+
+

सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्‍यो : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते ११:२३

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सो धारणा राखेका हुन् ।

सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने उनले बताए । तर सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो ।

अहिले कांग्रेसको कारण नभै सरकारकै गैरजिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सिंहले भने, ‘सरकारले संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि हट्दैन ।’

जनताको आशा भरोसा कांग्रेसप्रति भएकाले गुनासो पनि कांग्रेससँगै भएको भन्दै उनले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । राष्ट्रिय राजनीतिमा आउने गतिरोध अन्त्य र जनताका गुनासा सम्बोधनका लागि कांग्रेसले सधैं अभिभावकीय भूमिका निर्वाह गर्दै आएको भन्दै सहकारी पीडितलाई न्याय दिन पनि कांग्रेसले पहल लिने बताए ।

उनले देशमा राजनीतिक स्थायित्वको वातावरण बनाएर मात्र लगानी सम्मेलन गर्दा उचित हुने धारणा पनि राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?