+
+

आईपीएल २०२४ मा २७ करोडमाथि मूल्य पाउने ५ खेलाडीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १९:२७

२६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवातमा सर्वाधिक महँगो मूल्य पाउने खेलाडीको प्रदर्शन अपेक्षा अनुसार छैन । आईपीएल इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने मिचेल स्टार्क सुरुवाती दुई खेलमा विकेटविहीन बनेका थिए ।

राजस्थान रोयल्स सुरुवाती चार खेलमा अपराजित हुँदै शीर्ष स्थानमा छ । कोलकाताले तीनै खेलमा जितका साथ राजस्थानलाई पछ्याएको छ । मुम्बई इन्डियन्स ४, रोयल्स च्यालेन्जर्स बेंगलुर र दिल्ली क्यापिटल्स ५/५ खेलमा समान १–१ खेल जितेका छन् । आईपीएल २०२४ मा २७ करोड नेपाली रुपैयाँभन्दा बढी मूल्य पाउने खेलाडीको सुरुवातमा प्रदर्शन यस प्रकार छ ।

मिचेल स्टार्क– ३९ करोड ५० लाख रुपैयाँ (कोलकता)

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता २४ करोड ७५ लाख भारु (३९ करोड ५० लाख रुपैयाँ) मा किनेको थियो । स्टार्कले सुरुवाती तीन खेलमा अपेक्षा अनुसार बलिङ गरेका छैनन् । उनले ३ खेलमा ११ ओभर बलिङ गर्दा १२५ रन खर्चेर २ विकेट लिएका छन् ।

स्टार्कले सनराइजर्स हैदराबादविरुद्ध ५३ रन र बेंगलुरविरुद्ध ४७ रन खर्चिदा विकेट विहीन बनेका थिए । दिल्ली क्यापिटल्सविरुद्ध ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए । उक्त खेलमा डेविड वार्नरलाई १८ रन र मिचेल मार्शलाई शून्यमा आउट गरेका थिए ।

प्याट कमिन्स– ३२ करोड ८० लाख रुपैयाँ (हैदरावाद)

गत नोभेम्वरमा विश्वकपको फाइनलमा अपराजित भारतलाई उसकै घरेलु मैदानमा हराउन सानदार प्रदर्शन र कप्तानी गरेपछि हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु (३२ करोड ८० लाख रुपैयाँ) मा किनेको थियो ।

उनको कप्तानीमा हैदराबादले ४ खेलमा समान दुईमा जित हार हात पारेको छ । मुम्बईविरुद्ध हैदराबादले आईपीएल इतिहासकै सर्वाधिक २७७ रन बनाएको थियो । कमिन्सले ४ खेलमा १६ ओभर बलिङ गर्दा १२४ रन खर्चेर ५ विकेट लिएका छन् । कमिन्सले मुम्बईसँग दुई, कोलकाता, गुजरात र चेन्नईविरुद्ध १–१ विकेट लिएका थिए । डेथ ओभरमा बलिङमा राम्रो प्रभाव छाडेका छन् ।

साम करन– २९ करोड ५३ लाख रुपैयाँ (पञ्जाब)

इंग्ल्यान्डका युवा अलराउन्डर साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारु (२९ करोड ५३ लाख रुपैयाँ) मा किनेको थियो । साम करनले ४ खेलमा ७३ बल खेल्दा ९१ रन बनाउनुको साथै ४ विकेट लिएका छन् ।

पहिलो खेलमा दिल्लीलाई ४ विकेटले हराउन उनले ४७ बलमा ६३ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । बेंगलुरविरुद्ध २३ रन बनाउनुको साथै ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका थिए । लखनऊविरुद्ध ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए । गुजरातविरुद्ध ५ रन बनाउदा विकेट लिन सकेका थिएनन् ।

क्यामरन ग्रीन– झण्डै २८ करोड रुपैयाँ (बेंगलुर)

अस्ट्रेलियाका तीव्र गतिका बलिङ अलराउन्डर क्यामरन ग्रीन खेलाडी ट्रेडमार्फत मुम्बईबाट बेंगलुरुमा १७ करोड ५० लाख भारु (झण्डै २८ करोड रुपैयाँ) मै पुगेका थिए । तर बेंगलुरुले अपेक्षा गरे अनुसार उनको प्रदर्शन भने छैन । फिनिसरको भूमिका पाएका उनले ५ खेलमा ६३ बल खेल्दा ६८ रन बनाएका छन् ।

त्यसमा उत्कृष्ट प्रदर्शन ३३ र बलिङमा २ विकेट लिएका छन् । पहिलो खेलमा चेन्नईविरुद्ध १८ रन बनाउनुको साथै २ विकेट लिएका थिए । पञ्जाव किंग्सविरुद्ध ३ रन, कोलकातासँग ३३ रन, लखनऊसँग ९ रन र राजस्थान रोयल्ससँग ५ रन बनाएका थिए । बेंगलुरुले ५ खेलमा ४ मा हार व्यहोरेको छ । जसले प्लेअफ यात्रा निकै कठिन बनेको छ ।

लोकेश राहुल– २७ करोड रुपैयाँ (लखनऊ)

लखनऊका कप्तान लोकेश राहुल सर्वाधिक महँगो मूल्य पाउने भारतीय खेलाडी हुन् । लखनऊले १७ करोड भारु (२७ करोड रुपैयाँ) मा अनुबन्ध गर्दै उनलाई कप्तान बनाएको थियो । लखनऊ ४ खेलमा ३ मा जितसहित ६ अंकका साथ तेस्रो स्थानमा छ ।

राहुलले ४ खेलमा ९८ बल खेल्दा १२६ रन बनाएका छन् । लोकेशले ४४ बलमा ४ चौका र २ चौकासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यसपछि पञ्जाबसँग १५, बेंगलोरसँग २० र गुजरातसँग ३३ रनमा आउट भएका थिए । राहुलले सबै खेलमा राम्रो सुरुवात गरेपनि त्यसलाई ठूलो इनिङमा बदल्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?