+
+

सेतीमा हामफालेका सुगमको एक महिनादेखि खोजी जारी, सोमबार ड्याम खोलेर खोज्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १४:४४

१८ चैत, पोखरा । सेती नदीमा एक महिना अघि वेपत्ता सुगम बास्तोला अझै फेला परेका छैनन् । उनलाई खोज्ने क्रममा प्रहरीले सेती नदी थुन्ने र खोल्ने गर्दै आएको छ ।

प्रहरीले फेरि एकपटक सेती नदीको ड्याम खोलेर खोजी गर्ने भएको छ । परिवारका सदस्यले पुनः सेती नदीको ड्याम खोली खोजतलास गरिदिन आग्रह गरेपछि प्रहरीले चैत १९ गते दिउँसो १ बजे ड्याम खोल्न लागेको हो ।

गत फागुन १८ गते कास्कीको पोखरा महानगरपालिका वडानम्बर ११ बस्ने सुगम बास्तोला पोखरा महानगरपालिका वडा नं. ३ स्थित नदीपुर पुरानो पुलबाट सेती नदीमा हामफालेर बेपत्ता भएका थिए । त्यतिबेलै नेपाल प्रहरीको उद्दार टोलीले घटनास्थलमा खोजतलास गरेको थियो । खोज्ने क्रममा फागुन २२ गते सेती नदीको पानीको बहाव बढाई खोजतलास गरेको थियो ।

त्यतिबेला बास्तोला नभेटिएपछि परिवारका सदस्यले ‘पुनः सेती नदीको ड्याम खोली खोजतलास गरी दिनुहुन’ भन्ने व्यहोराको निवेदन दिएका थिए । त्यसैले चैत १९ गते दिउँसो १ बजेदेखि पोखरा महानगरपालिका वडा नं. १६ दीपस्थित ड्याम खोल्न लागिएको हो ।

ड्याम खोल्दा नदीको तल्लो तटीय क्षेत्रमा बहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान कास्की प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

‘सेती नदीमा पानीको बहाव बढाई खोजतलास गर्नु पर्ने भएकाले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ,’ कास्की प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?