 
																			२० चैत, पोखरा । नयाँ सत्ता समीकरणअनुसार गण्डकी प्रदेशको नेतृत्व एमालेले पाउने भनिए पनि शीर्ष तहको निर्णय अझै सार्वजनिक भएको छैन ।
एमालेले गण्डकीको नेतृत्व आफूले नै पाउने निर्णय भइसकेको दाबी गरिरहँदा माओवादी गण्डकी प्रदेशको शीर्ष टोली दबाब बढाउन काठमाडौं गएको छ ।
माओवादी गण्डकी प्रदेशका इन्चार्ज दीनानाथ शर्मा, सह-इन्चार्ज हरि अधिकारी, गण्डकी अध्यक्ष गायत्री गुरुङ, संसदीय दलका नेता हरिबहादुर चुमान लगायतको टोली माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेतालाई भेट्न पुगेका हुन् ।
गण्डकीमा आलोपालो भए पनि पहिलो पालो आफ्नो भएको माओवादीको दाबी छ । शीर्ष नेताहरूलाई भेट्न काठमाडौं पुगेको टोलीले सरकार बनाउन पनि माओवादीलाई सजिलो हुने बिफ्रिङ नेतृत्वलाई गरिरहेको छ ।
‘गण्डकीको नेतृत्वबारे सहमति भएको होइन । धेरै सांसद भएकै कारणले एमालेले पाउने चर्चा हुन सक्ला तर निर्णय भइसकेको छैन,’ गण्डकीका सह-इन्चार्ज हरि अधिकारीले भने, ‘हामी त गण्डकीमा यसपटक माओवादी नेतृत्व हुनुपर्छ भन्ने पक्षमै छौं ।’
तनहुँबाट विजयी हुँदै दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभा छिरेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले यसपटक जसरी पनि मुख्यमन्त्री पाउनुपर्ने अडान राखिरहेका छन् । ४ चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरा आइपुगेका प्रचण्डलाई प्रदेश कमिटीले पनि यही कुरा राखेको थियो ।
त्यो बेला नेता कार्यकर्ताकासामु प्रधानमन्त्री प्रचण्डले यसपटक माओवादीले नेतृत्व पाउने बारेमा गठबन्धनमा कोही असहमत नरहेको बताएका थिए । चुमान अघिल्लो कार्यकालमा पनि मुख्यमन्त्रीको दाबेदार थिए ।
१० पुस २०७९ मा केन्द्रमा एमाले, माओवादीसहितको गठबन्धन बनेपछि एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री भए । चुमानले भौतिक पूर्वाधार मन्त्रीमा चित्त बुझाए ।
एमालेसहितको गठबन्धन टुटाउँदै प्रचण्डले फेरि कांग्रेससँग गठबन्धन गर्दा चुमानले मुख्यमन्त्रीका निम्ति दाबी गर्दै काठमाडौं गएका थिए । तर आलोपालो गर्ने सर्तमा त्यतिबेला कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बने ।
अहिले फेरि गण्डकीमा एमालेले मुख्यमन्त्री दाबी गरेपछि चुमानसहितका नेताहरूले शीर्ष नेतृत्वलाई दबाब दिइरहेका छन् । आलोपालो पछि जे पनि हुन सक्ने भएकाले माओवादीले अहिले त्यो अवसर गुमाउन नचाहेको बताइरहेको छ ।
नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीको ह्विप लाग्ने, दीपक मनाङेले सहयोग गर्ने र राप्रपा पनि सकारात्मक रहेको भन्दै टोलीले नेतृत्वलाई दबाब दिइरहेको छ ।
माओवादीले नेतृत्व गरिरहेको कर्णाली एमालेले पाउने भएपछि यसपटक गण्डकी माओवादीलाई दिन उनीहरूको माग छ । गण्डकीमा माओवादीले सधैं अर्कालाई काँधमात्रै दिनुपर्ने अवस्थाको अन्त्य गरिदिन आफूहरुले माग गरेको चुमानले बताए ।
तर गठबन्धनको शीर्ष नेतृत्वले मुख नखोल्दा गण्डकीको सत्ता समीकरणमा तनाव बढेको देखिन्छ । एमाले र माओवादी दुवैले जसरी पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने बताइरहेका छन् ।
नेतृत्वले उचित परिस्थितिमा मुख खोल्ने र एमाले नेतृत्वमा सरकार बन्ने एमाले संसदीय दलका नेता खगराज अधिकारीले बताए । प्रमुख सचेतक गोविन्द नेपालीको भनाइ पनि अधिकारीको जस्तै छ ।
नेतृत्व एमालेले लिने र राप्रपालाई समेत मिलाउने भन्दै खगराज अधिकारी काठमाडौं पुगेका थिए । उनलाई शीर्ष नेताहरूले संकेत दिए पनि अझै स्पष्ट जवाफ सुनाइसकेका छैनन् ।
राप्रपा अनिर्णित हुँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएर ठूलो दलको हैसियतले फेरि आफू मुख्यमन्त्री बन्ने भन्दै सांसदहरूसँग छलफल थालेका छन् ।
बुधबारसम्म मुख्यमन्त्रीबाट राजीनामा दिने र राप्रपाले तत्काल निर्णय नगर्दा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलबाट सरकार नबनेपछि १६८ (३) बमोजिम ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री हुने योजना पाण्डेको छ ।
गण्डकीमा एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन् । जुन संख्या सरकार बन्न पर्याप्त छैन । गण्डकीमा सरकार बनाउन राप्रपा निर्णायक देखिन्छ । राप्रपाको २ सिट छ । स्वतन्त्र सांसद दीपक मनाङ्गे वर्तमान सरकारमा मन्त्री बनिसकेका छन् ।
गण्डकी प्रदेश ६० सदस्यीय हो । जहाँ कांग्रेसका २७ सांसद छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4