+
+

उद्योगहरूमा दैनिक १० घण्टासम्म लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २०:४३

१३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विगत अढाई महिनादेखि अघोषित लोडसेडिङ गरिरहेको छ । गत माघको पहिलो सातादेखि उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले बताएका छन् ।

पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ ।

तर, विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका भने निकालेको छैन । ‘यति बजेदेखि यति बजेसम्म चलाऊ भनेर उद्योगीहरूलाई फोन गरेर प्राधिकरणले भन्ने गरेको छ । तर तालिका दिएको छैन । हरेक दिन बिहान चारदेखि पाँच घन्टा र बेलुका पनि त्यति नै अवधि लाइन काटिने गरेकाले यसलाई अघोषित लोडसेडिङ भन्न सकिन्छ,’ एक उद्योगीले अनलाइनखबरसँग भने ।

नेपाल स्टिल तथा रोलिङ मिल्स एसोसियसनका अध्यक्ष साहिल अग्रवालका अनुसार उद्योगीहरूलाई मौखिक रूपमा बिहान चार घन्टा र बेलुकी चार घन्टा गरी दैखिक ८ घन्टा लोडसेडिङ हुने जानकारी गराइएको छ । ‘तर, त्यसभन्दा बढी नै लोडसेडिङ हुने गरेको छ । कुनैकुनै स्थानमा त १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ,’ उनले भने ।

प्राधिकरणले विराटनगर–इँटहरी, मिर्चैया, वीरगञ्ज–पथलैया, हेटौंडा, भैरहवा–बुटवल तथा नेपालगञ्जलगायत प्रमुख औद्योगिक क्षेत्रमा अघोषित रूपमा लोडसेडिङ गरिरहेको उनले बताए ।

विराटनगर क्षेत्रका उद्योगहरूमा दैनिक ८ घन्टाको दरले लोडसेडिङ भइरहेको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए । भारतबाट विद्युत् आयातमा समस्या हुने भन्ने हल्ला चलिरहेकाले थप लोडसेडिङ हुने हो कि भन्ने चिन्तामा परेको उनको भनाइ छ ।

‘भारतमा पनि विभिन्न ठाउँमा लोडसेडिङ हुने गरेको छ, तर त्यहाँ उद्योगहरूको लाइन सकेसम्म काटिँदैन, शुरुमा घरायसी ग्राहककहाँ लोडसेडिङ हुन्छ, त्यसपछि औद्योगिक क्षेत्रमा,’ उनले भने, ‘औद्योगिक उत्पादनमा समस्या नहोस् भनेर उनीहरूले त्यसो गर्ने गरेका छन् । हाम्रोमा त पहिला उद्योगमा लोडसेडिङ हुन्छ । त्यो पनि अघोषित रूपमा हुने गरेको छ ।’

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले पूर्वी क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्तिमा केही समस्या रहे पनि अन्यत्र भने लोडसेडिङ नरहेको दाबी गरे ।

डेडिकेटेड फिडरको लाइन जोडिएपछि लोडसेडिङ शुरु

नेपाल विद्युत् प्राधिकरणले पुस ६ गतेबाट डेडिकेटेड फिडरको महसुल विवादमा विभिन्न उद्योगहरूमा बिजुलीको लाइन काट्न शुरु गरेको थियो । प्राधिकरणले देशका सबैभन्दा ठूलामध्येका २३ वटा उद्योगको लाइन काटेपछि विद्युत्को माग नै कम भएर लोडसेडिङ गर्नुपरेको थिएन ।

तर, नेपाल सरकार मन्त्रीपरिषद्ले गरेको निर्णयबमोजिम २७ पुसमा प्राधिकरणले उद्योगहरूमा लाइन जोडिदियो । त्यसलगत्तै माघको शुरुदेखि नै प्राधिकरणले उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म लोडसेडिङ गरिरहेको हो ।

उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गर्दा उद्योगको उत्पादन लागत निकै नै महँगो परिरहेको नेपाल स्टिल तथा रोलिङ मिल्स एसोसियसनका अध्यक्ष साहिल अग्रवाल बताउँछन् । ‘नेपालमा यसै पनि उद्योगहरूको उत्पादन लागत महँगो छ, त्यसमा लोडसेडिङका कारण डिजेलबाट बिजुली उत्पादन गर्नुपर्दा त्यो धेरै नै भारी परिरहेको छ,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युतको पिक माग १८ सय ८५ मेगावाट छ । तर, हाल मुलुकको उत्पादन र आयातसमेत गरी जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको प्राधिकरणको तथ्यांक छ ।

त्यसमध्ये ६ सय ८१ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । माग र आपूर्तिबीचको यो खाडलका कारण प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरिरहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?