+
+

जीवनदान पाएका सन्दीप जोरा

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १२ गते २०:१७

१२ चैत, काठमाडौं । सोमबार आयरल्यान्ड ए लाई ६ विकेटले हराउन नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रनको महत्वपूर्ण योगदान दिए ।

१२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।

ओपनर आशिफ सेख १६, कप्तान रोहित पौडेल शून्य र गुल्सन झा ४ रनमा आउट भएपछि नेपाल ४.५ ओभरमा ३७–३ को अवस्थामा पुगेको थियो । पाँचौं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ओपनर कुशल भुर्तेलसँग चौथो विकेटका लागि ५० बलमा ५४ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए ।

गुल्सन झा ४ रनमा क्याच आउट भएपछि मैदान छिरेका सन्दीपले ७ बल खेलेपछि मात्र रनको खाता खोलेका थिए । स्पिनर बेन ह्वाइटको आठौं ओभरको पहिलो योर्कर बलमा रन जोड्न नसक्दा उनी ११ बलमा २ रनको अवस्थामा थिए ।

लगातारको डट बलको दबाबले उनमा हडबडाहट देखिएको थियो । आठौं ओभरको दोस्रो बलमा उनले ब्याट घुमाउँदै ठूलो सट खेले, तर लङअफमा लियाम म्याकार्थीले क्याच छाडेपछि २ रनमा जीवनदान पाए ।

‘त्यो समयमा म आउट भएको भए हामीलाई दबाब हुन्थ्यो होला, क्याच छाड्दा भाग्यमानी भन्नुपर्छ’, खेलपछि सन्दीपले भने, ‘त्यसपछि पाएको अवसरलाई खेर नफालौं जस्तो लाग्यो ।’

त्यसपछि चौथो बलमा जोराले चौका हान्दै राहतको सास फेरे । ११ औं ओभरको पाँचौं बलमा म्याथ्यु हम्फ्रेजलाई स्वीचहिट सटमा सुन्दर छक्का हाने । नेपाल भ्रमणमा आएका आयरल्यान्डका सबैभन्दा ठूला नाम ग्यारेथ डेलानीलाई जोराले १३ औं ओभरको तेस्रो बलमा स्टेटमा छक्का हान्दै नेपाललाई सहज जिततर्फ अघि बढाएका थिए ।

ग्यारेथले चौथो ओभरमा आसिफ र रोहितलाई आउट गर्दै नेपाली टोलीलाई केही समस्यामा पारेका थिए । १४औं ओभरको पहिलो बलमा थोमस मेयर्सले विकेटकिपर स्टेफन डोहेनीबाट ३६ रनमै क्याच आउट गराएपछि सन्दीप अर्धशतकबाट चुके ।

सन्दीप आफूले राम्रो प्रदर्शन गर्न नसक्दा पनि टिमले सपोर्ट गर्दै आएको बताउँछन् । उनी भन्छन्, ‘आज मैले खेल अन्त्य गर्नुपर्ने थियो । कडा मिहिनेत र अभ्यास गर्दा पनि नतिजा नआउँदा दुःख लाग्छ । यस्तै तयारी खेलहरुबाट सिक्दै जाने हो ।’

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानलाई ब्याटिङ सहयोगी पिच मानिन्छ । तर आज आयरल्यान्डसँगको खेल सोचे भन्दा फरक भएको उनले सुनाए ।

‘यसअघि जुन हिसाबले फ्याट विकेट हुन्थ्यो र रन बनेको हुन्थ्यो । तर आज अलि स्लो थियो, स्पिनरमा कुनै पेश र कुनै स्क्रिट भएको थियो । हाम्रा स्पिनरले राम्रो बलिङ गरे’, सन्दीपले भने, ‘कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले फिनिस गर्नु हाम्रो सकारात्मक पक्ष रह्यो ।’

खेल सकिँदा कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित ३७ तथा दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा अविजित थिए ।

सन्दीपले सन् २०१९ मा युएईविरुद्ध टी–२० आईमा डेब्यू खेलमा पाँचौं नम्बरमा खेल्दै ५३ रनको अविजित इनिङ खेलेका थिए । दुई साताअघि त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पाँचौं नम्बरमा ब्याटिङ गरेका उनले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रनको आक्रामक इनिङ खेलेका थिए ।

नेपालको ब्याटिङ तल्लो क्रमसम्म पुग्दा जोराले छैटौं वा सातौं नम्बरमा खेल्दै आएका छन् । त्यसैले राष्ट्रिय टिममा उनको भूमिका अन्यौल जस्तो देखिन्छ । तर सन्दीप भने टिममा आफ्नो भूमिका प्रष्ट भएको मान्छन् ।

‘टिमले मेरो भूमिका क्लियर पारेको छ, मलाई पावर प्लेपछि धेरै ब्याटिङ आउने गरेको छ । मलाई पाँच नम्बरमा बढी सजिलो लाग्छ’, उनी भन्छन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?