+
+

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

गत आव २०७९/८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १९:४९
फाइल तस्वीर

२० चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमास (साउन–पुस) मा ४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार २०७९/८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको हो ।

यस त्रैमासमा अर्थतन्त्र वृद्धि हुनुमा धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धि मुख्य कारण मानिएको छ । होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले समग्र अर्थतन्त्रमा योगदान गरेको छ ।

व्यापार क्षेत्रमा झिनो वृद्धि तथा उद्योगबाहेक अन्य क्षेत्रमा समेत सकारात्मक वृद्धि भएको कार्यालयले जनाएको छ । २०८०/८१ को पहिलो त्रैमासको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत हेर्दा सबैभन्दा धेरै वृद्धि आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको २९.३ प्रतिशतले वृद्धि भएको छ । ग्यास क्षेत्रमा १७.१ प्रतिशत वृद्धिदर भएको छ । यातायात तथा भण्डारण क्षेत्रमा १४.३ प्रतिशत वृद्धि देखिएको छ ।

त्यस्तै खानी तथा उत्खनन क्षेत्रमा ९.४ प्रतिशत वृद्धि भएको छ । निर्माण क्षेत्रमा भने २.२ प्रतिशतको संकुचन आएको छ । वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशत छ । थोक तथा खुद्रा व्यापार भने ०.५ प्रतिशत मात्र बढेको छ ।

चालु आवसँग तुलना गर्दा पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १२ क्षेत्रमा वृद्धि भएको छ भने ६ क्षेत्रमा संकुचन आएको छ । विद्युत्, ग्याँस, आपूर्ति सेवा क्षेत्रमा सबैभन्दा धेरै ९.३ प्रतिशत वृद्धि भएको छ । यातायात र भण्डारणमा ६.५ प्रतिशत वृद्धि भएको छ । कृषिमा २.६ प्रतिशत वृद्धि भएको छ ।

यस वर्ष सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि प्राप्त हुने बजेटमा अनुमान गरेको थियो । कार्यालयको तथ्यांकले लक्ष्यभन्दा धेरै कममात्र आर्थिक वृद्धि हुने देखिन्छ । यसअघि मंगलबार नै विश्व बैंकले यस वर्ष ३.३ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?