२४ चैत, काठमाडौं । अर्जुन कुलुङले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै चौथो मञ्जुश्री ट्रेल रेसको उपाधि शनिवार जितेका छन् ।
खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल रेस ‘मञ्जुश्री ट्रेल रेस’ को विभिन्न विधामध्ये १०० माइलको रेसमा दूरी अर्जुनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् ।
उनले सन् २०२२ मा आफ्नै नाममा राखेको ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको रेकर्ड तोडेका हुन् ।
यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भएका छन् ।
आफ्नै रेकर्ड तोड्दै दोस्रो पटक च्याम्पियन बनेका कुलुङले एकदमै खुशी लागेको सुनाए ।
सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने रेसभन्दा मञ्जुश्री ट्रेल रेसको महत्व बढ्दै गएको बताउँछन् । त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि रेसमा सहभागी भएको उनले सुनाए ।
उनले भने,’यस रेस एकदमै व्यवस्थित थियो । काठमाडौंमै सम्भव भइरहेको यस रेसले हामीजस्ता रेसलाई शोख र पेसा बनाएर दौडिरहेकाहरूलाई उत्तम प्लेटफर्म र अवसर दिएको छ ।’
शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट सय माइलको रेस सुरू भएको थियो । रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल ९ हजार ८ सय मिटरको उचाइ लिएका थिए । उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको थापाले बताए ।
यस्तै एक सय किलोमिटर रेसमा पुरुषतर्फ मन कुमार रोका मगर विजेता बने । उनले १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा रेस पूरा गरे । १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

५० किलोमिटर रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने । यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमश: ७ घण्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन् । चोटबाट रिकभर भएकी रशिलालाई पछि पार्दै प्रिमिय विजेता बनेकी हुन् ।
यस्तै पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमश: ८ घण्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घण्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए ।

यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वत: एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए । उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन् ।
त्यस्तै ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने । यस्तै ४ घण्टा ५७ मिनेट २९ सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डमा रेस सम्पन्न गरेर एण्ड्रियु एलकक तेस्रो भएका छन् ।
यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन् ।
बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।
१० किलोमिटर रेस एक घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । यस्तै एक घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् ।
अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत सम्पन्न गरिएको छ । जसमा भिन्न रुपले सबल बाल-बालिकाहरूको रेस भएको थियो ।
नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।
रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको रेस झुलेबाट, ५० किलोमिटरको रेस बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस फर्पिङको डोल्लुबाट सुरू भएको थियो ।
ट्रेलमाण्डुको यो रेस ५ स्टेज रेसको फाइनल रेस हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिएको यस रेसमा १०० जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।
शुक्रबार र शनिबार भएको विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ । सहभागी धावकमध्ये यस्तै २ सय ८९ जना पुरुष र ३५ जना महिला धावक रहेका थिए । विभिन्न चरण मध्ये सय माइलको रेसमा ४ महिला सहित १८ धावक सहभागी थिए ।
यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष थापाले जानकारी दिए ।
मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका लागि आकर्षण बनेको छ । हिमालय शृङ्खला, काठमाडौँ उपत्यका, जङ्गल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।
१०० माइल यस लामो रेस नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने रेस पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको अध्यक्ष थापाले बताए । चेक प्वाइन्टमा धावकहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको थियो । जसका लागि ट्रेलमाण्डुसँग सहकार्य गरिएको उनले बताए ।
पछिल्लो समयमा ट्रेलमाण्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै यो ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जिपियस नक्साङ्कन गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन् । ‘आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।’
यस रेसमा हालै गठन भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट पनि यो रेसलाई विशेष रुपमा हेरिएको तथा सहयोग रहेको थियो ।
एक सय माइलको रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष थापाले जानकारी दिए ।
यसैगरी सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ४० हजार, २५ हजार र १५ हजार तथा ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय भएकाहरूलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र दिइएको छ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4