
१८ चैत, काठमाडौं ।१५ वैशाखमा उपनिर्वाचन हुने इलाम-२ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार चयन गरिसकेका छन् ।
एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई राईलाई उम्मेदवार बनाएका छन् ।
जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।
कांग्रेसको जिल्ला र प्रदेश समितिबाट ७ जनाको नाम सिफारिस भएर आएको छ । तर केन्द्रीय समितिले उम्मेदवार चयन गर्न सकेको छैन ।
कांग्रेस विधान अनुसार तल्लो तहले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि जिल्ला र प्रदेश समितिले भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ ।
सभापति शेरबहादुर देउवाले इलाम सभापति डम्बर खड्कालाई १८ चैतमा उम्मेदवार तय गर्ने बताएका थिए । तर महामन्त्री विश्वप्रकाश शर्मा स्थलगत अवस्था बुझेर फर्केपछि टुंगो लगाउने भनिएकाले थप दुई दिन ढिलो भएको खड्काले बताए ।
सभापति देउवाले मंगलबारका लागि कार्यसम्पादन समितिको बैठक डाकेका छन् । कार्यसम्पादन समिति उम्मेदवार बारे छलफल गराएर संसदीय बोर्डबाट अनुमोदन गरिने भएको छ ।
संसदीय बोर्डको बैठक भने आह्वान गरिएको छैन । संसदीय बोर्डले पूर्णता भने पाइसकेको छैन । गत चुनावमा १४ पदाधिकारी र नेता रामचन्द्र पौडेल थप गरेर संसदीय बोर्ड बनाई टिकट वितरण गरिएको थियो ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले इलाम-२ र बझाङ प्रदेश सभा (क) मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । आइतबारसम्म माओवादीले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
माओवादीले आफ्ना उम्मेदवारलाई सहयोग गर्ने अपेक्षा एमालेले राखेको छ । शनिबार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा माओवादीले सहयोग गर्न बताएका थिए ।
एमाले अध्यक्ष ओलीले उपनिर्वाचनमा अन्तिम समयमा सघाउन माओवादी केन्द्र तयार हुने दाबी गरे । शनिबार उनले भने, ‘अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ ।’ कांग्रेसलाई जिताउन नमिल्ने भएकाले माओवादीले एमालेलाई नै सघाउने ओलीको दाबी छ ।
इलाम-२ मा माओवादीले छुट्टै उम्मेदवार बनाउने उक्त दलका कोशी अध्यक्ष हर्क नेम्बाङले बताए । ‘जिल्लाको बैठक बसिरहेको छ । साँझसम्म जिल्लाले टुंगो लगाएन भने प्रदेश कमिटीले आजै केन्द्रमा नाम सिफारिस गर्दछ’, नेम्बाङले अनलाइनखबरसँग भने ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४ चैतमा उम्मेदवार दर्ताको समय तालिका बनाएको छ ।
प्रतिक्रिया 4