+
+

लुम्बिनीका विहारलाई होटल बनाएको विरोधमा आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १३:२६

१५ चैत, बुटवल । लुम्बिनी विकास कोषको हाताभित्र बनाइएका विहार तथा गुम्बाहरूलाई व्यवसायिक होटल, गेष्ट हाउस बनाएको विरोधमा लुम्बिनीका होटल व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

लुम्बिनी होटल संघ नेपालको नेतृत्वमा व्यवसायीहरूले गुरुयोजना क्षेत्रका विहार तथा गुम्बाहरूमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रूपमा रोक लगाउन माग गर्दै बिहीबारदेखि लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन सुरू गरेका हुन् ।

लुम्बिनी विकास कोषभित्र रहेका विहार तथा गुम्बाहरूले दिनमा २ हजारभन्दा बढी पर्यटक राख्न सक्ने होटल व्यवसायीको दाबी छ । संघले ‘धर्मको नाममा व्यापार नगर’, ‘विहार, गुम्बालाई होटल नबनाऊ’, ‘गरी खान देऊ’ लगायतका नारासहित आन्दोलन थालेको अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले बताए ।

माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय अगाडि शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने उनको भनाइ छ । उनले भने, ‘तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने छौं ।’

लुम्बिनीमा उपलब्ध हुन सक्ने विद्धतवर्गहरूलाई सम्मिलित गरी प्रा. केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड निकालेर सम्बन्धित मन्त्रालयलाई बुझाउने ज्ञवालीले बताए । ७ दिनसम्म माग पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले बताए ।

‘विहार र गुम्बाका नाममा तारे होटल जस्तै सुविधायुक्त कोठा बनाएर पर्यटक राख्दा करोडौं लगानी गरेका व्यवसायी पलायन हुने अवस्था आयो,’ अध्यक्ष ज्ञवालीले भने, ‘विहार र गुम्बा भएका ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभइ व्यापारको थलो बनेकाले रोक्न आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’

संघले समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाएको थियो । व्यवसायीको मागपछि कोषले विहार र गुम्बाहरूलाई व्यवसायिक गतिविधि नगर्न सचेत गराए पनि व्यवहारमा कार्यान्वयन नभएको संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । ‘विहार र गुम्बाहरूकै कारण व्यवसाय नभएपछि लुम्बिनी वरपर खोलिएका १० भन्दा बढी होटल स्थायी रूपमा बन्द भए,’ महासचिव अर्यालले भने, ‘यो वर्ष थप केही होटल बन्द हुने अवस्थामा पुगेका छन् ।’

लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

लुम्बिनीमा बनेको गौतमी भिक्षुणी विहारले दैनिक १५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ  । यस्तै गोल्डेन टेम्पल म्यानमारले २५०, कम्बोडियाको विहारले २००, महाबोधी सोसाइटीले १२०, थाइ र कोरियन विहारले ३००, बज्रयान बिहारले २०० जना पाहुना एकैपटक राख्न सक्छन् ।

चाइना विहारमा २५०, क्यानेडियन विहारमा १२०, सिंगापुरको विहारमा १०० पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन कर्मा साम्तेङ विहार र क्वालाम्पुर विहारले धेरै कोठा निर्माण गरिरहेका छन् । जापनिज स्तूपा, तारा फाउन्डेसन (जर्मन), फ्रान्सको विहार, मनाङ समाज स्तूपालगायतका गुम्बाले भने पर्यटक राख्दैनन् ।

विकास कोषको विनियमावलीमा सम्बन्धित देशले आफैंले डिजाइन गरेको गुम्बा–विहार निर्माण र भिक्षुहरूको सहयोगी बस्नका लागि आवश्यक भवन बनाउन सक्ने व्यवस्था छ । तर गुम्बा सञ्चालकले विनियमावली र कोषसँगको सम्झौतालाई बेवास्ता गर्दै व्यवसायिक प्रयाेजनामा लगाएका छन् । मलेसियाले एट्याच बाथरुमसहित १५० कोठाको ६ तले भवन निर्माण गरिरहेको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले गुम्बामा पर्यटक राख्ने विषयमा व्यवसायीबाट धेरै गुनासो आएका कारण सरोकारवालाको छलफल गराएर निकास निकाल्ने बताउँछन् । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विभिन्न राष्ट्र र बौद्ध समुदायलाई विहार–गुम्बा निर्माण गर्न ९९ वर्षका लागि ४२ प्लट उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?