२८ चैत, काठमाडौं । पारा ओलम्पिकमा छनोट भएकी पलेशा गोवर्धनलाई तयारीका लागि नेशनल पारा ओलम्पिक कमिटी (एनपीसी) ले नेपाल तेक्वान्दो संघलाई बुधबार २ लाख १५ हजार रुपैयाँ प्रदान गरेको छ ।
एनपीसी नेपालकी अध्यक्ष राधा घलेले तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दलाई चेकमार्फत उक्त रकम हस्तान्तरण गरेकी छन् । घलेले पलेशाको प्रशिक्षणका लागि रकम उपलब्ध गराएको जानकारी दिइन् ।
चीनको तायानमा चैत्र २ गते देखि ४ गतेसम्म भएको एशियाली ओलम्पिक तथा पारा ओलम्पिक छनोट प्रतियोगिताबाट पारा तेक्वान्दो खेलाडी पलेशाले स्वर्ण पदक जित्दै पेरिस २०२४ पारा ओलम्पिक गेम्समा क्वालिफाइड भई नेपाली खेलकुदको इतिहासमा छनोट हुन सफल तेश्रो खेलाडी बनेकी थिइन् ।
नेपाली पारा खेलकुदको इतिहासमा भने पलेशा पारा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन् । त्यही पारा ओलम्पिकको तयारीका लागि प्रशिक्षण गर्न टिम तयारीवापत् रकम उपलब्ध गराइएको घलेले जानकारी गराइन् ।
यसअघि नेपालबाट तेक्वान्दोकै संगीना वैद्य (२००४ को एथेन्स ओलम्पिक) र दीपक विष्ट (२००८ को बेइजिङ ओलम्पिक) मा छनोट चरण पार गरेर खेलेका थिए ।
पलेशाले दोस्रो पटक पारा ओलम्पिक खेल्दैछिन् । उनले यसअघि २०७८ भदौ ८ देखि २० गते सम्म जापानको टोकियोमा भएको पारा ओलम्पिक अमेरिका र सर्वियाकी खेलाडी हराएकी थिइन् । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि पलेशा एक्लो खेलाडी हुन् ।
यस्तै पलेशाले सन् २०२२ बहराइनमा भएको एशियन युथ पारा गेम्समा स्वर्ण पदक जितेकी थिइन् । नेपाली पारा खेलकुदको इतिहासमा युथ एशियन पारा गेम्समा पहिलो एतिहासिक स्वर्ण पदक जित्न सफल भएको थियो ।
यसैगरी चीनको हान्झाउमा गत कात्तिकमा भएको चौथो एशियन पारा गेम्समा पलेशाले कास्य पदक जितेकी थिइन् । एशियन पारा गेम्समा पदक जित्ने पनि उनी पहिलो नेपाली पारा खेलाडी हुन् । अध्ययनको सिलसिलामा हाल चीनमै रहेकी पलेशा पारा ओलम्पिकको तयारीका लागि अर्को साता स्वदेश फर्किंदै छन् ।
 
                    










 २०८० चैत  २८ गते २०:१८
                        २०८० चैत  २८ गते २०:१८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4