+
+
रिभ्यु :

विहारको राजनीति बुझाउने महारानी

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० चैत ४ गते १८:१२

विहार हाम्रो छिमेकी देशको जोडिएको प्रान्त हो । हाम्रो मधेश प्रदेशका सबै आठ जिल्लाहरू यससँग जोडिएका छन् । विहार भारतका २८ वटा प्रान्तहरूमध्ये सबैभन्दा पिछडिएको र कुशासनयुक्त प्रदेश मानिन्छ । हाम्रो मधेश प्रदेश पनि नेपालका सात प्रदेशमध्ये सबैभन्दा कम मानव विकास सूचकांक भएको प्रदेश हो ।

मैले भर्खरै सार्वजनिक भएको ७७ जिल्लाको साक्षरता सूची हेरेको थिएँ त्यसमा ७५, ७६ र ७७ नम्बरको सूचीमा क्रमशः सर्लाही, महोत्तरी र रौतहट छन् भने नेपालको भन्दा पनि कम प्रतिव्यक्ति करिब ८०० डलर भएको विहार छ ।

मधेशसँग विहारको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध मात्रै प्रगाढ छैन वर्षौंदेखि रोटी–बेटीको सम्बन्ध छ र नेपालका कैयौं महिला सांसद तथा नेताहरूको माइती अझै पनि विहारमा छ ।

नेपालले चुच्चे नक्सा जारी गर्दा भारत माइती भएकी सरिता गिरीले त्यसको खुलेर विरोध गरेकी थिइन् । त्यस्तै भारतका अन्य प्रान्तहरूमा विहारीहरूले कति अपमान सहनुपर्दछ जुन अपमान सायद उनीहरूले नेपालमा कहीं पनि सहनुपर्दैन । कुनै समय पश्चिमी पाकिस्तानीहरूले पूर्वी पाकिस्तान अर्थात् हालको बंगलादेशीहरूलाई अपहेलना गरी विहारी भन्दथे । अतः यस्तो विहारसँग जोडिएको हाम्रो भूमि विहार भन्दा कुन मानेमा फरक हुन्थ्यो ?

विहारी राजनीति जुन किसिमले विगतदेखि वर्तमानसम्म अगाडि बढेको छ त्यसलाई गहिरोसँग बुझ्ने र बुझाउने मौका दिन्छ हालसालै सोनी लिभमा स्ट्रीमिङ भइरहेको वेबसिरिज महारानीको सिजन–३ ले ।

हीरा विश्वकर्मा

सन् २०२१ देखि सुरु भएको यो वेबसिरिज अहिले २०२४ मा आइपुग्दा तेस्रो सिजनमा आइपुगेको छ । यसरी लगातार तेस्रो सिजनसम्म आइपुग्नुले सो सिरिज भारतीय दर्शकमाझ अत्यन्त प्रख्यात मध्येको एक भएर नै भन्नुपर्दछ । यो वेबसिरिज हेर्दा मधेशको राजनीति र समग्र नेपालकै राजनीति पनि यस्तै तरिकाले अगाडि बढेको भान हुन्छ र लाग्छ यो सिरिजले मेरै देशको कथा भनिरहेको छ ।

जसरी हाम्रो देशका प्रायः सबै राजनैतिक इतिहास हत्या, हिंसा, षड्यन्त्र, धोका र अवसरवादले भरिएको हुन्थ्यो र अहिले पनि छ त्यसको सजिव चित्रण यो सिरिजमा भएको छ । यो सिरिज हेर्दा एकातर्फ लाग्छ शासन सत्ता चलाउन साँच्चिकै कति गाह्रो छ अर्कोतर्फ लाग्छ राजनीति किन यतिविधि घृणित र निन्दनीय हुन्छ, आखिर सत्ता र शक्तिमा के छ भन्ने प्रश्न बराबर उब्जिइरहन्छ ।

अहिलेसम्म ८ भागका दरले २४ भागमा प्रसारित भएको यो सिरिजले विहारको जातीय, धार्मिक तथा अपराधको पृष्ठभूमिमा कसरी राजनीति अगाडि बढेको हुन्छ र यसको एउटै धन्दा र उद्देश्य भनेको जसरी पनि सत्ता र शक्ति हासिल गर्ने र त्यसको आडमा अथाह सम्पत्ति कमाउने । यही तीनवटा चिजहरू जोगाउन एकअर्का विरुद्ध षडयन्त्र, धोका र हत्यासम्म गर्ने प्रपञ्चहरू नै यो सिरिजका घटना र कथाहरू हुन् ।

यी सबै कुराहरू राजनीति गर्ने वा त्यसमा लाग्नेहरूका लागि आम हुनसक्छ, तर यसलाई सिनेम्याटिक भाषामा यसरी प्रस्तुत गरिएको छ कि दर्शक शृङ्खला हेर्दा मन्त्रमुग्ध हुन्छ, किनभने अब यसपछि के हुन्छ भन्ने जिज्ञासा सधैं जागिरहेको हुन्छ ।

यो सिरिजको अर्को रोचक पक्ष के छ भने प्रायः सिनेमा वा सिरिजहरूमा त्यसलाई रोचक वा मनोरञ्जक बनाउन कला स्वतन्त्रता लिइएको हुन्छ वा आम जीवन भन्दा धेरै ठूलो अर्थात् लार्जर द्यान लाइफ देखाइन्छ तर यो सिरिजलाई त्यस्तो बनाइएको छैन सबै घटनाहरू आम जीवनमा भइरहेका वास्तविक लाग्छन् ।

हो कति दुस्वप्नको सहारामा केही दृश्यहरूलाई अतिरञ्जित जस्तो देखाइएको छ तर त्यो पनि दर्शकलाई अत्यन्त सहज लाग्छ र त्यसलाई प्रतीकात्मक अर्थमा पनि प्रयोग गरिएको छ ।

काँगडा ब्यानरमा निर्मित तथा सुभाष कपुरद्वारा निर्देशित र यसको मुख्य पात्रको रूपमा हुमा कुरेसीले अभिनय गरेको यो सिरिजमा मुख्यतया ५३ जना कलाकारहरू छन् तर आवश्यकता अनुसार अरू पनि जोडिएका छन् तर यति थोरै कलाकारहरूबाट पनि यस्तो भव्य सिरिज बनाउनु भारतीय सिने उद्योगको अब्बल पक्ष मान्नुपर्दछ ।

यसको कथा सन् ९९ को वरिपरि बुनिएको छ र यो सिरिज हेर्दा विहारका विवादास्पद नेता लालु यादव र उनकी पत्नी रावडी देवीको राजनैतिक जीवन जस्तो लाग्छ र अहिलेका नीतिश कुमार पनि त्यहीँ छन् कि जस्तो भान हुन्छ ।

यसको मुख्य कथामा पिछडा वर्ग (जो विहारको सबैभन्दा ठूलो जनसांख्यिक समूह हो) को प्रतिनिधित्व गर्दै भीमा भारती (साहुम साह) लालु यादवकै शैलीमा मुख्य मन्त्री भएका हुन्छन् ।

जसरी चारा घोटालामा लालु यादव जेल परे त्यस्तै भीमा भारतीले पनि त्यस्तै राजनीति गरेर भ्रष्टाचारमा लिप्त हुन्छन्, कतिसम्म भने उनले आफूउपर गोलीसम्म चलाएर राजनीतिलाई आफ्नो पकडमा राख्न चाहन्छन् ।

जसरी लालुले आफ्नी अनपढ गृहिणीलाई अकस्मात् विहारको मुख्य मन्त्री बनाउँछन् र जो स्त्रीले सफलतापूर्वक घर चलाउँछन् उनीहरूले राज्य पनि चलाउँछन् भन्ने भाष्य निर्माण गर्न खोज्छन् र त्यसको वास्तविक बागडोर आफ्नो हातमा राख्छन् ठीक त्यसैगरी यो सिरिजमा पनि भीमा भारतीले चार कक्षा फेल आफ्नी श्रीमती रानी भारती (हुमा कुरेसी) लाई मुख्यमन्त्री बनाउँछन् र अप्रत्यक्ष शासन गर्न खोज्छन् ।

तर एउटी गृहिणीमा भएको इमानदारी र केही राम्रो गर्न चाहने भावनाका कारणले गर्दा श्रीमान्को भनाइ मान्न छोडिन्छन् र केही सुशासन तथा विकास दिने कोसिस गर्छिन्, कथा यसैबाट अगाडि बढ्छ ।

रावडी देवीले लालु यादवलाई जेल पठाउन भूमिका खेलिन् कि अथवा अन्य कारणले उनी जेल परे त्यो अर्को पाटो होला तर सिरिजमा चारा घोटालाको हजारौं करोड हिनामिनामा दोषी ठहर गर्दै आफ्नै श्रीमान्लाई जेल पठाउँछिन् त्यसपछि श्रीमान् र श्रीमतीकै बीचमा द्वन्द्व चल्छ र पार्टी फुटाउने काम हुन्छ ।

अन्त्यमा चुनाव समेत छुट्टाछुट्टै पार्टीको रूपमा श्रीमान्–श्रीमती लड्छन्, जातीय तथा धार्मिक रुढीवादमा रुमल्लिएको विहारमा स्वच्छ प्रशासनको एजेन्डाले आशातित सफलता प्राप्त गर्दैन र सरकार बनाउन सक्ने बहुमत कसैसँग हुँदैन ।

यस बीचमा स्वच्छ राजनीतिको वकालत गरेकी रानी भारतीलाई भीमा भारतीले उनलाई सत्तामा पुर्‍याउँदा फेरि जेल परिने सम्भावना हुँदाहुँदै पनि समर्थन दिने कुरा गर्छन् जुन कुरा उनका सहयात्रीहरू जो प्रायः सबै भ्रष्ट, व्यभिचारी तथा षड्यन्त्रकारी हुन्छन् उनीहरूले थाहा पाउँछन् ।

यदि त्यसो भएमा उनीहरू सबै जेल पर्छन् भन्ने बुझेपछि होलीको पार्टीमा उनलाई षड्यन्त्रपूर्वक मार्छन् र हत्याको आरोप रानीलाई लगाई उनलाई तीन वर्षको लागि जेल पठाउँछन् । यता नविन कुमार (अमित सियाल) जो सवर्ण जातका हुन्छन् र भीमा भारतीका सहपाठी त्यस्तै भ्रष्टहरूको साथ सहयोगमा मुख्यमन्त्री बन्छन् ।

रानी भारती र उनकी सहयोगी (आईएस अफिसर) कावेरी (कानी कुश्रुति) जो दक्षिण भारतीय लवजमा हिन्दी बोल्छिन् समेत जेलमा हुँदा उनले जेलमा विभिन्न आरोप तथा मजबुरीमा जेलमा सजाय पाइरहेका महिला कैदी बन्दीहरूको छुट्टै सेना बनाउँछिन् र ती भ्रष्ट नेताहरूलाई विभिन्न रूप र बहानामा फसाउँदै लग्छिन् र कतिको हत्या तथा कतिलाई जेल पठाउँछिन् ।

अघिल्ला दुई सिजनहरूमा एउटा स्वच्छ राजनीति गरेकी रानीलाई कसरी उनीहरू जस्तै अपराधी र षड्यन्त्रकारी बनाउँछ भन्ने कुरा सिजन–३ का सिरिजहरूमा देखाइएको छ । यो सिरिज हेर्दा कसरी कृष्णले धर्मलाई स्थापित गर्न कौरवहरूले जस्तै नैतिक, अनैतिक सबै काम गर्छन् जब अभिमन्युलाई छलपूर्वक चक्रव्यूहमा मार्छन् भने जस्तै रानी भारतीले पनि हत्या, हिंसा, षडयन्त्रको सहारा लिएर आफ्नो श्रीमान्लाई मारेको बदला लिएको देखाइएको छ । यसमा एउटा द्विविधा रानीमा आएको देखाइन्छ त्यो के भने उनले जुन लडाईं लडेकी छन् त्यो न्यायको लागि हो वा बदलाको लागि ।

तर उनले यी दुइटा कुरामा फरक देख्दिनन् र पटक–पटक मेरो लागि बदला लिनु नै न्याय पाउनु हो भन्छिन् । पछिल्लो सिजन–३ मा उनका राजनैतिक प्रतिद्वन्द्वी तथा शत्रुहरूलाई उनीहरूकै तरिकाले उनीहरूकै शैलीमा परास्त गर्दा कुनै क्राइम थ्रिलर हेरे जस्तो अनुभूति हुन्छ, किनभने हत्या र षड्यन्त्र यस्तो रूपमा गरिन्छ कि कानुनी रूपमा रानी सुरक्षित देखिन्छिन् ।

यो सिरिज मैले हेरेका अन्य सिरिजहरूमध्ये उत्कृष्ट लागेको छ, मैले आफूले मात्रै उत्कृष्ट देखेको हुँ वा यसको रेटिङ पनि उच्च छ भन्ने जान्नको लागि एउटा सार्वजनिक भएको रेटिङ हेरेको थिएँ त्यसमा १० अंकमा ७.९ दिइएको रहेछ ।

राजनीतिको अन्तिम उद्देश्य भनेको देश र जनताको हित हुनुपर्छ भन्ने आम मान्यता हो । सुशासन र विकास दिने नायकको रूपमा स्थापित गर्न खोजिएको सिजन–२ ले सिजन–३ मा बदलालाई केन्द्रित गर्दा अलि खल्लो चाहिं लागेको छ तर यसको कथाको अन्त्य हेर्दा सिजन–४ पनि बन्ने जस्तो देखिन्छ । आशा गरौं सिजन–४ ले कालो बादलमा एउटा सशक्त कथा मार्फत चाँदीको घेरा पनि देखाओस् !

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?