+
+

म्याग्दीमा भिर पहराबाट निकाल्न थालियो मह

रासस रासस
२०८० चैत १४ गते १६:१५

१४ चैत, म्याग्दी । म्याग्दीका भिर पहरामा मह सिकार सुरू भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भिरबाट मह निकाल्न थालिएको हो ।

अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक पुनले मह सिकारका लागि दोसल्ले भिर आएको बताए । ‘बेँसीका भिरबाट सुरू हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ’, उनले भने, ‘सातजनाको समूह मह सिकारका लागि निक्लिएका छौँ ।’

मह सिकारीले डोरीको सहायताले भिर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।

वसन्त र शरद् ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । दोसल्लेको भिरमा तीन दिनदेखि मह सिकार गरेको दीपकको समूहले ४० लिटर मह निकालेका छन् ।

प्रतिलिटर रु तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरू गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग बढेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?