+
+

प्रचण्डले सांसद पदबाट राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते २०:२९

२२ चैत, गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठर्ने उनले बताए ।

‘प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो त्यसलाई अर्काे निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुदैन’, बिहीबार गोरखामा पत्रकारहरुसँग उनले भने, ‘उहाँले पूर्वगठबन्धनलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा निर्वाचन जित्नुभएको छ उनीहरुलाई धोका दिएको ठहर्छ । त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’

गोरखा–२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो ।

प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि भएको उनले बताए । विगतमा पार्टीभित्रको सत्तामुखी रहेका प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको उनको आरोप छ ।

‘विगतको मेरो उहाँसँगको सहकार्यले के देखाउँछ भने उहाँ असाध्यै पार्टीको सत्तामुखी अब राज्यको सत्तामुखी देखिन थाल्नुभयो । उहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ । आफ्नो सत्ता र शक्तिका लागि जे पनि गर्न सक्नुहुन्छ,’ भट्टराईले भने ।

प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर प्रचण्डले गठबन्धन परिवर्तन गर्ने गरेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको सन्दर्भमा कुरा गर्दै भट्टराईले माओवादी केन्द्रलाई सहयोग गर्न नसक्ने बताए । कसलाई सहयोग गर्ने भन्ने बिषयमा आवश्यकताका आधारमा निर्णय गर्ने उनले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म माओवादी केन्द्रले हामीलाई षड्यन्त्रमूलक ढंगले धोका दिने काम गरेको र उसका गतिविधि अलोकतान्त्रिक देखिएका छन्, त्यसैले तत्काल उनीहरुलाई साथ दिन सक्ने अवस्था छैन ।’

नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनलाई सहयोग नगरेमा गठबन्धन भन्दा बाहिर बहुमत पुग्ने अवस्था छ ।

अहिले कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन आह्वान भएको छ । नयाँ सरकार गठनका लागि कांग्रेसलाई सहयोग गर्ने वा नगर्ने पनि निर्णय भइनसकेको भट्टराईले बताए । ‘अर्काे पक्षसँग पनि हाम्रो कुरा मिल्छ मिल्दैन टुंगो छैन । त्यसैले केही समय पर्ख र हेर कै अवस्थामा छौ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?