 
																			२२ चैत, बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ ।
प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो । मुख्यमन्त्री चौधरीले बहुमत जुटाउने प्रयास गरेपनि असफल भएपछि राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेसकै एक सांसदले जानकारी दिए ।
‘आज बिहानसम्म पनि विश्वासको मत लिने तयारी थियो,तर अहिले मुख्यमन्त्रीले राजीनामा दिने कुरा आएको छ’, उनले भने, ‘अहिले १ बजे संसदीय दलको वैठक छ, संभवतः मुख्यमन्त्रीले राजीनामा दिने जानकारी गराउनुहुन्छ होला ।’
बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले फागुन २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ ।
बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, राप्रपाका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३, जनमतका ३, जनमोर्चा र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक जना प्रदेशसभा सदस्य छन् ।
नयाँ सत्ता गठबन्धनको आधारमा एमालेका २९, माओवादीका सभामुख बाहेक १०, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेका छन् ।
माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता जोखबहादुर महराले भोलि नै शपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4