+
+

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १७:०५

१६ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ३५ वर्षीय रूपेशकुमार ठाकुर, सर्लाहीकी बरहथवा नगरपालिका–३ का ३० वर्षीय कृष्णकुमार राई, बाजुराको हिमाली गाउँपालिका–६ का ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुरको चापागाउँका ४६ वर्षीय जीवन तामाङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

रूपेशले क्यानडा, पोल्याण्ड, माल्टा, क्रोएसिया पठाउने भन्दै २२ जनाबाट ८० लाख रुपैयाँ उठाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले बताए । उनले एक महिनासम्म दिल्लीमा राखेरसमेत विदेश नपठाएपछि पीडितहरू प्रहरीकोमा पुगेका थिए । ६ महिनाको खोजीपश्चात रूपेशलाई स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कृष्णले क्यानडा र पोल्याण्ड पठाउने भनेर ३० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । उनले टप च्वाइस एजुकेशन कन्सलटेन्सीबाट विभिन्न देशमा वर्किङ भिसामा पठाउने भन्दै रकम लिएर ठगी गरेको आरोप छ ।

पर्वराजले जापान पठाइदिन्छु भनेर ६ लाख ठगी गरेको आरोप छ । जीवनले भने न्युजील्याण्ड पठाउने भनेर १ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?