+
+

कोशीमा राज्यमन्त्रीको एनजीओलाई २ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:५३

२२ चैत, विराटनगर । कोशी सरकारले आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले सञ्चालन गरेको गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट पाएको छ ।

केयर वुमन नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ करोड ८० लाख र पार्क निर्माणका लागि २५ लाख रुपैयाँ बजेट पाएको हो । उक्त एनजीओको भवन राज्यमन्त्री थापाकी आमा दुर्गादेवीको नाममा रहेको जग्गामा निर्माण गरिएको छ ।

भवन निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले ८० लाख र कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

कोशीको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित संस्थाको जग्गामा भवन बनाउन एक करोड रुपैयाँ विनियोजन गरेको हो ।

२७ असोजमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसभित्र बिद्रोह गर्ने ८ जना सांसदमध्ये थापा पनि एक हुन् । डा. शेखर कोइरालासँग निकट रहेकी थापा सामानुपातिक प्रणालीबाट कोशी प्रदेशसभा सदस्य चुनिएकी हुन् । मुख्यमन्न्त्री कार्कीले बनाएको बजेटमा थापाले भवन निर्माण र पार्क निर्माणका नाममा बजेट पार्न सफल भएकी हुन् ।

पाख्रिबास नगरपालिका– ८ मुगामा रहेको संस्थाको कार्यालयमा पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन पूर्वाधार आयोजनाले पार्क र पूर्वाधार निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

पाख्रिबास–४ मा रहेको उक्त संस्थाको भवन निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको सहरी विकास तथा भवन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरेशप्रसाद साहले बताए ।

२०७६ सालमा पनि केयर वुमेन नेपाल पाख्रिबास–८ मुगाको नाममा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटबाट भवन निर्माण गरिएको थियो । सोही संस्थालाई २०७७ सालमा ५० लाख रुपैयाँ बजेट परेको थियो ।

जग्गा संस्थाको नाममा आउँछ : राज्यमन्त्री थापा

राज्यमन्त्री थापाले भने आफ्नी आमाको नाममा रहेको जग्गा संस्थाको नाममा आउने बताएकी छन् । उनकी आमाको निधन भइसकेको छ भने दाजुहरु अमेरिकामा छन् ।

‘ममी खसेको २५–३० वर्ष भयो, सबै (दाजुहरु) अमेरिकामा हुनुहुन्छ, जग्गाको वास्ता भएन, मैले त्यहाँ भवन बनाउछु, भन्दा दाइहरुले बनाउनू आएर पास गरिदिन्छु भन्नुभएको छ’, उनले भनेकी छन् ।

उनको संस्थाले महिला स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ । सन् २०१२ मा स्थापना भएको संस्थाले धनुकटालाई केन्द्र बनाएर महिलाको क्षेत्रमा काम गर्दै आएको छ ।

महिलालाई निशुल्क स्वास्थ्य सेवा प्रवाहका लागि पाख्रिबास– ४ मा भवन निर्माण गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?