+
+
ब्लग :

व्यक्ति हत्या : कारण र निवारण

सरकार र समुदाय मिलेर कलेक्टिभ रूपमा विभिन्न कार्यक्रम, कार्ययोजना र नीतिहरू तर्जुमा गरी अपराधलाई कम गर्न सकिन्छ ।

सुजन दाहाल सुजन दाहाल
२०८० चैत १५ गते ११:४०

गत मंसिर २० गते सल्यानमा ४० वर्षीया श्रीमती शितली सार्कीको धारिलो हतियार प्रहार गरी उनका पति डम्मर सार्कीले हत्या गरे । फागुन २१ गते राति मोरङको पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलमा १५ वर्षीया ज्ञानमती थुलुङ राईको ट्वाइलेट जाने क्रममा धिरेनकुमार खाँ चौधरीले धारिलो हतियार प्रहार गरी हत्या गरे ।

विराटनगरमा स्टाफ नर्स चन्द्रिकाकुमारी दासको उनका पूर्वप्रेमी शिवशंकर दासले हत्या गरी शौचालयमा फाले र आफैंले समेत आत्महत्या गरे । यस्तै, सिरहामा ४ दिनको अवधिमा ३ महिलाको हत्या उनीहरूका श्रीमान्बाटै भयो ।

उल्लिखित घटनाहरू हत्या शृङ्खलाका प्रतिनिधि घटना हुन् । नेपाल प्रहरीका अनुसार आ.व. २०७५/७६ मा ६ हजार ९८६, आ.व. २०७६/७७ मा ७ हजार १५५, आ.व. २०७७/७८ मा ८ हजार ५९, आ.व. २०७८/७९ मा ८ हजार ५१० र आ.व. २०७९/८० मा ८ हजार ४५१ जना ज्यान सम्बन्धी अपराध भएको देखिन्छ । तथ्याङ्कले कर्तव्य ज्यानको अवस्था भयावह देखाएको छ ।

नेपाली समाजको आदर्श, मूल्यमान्यता र सभ्यता विपरीत हत्याको कहालीलाग्दो अवस्थाले नेपाली समाजमा असहिष्णुता, असंवेदनशीलता र अपराधीकरण बढ्दै गएको छ भन्न सकिन्छ । जनसंख्याको उच्च वृद्धिले समाजमा आवश्यकता पूर्ति गर्न नसक्दा पनि सोही जनसंख्याकै कारण हत्या जस्ता जघन्य अपराध बढिरहेको कुरामा विवाद छैन ।

हत्याका घटना बढ्नुका कारण र रोकथामका उपाय

हत्या लगायत आपराधिक गतिविधिमा संलग्नलाई कानुनमा दण्डनीय व्यवस्था गरेर कार्यान्वयनमा ल्याए पनि समाजमा अपराध कर्म घटेको पाइँदैन । मृत्युदण्डको व्यवस्था भएको देशमा समेत हत्या भइरहेको देखिन्छ । यद्यपि समाजमा हत्या नियन्त्रण गर्न दण्डमा आधारित कानुनी व्यवस्था त गर्नु नै पर्ने हुन्छ ।

गरिबी, अशिक्षा, भोकमरी, बेरोजगारी, अनुशासनहीनता, उद्दण्डता, आत्मसंयमताको कमि, उत्तेजना, रिस र आवेग, लापरवाही, हेलचेक्र्याइँ, मादक पदार्थको सेवन, आर्थिक व्यवहार, सम्पत्तिमा विवाद, असफल प्रेम सम्बन्ध, अनैतिक यौन सम्बन्ध, विवाहेत्तर सम्बन्ध आदि जस्ता अनेकौं कारणले समाजमा हत्याका घटना बढेको देखिन्छ ।

ज्यान सम्बन्धी कसुर न्यूनीकरण गर्न सकिन्छ, यस्तो अपराध नियन्त्रणमा दण्डप्रधान पद्धति भन्दा रोकथाम प्रधान पद्धति अपेक्षाकृत सफल हुँदै आएको कुरा संसारभरबाट स्पष्ट भइसकेको छ । अपराध भइसकेपछि कारबाही गर्ने कुरा राज्यका लागि बाध्यात्मक भए तापनि अपराध हुनै नदिनेतर्फ ध्यान पुर्‍याउन जरूरी छ ।

अपराधकर्मको कारण र निवारणको उपाय खोजेर अपराध मुक्त समाज निर्माणमा ध्यान दिनुपर्छ । राजनैतिक स्थिरता मार्फत सुशासन कायम गरी विधिको शासनको प्रत्याभूति गराई समाजमा गरिबी, अशिक्षा, बेरोजगारी र अन्य विकृति, विसंगति रोक्न सक्ने हो भने मात्र हत्या न्यूनीकरण गर्न सकिन्छ । सरकार र समुदाय मिलेर कलेक्टिभ रूपमा विभिन्न कार्यक्रम, कार्ययोजना र नीतिहरू तर्जुमा गरी अपराधलाई कम गर्न सकिन्छ ।

अन्त्यमा

नेपालको कानुनले ज्यान सम्बन्धी अपराधलाई सबैभन्दा गम्भीर अपराधको रूपमा स्वीकार गरेको छ । सजायको दृष्टिले हेर्दा पनि ज्यान सम्बन्धी अपराधमा सर्वस्व सहित जन्म कैद र आजीवन कैदसम्मको व्यवस्था त छ तर समाजमा होमिसाइटमा कमि आएको छैन । तसर्थ कानुनको सबलताका साथै हरेक नागरिकमा ज्यान सम्बन्धी कसुरको ज्ञान र उच्च चेतना हुन आवश्यक छ ।

अरूको सुन्दर जीवन आफ्नै जस्तो हो भन्ने आत्मानुभूति हुनै पर्दछ । हत्या नियन्त्रण कठिन कार्य भए तापनि यसलाई न्यूनीकरण गर्न सकिन्छ । समाजको गतिशीलतालाई बुझेर कानुनको समयसापेक्ष सुदृढीकरण गर्दै समाजमा अपराध रोकथामका लागि विविध कार्य गर्दै कर्तव्य ज्यानको दर घटाउनुपर्दछ । राजनैतिक स्थिरता, रोजगारीको उपलब्धता, गरिबी न्यूनीकरण, आवेशको नियन्त्रण र आत्मसंयमतामा वृद्धि गर्दै ज्यान सम्वन्धी कसुर क्रमशः कम गर्दै लैजान सकिन्छ ।

राज्यको समग्र बहुआयामिक विकास तथा समृद्धि र मानिसहरूमा संवेदनशीलताको अनुभूति जागृत भएपछि कर्तव्य ज्यानको कसुर घटाउन सकिन्छ । यसको लागि सबैको भूमिका आवश्यक त छ नै तर सबैभन्दा महत्वपूर्ण भूमिका राज्य सञ्चालक र सरकारको नै हुन जान्छ । अन्यथा, राज्यले कुनै पहल नगर्ने हो भने ज्यान सम्बन्धी कसुरको दर उच्च हुन गई समाज अझ विकृत बन्दै कोही कसैसँग सुरक्षित हुने अवस्था रहँदैन । र सभ्य समाज निर्माण गर्न पनि सकिंदैन ।

(लेखक अधिवक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?