरण गरे । उनले भनेका छन्, ‘पटक–पटक माओवादीले बलिदान गरेर, त्याग गरेर कांग्रेसको मुख्यमन्त्री बनाउन कल्ले पहल गर्यो, माओवादीले होइन ? नेताहरुलाई राम्रो थाहा छ, कोशी प्रदेशमा ।’

माओवादीे नेतालाई कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने निर्णय भएपनि कांग्रेसकै एउटा समूहले विद्रोह गरेर केदार काकीलाई मुख्यमन्त्री बनाएको उनले सम्झिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘एकपटक मात्र होइन, पटक–पटक धोका भएको छ ।’

११ माघमा भएको राष्ट्रिय सभा चुनावमा पनि कांग्रेसकै कारण माओवादी उम्मेदवार चम्पा कार्की पराजित भएको उनले बताए । यावत घटनामा आफूहरु मौन बसे पनि कांग्रेसले महासमिति बैठकमा माओवादीको मानमर्दन गर्ने गरी छलफल चलाएको उनले बताए । प्रचण्डले भने, ‘महासमिति बैठकमा विनासन्दर्भ गठबन्धनकै अवमूल्यन गर्ने गरी भएका बहस, संविधानमाथि प्रश्न उठाउने गरी गरिएका बहसले हामी र मलाई निकै चिन्तित तुल्यायो ।’

विगतमा संविधानको रक्षाका लागि भनेर कांग्रेससँग गठबन्धन गरिएको भए पनि महासमितिको बैठकमा संविधानमाथि र गठबन्धनमाथि प्रश्न उठ्ने गरी बहस भएपछि नयाँ समीकरण बनाउन लागेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

‘कांग्रेसका लागि पनि यो बाँकी शान्ति प्रक्रियाको काम टुंग्याउनुपर्ने उत्तिकै आवश्यकता छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई सहमतिबाट टुंग्याउँ भन्नेमा हाम्रो कहिल्यै विमती भएन । तर टुङ्गिदा पनि टुङ्गिएन । अब कांग्रेसले त्यही बाटो नपक्डियोस्, सहमतिले टुंग्याइदिउँ भन्ने मेरो अनुरोध छ ।’

‘युद्धविरामलाई शान्तिमा बदल्नुस्’

आफूले राजनीतिक रुपमा गठबन्धन बदलेको भए पनि कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर आफ्नो निन्दा अभियानमा प्रतिस्पर्धा गरेको उनको टिप्पणी छ ।

प्रधानमन्त्रीले भने, ‘पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु ।’

उनले यो युद्धविरामलाई शान्तिमा बदल्न सुझाए । ‘मलाई भिलेन बनाउनेतिर अहिले तपार्इंहरुको जोडबल छ । तर म भन्न चाहन्छु– यो कदमले कांग्रेसभित्रको कचिङ्गल समाधान भयो भने मैले एकचोटि फेरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई ट्र्याकमा ल्याउन भूमिका खेलेँ भनेर ठान्छु, म खुसी ने हुन्छु,’ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने ।

‘बिहानले दिउँसो देखाउँदैछ’

प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गरेसँगै सरकारले गति लिन थालेको समेत दाबी गरेका छन् ।

मिटरब्याज पीडितहरु र आरती साहको परिवारसँग सहमति भएको भन्दै उनले भने, ‘मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न तत्काल पहल लिनु र आरती साहसँगको परिवारसँग सहमति गरेर टुंग्याउनु नयाँ सरकार नयाँ ढंगले जान पहल गर्दैछ भन्ने कुराको मर्निङ सोज द डे भनेको जस्तै बिहानले दिउँसो देखाउँदैछ ।’

सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम बनाउने र त्यही कार्यक्रम सरकार सञ्चालन गर्ने उनले बताए । ‘सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन्,’ प्रधानमन्त्रीले भने, ‘राजस्वको लक्ष्य पुरा गर्न, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रम ल्याउनेछ ।’

रोजगारी सिर्जना, आयात प्रतिस्थापन, शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुने पनि उनले बताए ।

यसअघि २४ गतेको बेठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले टीआरसी विधेयक के हुन्छ भनी सोधेका थिए । पहिले शान्ति प्रक्रिया टुंग्याउन कसले बाधा पुर्याएको हो भन्नेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग थियो । बुधबार जवाफ दिँदै प्रचण्डले भने, ‘जवाफ तपाईंलाई पनि राम्रोसँग थाहा छ । जो प्रतिपक्षमा बस्यो उसैले निहुँ खोज्ने हो भने यो कहिल्यै पनि टुंगिदैन ।’

प्रतिपक्षमा बसेर पनि कांग्रेसले शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्नुपर्ने उनको आग्रह छ । ‘कांग्रेसका लागि पनि यो बाँकी शान्ति प्रक्रियाको काम टुंग्याउनुपर्ने उत्तिकै आवश्यकता छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई सहमतिबाट टुंग्याउँ भन्नेमा हाम्रो कहिल्यै विमती भएन । तर टुङ्गिदा पनि टुङ्गिएन । अब कांग्रेसले त्यही बाटो नपक्डियोस्, सहमतिले टुंग्याइदिउँ भन्ने मेरो अनुरोध छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?