+
+

जाजरकोटमा भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माण गर्न जुट्यो बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १८:००
जाजरकोटको एक विद्यालयको अस्थायी सिकाइ केन्द्र ।

१२ चैत, काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो ।

सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।

भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र बझाङमा गरी ७ सय बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए ।

छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिक राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट तीन जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए ।

यस्तै दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१/८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट विनियोजन नगर्ने सहमति भएको छ ।

सरोकारवालाबाटै उक्त कार्यक्रम प्रभावकारी नभएको गुनासो पटक-पटक आउने गरेको थियो ।

यद्यपि आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए ।

‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?