+
+

खर्च जुटाउन हाफ म्याराथन दौडिरहेका दीपक

सरकारको पुरस्कार ऐन अन्तर्गत एसियाली स्तरमा स्वर्ण जित्ने खेलाडीले १० लाख रुपैयाँ पाउँछन् । सरकारबाट त्यो रकम पाउने आशामा उनका दिनहरु बितेका छन् ।

भुपेन्द्र जिसी भुपेन्द्र जिसी
२०८० चैत १६ गते ९:११

१६ चैत, काठमाडौं । धावक दीपक अधिकारीले डेढ महिनामा दुई हाफ म्याराथन जिते । ७ माघमा राइट टु प्रोटिन रनमा २१ किलोमिटर दौडमा स्वर्ण जितेका उनले १९ फागुनमा आर्मी डेको दिन पनि हाफ म्याराथनमा पहिलो भए ।

कुनै पनि धावकलाई डेढ महिनामा दुई हाफ म्याराथन दौडिनु सहज होइन । ‘शरीरलाई रिकभर टाइम नपुग्ने हुँदा एकै महिनामा दुई हाफ म्याराथन गाह्रो नै हुन्छ,’ दीपकले अनलाइनखबरसँग भने, ‘मेरो र गुरुको निरन्तर मिहिनेतले सम्भव भयो ।’

दीपकले दौड पुरा मात्र गरेनन्, दुबै पटक स्वर्ण पदक जिते । तर हाफ म्याराथन दौडिनु उनको रहर होइन, बाध्यता हो ।

१३औं दक्षिण एसियाली खेलकुद २०१९ मा दीपकले १० किलोमिटर दौड ३० मिनेट ५०.०६ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेका थिए । गत वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १० किलोमिटर ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानका साथ स्वर्ण जित्न सफल । उनले गोपीचन्द्र पार्कीको १० किलोमिटरमा ३० मिनेट ३०.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका थिए ।

सफलता अनि संकट

गत वर्ष स्वदेशमै सम्पन्न १६औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप पुरुषतर्फ १० किलोमिटर दौडमा धावक दीपक अधिकारीले ऐतिहासिक स्वर्ण पदक जिते । यस प्रतियोगितामा नेपालबाट स्वर्ण जित्ने दीपक पहिलो धावक थिए ।

उनले निर्धारित दूरी ३३ मिनेट ५२.०१ सेकेन्ड तथा जापानका डाइची कामिनो ३३ मिनेट ५२.०६ सेकेन्डमा पूरा रजत जितेका थिए । दुबै खेलाडी एकै पटक पुगेपछि फोटो र भिडियो हेरेर (फोटो फिनिस) बाट दीपक स्वर्ण विजेता बनेका थिए ।

६ महिना अघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा पदक जित्न नसके पनि उनले २९ मिनेट ३५.०६ सेकेन्डमा पूरा गर्दै आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए । ‘म १० किलोमिटरमै फोकस छु’ दीपक भन्छन्, ‘तर आर्थिक अवस्थाका कारण अफसिजनमा २१ किलोमिटर दौडिने गरेको छु ।’

दीपकका अनुसार दौडको समयमा लगाउने जुत्ता किन्न मात्र पनि ३०/४० हजार खर्चिनु पर्छ । त्यो जुत्ता ५/६ महिनाभन्दा बढी टिक्दैन । ‘हाफ म्याराथन खेलेर आएको पैसा जुत्ता र कपडा किन्न पनि गाह्रो हुन्छ’ दीपक भन्छन्, ‘त्यसैले हाफ म्याराथन खेलेर पुरस्कार रकमबाट अपुग खर्च जुटाउनुपर्छ ।’

नेपालमा पछिल्लो एक वर्षमा खेलकुद क्षेत्रमा प्रदान गरिने अधिकांश सबै अवार्ड दीपकले जितेका छन् । तर एसियाली स्तरमा स्वर्ण जितेको १४ महिना हुँदासम्म उनले सरकारबाट पाउनुपर्ने पुरस्कार पाएका छैनन् ।

सरकारको पुरस्कार ऐन अन्तर्गत एसियाली स्तरमा स्वर्ण जित्ने खेलाडीले १० लाख रुपैयाँ पाउँछन् । सरकारबाट त्यो रकम पाउने आशामा उनका दिनहरु बितेका छन् ।

‘हामीले भन्ने संघलाई हो । संघमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) हुँदै खेलकुद मन्त्रालय जाने हो । त्यो पुरस्कार आउँछ भन्ने आशा र पूर्ण विश्वास छ,’ उनले भने, ‘खेलकुद मन्त्री र सदस्य सचिवले अध्ययन गरिराख्नु भएको होला ।’

युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले बिहीबारमात्र एक भिडियो सार्वजनिक गर्दै राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि नपाएको पुरस्कार दिलाउने प्रक्रिया थालेको र त्यसका लागि प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुराकानी गरेको जनाएका छन् ।

नेपाल र विदेशी खेलाडीमा सरकारको लगानी दीपकले देखेको सबैभन्दा फरक हो । ‘विदेशी खेलाडीहरुलाई सरकारबाट नै धेरै राम्रो सेवा सुविधाहरु हुन्छ । वर्षभरी नै उनीहरुलाई प्रशिक्षणमा राखेर निखारिएको हुन्छ । नेपालमा प्रतियोगिता सुरु हुन भन्दा दुई–तीन महिना अघिबाट तयारी थालिन्छ । वर्षभरी प्रशिक्षणमा राख्ने हो भने विदेशी खेलाडीसम्म नेपाली पनि पुग्न सक्छन्’, उनले भने ।

आर्मीमा जुरेको अवसर र ओलम्पिक सपना

धादिङको गंगाजमुना गाउँपालिका–६ मा जन्मिएका दीपकको बाल्यकाल गाउँमै बित्यो । पढाइ सँगसँगै परिवारलाई घरको काममा सघाएका उनले खेलाडी बन्ने कल्पना पनि गरेनन् । कक्षा १२ पास गरेपछि रोजगारीका लागि फौजमा भर्ती हुने सोचे ।

२०७१ सालमा सिपाहीमा नाम निकालेपछि तालिमका लागि त्रिशूली तालिम केन्द्रमा पुगे । हरेक दिन कठिन तालिम गर्दा उनलाई दौडिन सामान्य लागिसकेको थियो । तालिमपछि छाउनीस्थित जगदलमा दरबन्दीमा परे । त्यहाँ हुने दौडमा सबैमा प्रथम हुन थाले । गणको नेतृत्व गर्दै छाउनीमा आएर दौडिन थाले ।

सुरुमा पुरस्कार जित्न नसके पनि उनलाई दौडिन पाउँदाको मजा र आनन्द बेग्लै थियो । त्यहिँबाट सुरु भयो, धावक बन्ने सपना । धावकमा राम्रो सम्भावना देखेपछि २०७५ सालमा राजेन्द्र भण्डारीले त्रिभुवन आर्मी क्लबमा लिएर आए । आर्मीको क्लब टोलीमा रहेर प्रशिक्षण गरेपछि उनले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थाले । २०७६ सालको सुरुवातमा आर्मीबाट दुई स्वर्ण जिते । त्यही वर्षको मंसिरमा नेपालमै भएको साग खेल्ने अवसर पाए ।

आफ्नो सफलतामा आर्मीको योगदान महत्वपूर्ण रहेको धावक दीपक बताउँछन् । ‘जित्छु भनेको खेल हार्दा अलिकति नर्भस भइन्छ, तर मैले खेल हारेँ भनेर छोड्यो भने प्रगति गर्न सकिँदैन,’ उनी भन्छन्, ‘हारले पनि केही सिकाउँछ । अर्को पटक उत्कृष्ट गर्छु भन्ने मनोबलका साथ प्रशिक्षणमा ध्यान दिनुपर्छ ।’

अहिले उनको लक्ष्य छ, १० किलोमिटरमा ओलम्पिक दौडिने । दीपक आत्मविश्वासी सुनिए, ‘मेरो लक्ष्य ओलम्पिक खेल्ने छ, शतप्रतिशत मिहिनेत गरेर ओलम्पिक खेल्छु ।’

अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिताहरुमा नेपाली खेलाडीले कमै पदक जितेका छन् । ओलम्पिकमा त सहभागिता नै ठूलो हुने गरेको छ । दीपक भने सरकारको समेत साथ रहने हो भने अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न असम्भव देख्दैनन् ।

‘वर्षभर बन्द प्रशिक्षणमा अभ्यास गर्नुपर्छ । खाना, ट्रेनिङ, चिकित्सकदेखि हरेक कुरा सरकारले हेरिदिनुपर्छ । त्यसो गर्दा एक न एक दिन सफलता मिल्छ । नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय स्तरमा मेडल ल्याउन सक्छन्’ दीपकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?