+
+

आईसीसी अध्यक्ष र राखेप सदस्य सचिवबीच भेट : नेपालमा धेरै प्रतियोगिता गराउन माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १५:४८

६ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल  (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रको टी– २० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राख्न प्रयासरत रहेको बताउदै पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए ।

सदस्य–सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको स्मरण गराए ।

सदस्य–सचिव घिसिङले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी– २० विश्वकपका लागि आईसीसीबाट पनि सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएको आईसीसीलाई धन्यवाद दिए ।

‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको मैले जानकारी पाएको छु । हामीले पनि आईसीसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौं’, सदस्य–सचिव घिसिङले भने ।

सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको जानकारी गराउदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाइदिन आग्रह गरेका छन् ।

नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायतका विषयमा सहयोगका सदस्य सचिव घिसिङले आईसीसीका अध्यक्षलाई आग्रह गरेका छन् ।

अध्यक्ष बारक्लेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउदै सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए ।

आईसीसी अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । भेटका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?