+
+

न्युजिल्यान्डका अलराउन्डर कोरी एन्डरसनले अमेरिकाबाट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १८:५३

१६ चैत, काठमाडौं । न्युजिल्यान्डका पूर्व क्रिकेटर कोरी एन्डरसनले अब अमेरिकी टिमबाट खेल्ने भएका छन् ।

अमेरिकाले ७ अप्रिलबाट क्यानडासँग खेल्ने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टिममा ३३ वर्षीय एन्डरसन छनोट भएका हुन् ।

२०१८ सम्म न्युजिल्यान्डबाट खेलेका एन्डरसनले ६ वर्षपछि अमेरिकाबाट खेल्ने भएका हुन् । उक्त समय न्युजिल्यान्डका उत्कृष्ट अलराउन्डर रहेका एन्डरसन चोटका कारण टिमबाट बाहिरिएका थिए ।

मोनाङ्क पटेलको कप्तानीमा पाँच दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको अमेरिकाको टोलीमा न्युजिल्यान्डका अलराउन्ड एन्डरसन छन् ।

विश्वकप २०२४ का लागि वेष्ट इन्डिजसँग सह-आयोजकको रूपमा रहेको अमेरिकाको लागि यो सिरिज निकै महत्वपूर्ण रहेको छ । अमेरिकाले आउँदो मेमा बंगलादेशसँग पनि टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ ।

अमेरिकी टिमको कप्तानी गरिरहेका मोनाङक भन्छन्, ‘यो सिरिज हाम्रो लागि निकै महत्वपूर्ण छ । हाम्रो टिममा केही नयाँ अनुहार पनि छन् । टी-२० विश्वकपअघि हाम्रो लागि यसले तयारी गर्न मद्दत गर्नेछ ।’

मोनाङ्कले भनेजस्तै टिममा धेरै नयाँ अनुहार भने छैनन् । मोनाङ्क र जोन्स टिममा अनुभवी खेलाडी हुन् भने एन्डरसनले आफ्नो पूर्व टिमबाट राम्रो अनुभव लिएर अमेरिका आएका छन् । एन्डरसनले न्युजिल्यान्डमा १३ टेष्ट, ४९ एकदिवसीय र ३१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले २०१३ मा पहिलो पटक न्युजिल्यान्डबाट खेल्न सुरू गरेका थिए । २०१५ मा सह-आयोजक रहेको न्युजिल्यान्ड विश्वकपको फाइनल पुग्दा एन्डरसन टिमको सदस्य रहेका थिए ।

उनले २०१४ मा न्युजिल्यान्डबाट खेल्दा वेष्ट इन्डिजविरुद्ध सर्वाधिक छिटो शतक हान्ने खेलाडीको रेकर्ड बनाएका थिए । उनले ३६ बलमा १४ छक्का र ६ चौका सहित १३१ को अविजित पारी खेलेका थिए । उनको यो रेकर्ड २०१५ मा एबी डि भिलियर्सले तोडेका हुन् । उनले भने ३१ बलमा शतक प्रहार गर्दै एन्डरसनको रेकर्ड तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?