+
+
वर्षान्त : ०८० :

खेलकुदमय वर्ष २०८० : इतिहास र कीर्तिमानको वर्षा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत ३० गते ११:४२

३० चैत, काठमाडौं । क्रिकेटमय बनेको वर्ष २०८० मा नेपाली खेलकुदले १९औं एसियन गेम्स (एसियाड) देखि अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता र उपलब्धी हासिल गर्‍यो ।

नेपालले २०८० वैशाख ५ देखि सुरू भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएर सुरू गरेको थियो । वर्षको अन्तिम दिन अर्थात् आज ३० चैतमा नेपालले फेरि एसिया कपमा छनोट हुने र उपाधि जोगाउने लक्ष्यसहित ओमानमा प्रिमियर कपकै अर्को संस्करणको सुरुवात गर्दैछ । नेपालले मलेसियासँग खेल्नेछ ।

यसबीचमा नेपाली खेलकुदमा धेरै गतिविधिहरू भए । सफलता असफलता उतारचढावको वर्ष रह्यो । मैदान र मैदान बाहिर पनि उत्तिकै सक्रिय भयो ।

क्रिकेटमा पुरुष सिनियर टोली टी-२० विश्वकपमा छनोट भयो । यू-१९ टोलीले ८ वर्षपछि यू-१९ क्रिकेट विश्वकप खेल्यो । समूह गेमको यो सफलतालाई छाड्ने हो भने वर्ष २०८० मा महिला खेलाडी छाए ।

महिला खेलाडीहरु हावी बन्दा नेपालले धेरै पदक उपाधि र उपलब्धि महिला खेलाडीबाटै हात पार्‍यो । चाहे १९औं एसियाडमा एरिकाको ऐतिहासिक रजत होस् या पलेशाले जितेको चौथो पारालिम्पिक एसियन गेम्सको कास्य पदक होस् अनि रशिला तामाङ र सुनमाया बुढाले जितेको अल्ट्रा टेल रेसको उपाधिदेखि सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्याराथनमा डेब्यूमै स्वर्ण जितिन् । यस्तै रुविना क्षेत्री अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनिन् ।

यतिमात्र होइन, समूह गेममा पनि महिला फुटबल टोलीले वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बन्यो । महिला भलिबल टोली घरेलु कोर्टमै भएको काभा वुमन्स च्यालेन्ज कपमा तेस्रो भयो । क्रिकेटको महिला टिम एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमै रोकिएपछि पछि एसिया कप खेल्ने अवसर मिलेको छ ।

यस्तै पहिलो पटक एसियाडमा सहभागी भएको महिला कबड्डी टिमले पनि ऐतिहासिक कांस्य पदक जित्यो ।

यस्तै साहसिक खेलकुदमा पनि नेपालले उपलब्धि हासिल गर्‍यो । भारतमा भएको एसियन र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण र कांस्य जित्यो ।

 क्रिकेटमा उपलब्धि

वर्ष २०८० मा क्रिकेटले उल्लेख सफलता हात पार्‍यो । घरेलु मैदानमै भएको आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलमा फाइनल पुग्दै नेपालले सन् २०१४ पछि पहिलो पटक टी-२० विश्वकपमा स्थान बनायो ।

त्यसअघि वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टिमसँग ऐतिहासिक प्रदर्शन गर्‍यो ।

यस्तै एसियन गेम्समा नेपालले टी-२० आईको एकै खेलमा सबैभन्दा छिटो शतक र अर्धशतकको कीर्तिमानसहित एकै खेलमा सर्वाधिक रन बनाउने र फराकिलो अन्तरको जितको कीर्तिमान बनायो ।

उमेर समूहमा नेपालको यू-१९ टोलीले ८ वर्षपछि दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्यो । आईसीसी विश्वकप लिग टु को नयाँ साइकलमा भने नेपालको प्रदर्शन कमजोर रह्यो । घरेलु मैदानबाटै सुरू भएको लिग टु मा नेपालले चार मध्ये एक खेल मात्र जित्न सक्यो ।

 एरिकाको ऐतिहासिक रजत र १९औं एसियाड

चिनको हान्झाउमा असोजमा भएको १९औं एसियाडमा कराँतेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितिन् । उनी व्यक्तिगततर्फ एसियाडमा रजत पदक जित्ने २५ वर्षपछि पहिलो खेलाडी बनिन् । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् ।

पहिलो पटक एसियाड खेलेकी एरिकाले विश्व नम्बर वान खेलाडीहरुलाई समेत हराएकी थिइन् । फाइनलमा भने उनी पराजित भइन् । एसियाडअघि एरिकाले इन्डोनेसियामा भएको वर्ल्ड शितोरियो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् । यस्तै वर्षको अन्त्यमा अमेरिकामा भएको यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा उनले सिनियरमा रजत र जुनियरमा स्वर्ण जितिन् ।

१९औं एसियाडमै नेपालको कबड्डी टिमले ऐतिहासिक कास्य जित्यो । पहिलो पटक एसियाड खेलेको कबड्डी टिमले सेमिफाइनल पुग्दै कास्य जितेको हो ।

१९औं एसियाडमा पदक जित्नुबाहेक नेपाली केही खेलमा कीर्तिमान समेत बनायो । एथ्लेटिक्समा दीपक अधिकारीले पुरुषतर्फ १० हजार मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए । यस्तै भारोत्तोलन खेलाडी सागर भण्डारी विशालसिंह विष्टले नेपाली भारोत्तोलन इतिहास ३ सयभन्दा बढी केजी भार वहन गर्दै कीर्तिमान बनाए ।

सुटिङकी श्लिषा भण्डारीले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । एथ्लेटिक्समा दीपकले घरेलु रेसहरूमा पनि लगातारजसो स्वर्ण र उपाधि जिते । उनी यस वर्ष भएको स्पोर्ट्स अवार्डहरुमा पनि हावी बने । दीपकले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, एनएनआईपीए स्पोर्ट्स अवार्ड र राखेपको वार्षिकोत्सवमा भएको अवार्डमा वर्त पुरुष खेलाडीको अवार्ड जिते ।

 पलेशाको उडान

वर्ष २०८० मा छाएकी अर्की खेलाडी हुन् पलेशा गोवर्धन । पारा तेक्वान्दोकी यी खेलाडीले कात्तिकमा चिनमा भएको चौंथो पारा एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितिन् ।

यस्तै चीनमै भएको पेरिस पारालिम्बपीको एसियाली छनोटमा के ४४ विधामा स्वर्ण जित्दै पारालिम्पिबमा छनोट भइन् । उनी छनोट चरण पारा गरेर पारालिम्पिकमा पुग्ने पहिलो नेपाली पारा खेलाडी बनिन् । समग्रमा भने छनोट भएर ओलम्पिक पुग्ने तेस्रो खेलाडी बनिन् ।

यसअघि तेक्वान्दोकी संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

 गोल्डेन गर्ल सन्तोषीको म्याराथन स्वर्ण

गोल्डेन गर्ल उपनामले परिचित सन्तोषी श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा डेब्यूमात्र गरिनन्, डेब्युमै पदक समेत जितिन् । बंगलादेशमा भएको बंगबन्धु म्याराथनमा सन्तोषीले साउथ एसियनतर्फ महिला म्याराथनमा ऐतिहासिक स्वर्ण जितिन ।

यसअघि मध्यमगतिको दौडमा प्रतिस्पर्धा गरेकी सन्तोषीले म्याराथन डेब्युमै स्वर्ण जितिन् । ओलम्पिकमा पुग्ने लक्ष्यसहित सन्तोषीले पछिल्लो समय म्याराथनमा केन्द्रित भएकी बताएकी थिइन् ।

यस्तै उनले पछिल्लो ३ महिना नेपालमा सहभागिता जनाएकी ६ वटै रेसमा स्वर्ण जितिन् । प्रथम अन्तर प्रदेश खेलकुदमा पनि उनले महिला १० हजार र ५ हजार मिटर स्वर्ण जितिन् ।

उनले  पोखरा रन, धरान रन, नेपाल आर्मी हाफ म्याराथन, लुम्बिनी पिस हाफ म्याराथन, रन फर प्रोटिन हाफ म्याराथनमा स्वर्ण जितेकी हुन् ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दै नेपाली एथलेटिक्समा इतिहास बनाएकी सन्तोषीले १९औं एसियाडमा पनि पदक जित्ने लक्ष्य राखेकी थिइन् ।

इथियोपियामा तयारी गरेर १९औं एसियाड सहभागी भएकी उनले चोटका कारण सोचे अनुसार प्रदर्शन गर्न सकिनन् । तर चोटबाट पुनरागमन गर्दै उनले यस वर्ष उत्कृष्ट प्रदर्शन गरिन् ।

 रशिला र सुनमायाको दबदबा

पछिल्लो समय नेपालका अल्ट्रा रनरहरुले विदेशमा हुने रेसमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । यस वर्ष पनि नेपालको महिला धावकले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्यो । रशिला तामाङले एसिया ट्रेल मास्टर्स सिरिजको फाइनल इभेन्टको उपाधि जित्दै इतिहास बनाइन् । उनी फाइनल सिरिज जित्ने पहिलो नेपाली धावक बनिन् ।

यस्तै अर्की चर्चित धाविक सुनमाया बुढाले चैतमा चीनमा भएको गोल्डेन ट्रेलको उपाधि जितिन् ।

रशिला र सुनमाया बाहेक अन्य अल्ट्रा खेलाडीहरुले पनि अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाइरहेका छन् ।

यस्तै चैत महिनामा भएको नेपालकै सबैभन्दा लामो ट्रेल रेस मन्जुश्रीमा १०० माइलर अर्थात १७५ किमीको दूरीको रेसमा नेपालकै अर्जुन कुलुङ राई र निर्मला राईले उपाधि जिते । दुवैले कीर्तिमानी समयसहित उपाधि जिते ।

यस वर्ष मन्जुश्री ट्रेस रेस एसिया ट्रेस मास्टर्सको छनोट रेसको रुपमा समेत रहेकोले यसमा विभिन्न देशका खेलाडी सहभागी थिए ।

अर्जुनले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दा निर्मलले यसअघि अनिता च्याम्पियन अनिता राई र उनको कीर्तिमानलाई नै ब्रेक गर्दै उपाधि जितेकी हुन् ।

अल्ट्रो रेसमै अर्को चर्चित नाम हो प्रिया राई । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय धेरे रेसमा सहभागिता जनाइसकेकी छन । इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) नेशनल लिग २०२३ मा उनी नेपालको नम्बर वान धावक बनेकी थिइन् । उनले २ महिनामै ५ रेस जितेकी थिइन् ।

 साम्बाको उडान

वर्ष २०८० मा नेपाली फुटबल मैदानभित्र भन्दा बाहिर चर्चामा रह्यो । त्यसका बावुजत पनि नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी सामबाले भने देश विदेशी भूमिमा ऐतिहासिक प्रदर्शन गर्दै कीर्तिमान बनाइन् ।

साम्बा उपनामले चर्चित उनले नेपालका लागि ५० गोलको कोशेढुंगा पूरा गरिन् । यस्तै विदेशी लिगमा उनले उडान भर्दै फ्रान्ससम्म पुगिन् । सुरुमा इजरायली लिगमा अनुबन्ध हुँदै कीर्तिमान बनाएकी साम्बा त्यसपछि विश्वकै उत्कृष्ट महिला लिग मानिने फ्रेन्च लिगको शीर्ष डिभिजन क्लब इए गुइगामपमा अनुबन्ध भइन् । उनी फ्रेन्च लिगमा खेल्ने पहिलो नेपाली फुटबलरको कीर्तिमान बनाइन् । यस्तै उनले फ्रेन्च लिगमा गोल पनि गरिन् ।

साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्‍याउन उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । तर व्यावसायिक लिगमा अनुबन्ध भएका कारण उनले जोर्डन विरुद्ध फाइनल खेल गुमाइन् । नेपाल फाइनल जोर्डनसँग पेनाल्टीसुटआउटमा पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।

 रुबिनाको ऐतिहासिक शतक

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अनुभवी सदस्य रुविना क्षेत्रीले यसै वर्ष कीर्तिमानी शतक बनाइन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो महिला क्रिकेटर बनिन् । एसीसी वुमन्स प्रिमियर कपमा रुविनाले माल्दिभ्सविरुद्ध शतक प्रहार गर्दै कीर्तिमान रचेकी हुन् । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनिन् ।

उनले माल्दिभ्सविरुद्ध ५९ बलमा १० चौका र ५ छ्क्का प्रहार गर्दै ११८ रन बनाएकी थिइन् । रुविनाले शतक हानेपनि नेपाल सेमिफाइनलबाटै बाहिरिँदै एसिया कप पुग्ने अवसर गुमेको थियो ।

तर पछि एसीसीले एसिया कपमा टिम संख्या बढाएपछि प्रिमियर कपमा सेमिफाइनल पुगेका चारै टिम एसिया कपमा छनोट भयो । नेपालले अब जुनमा श्रीलंकामा हुने एसिया कपमा भारत पाकिस्तानसँग खेल्ने तालिका छ ।

१३ गोलको कीर्तिमान बराबरी गरेका अन्जन

यसवर्ष नेपालको पुरुष फुटबल टिमको प्रदर्शन त्यति राम्रो हुन सकेन । एन्फाको आन्तरिक विवाद खेलाडीहरु विदेश पलायन अनि लगातार खराब प्रदर्शन भइरहँदा पनि नेपाली राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले भने नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे ।

२६ वर्षीय अन्जन मिहिनेती खेलाडीमध्ये पर्छन् । चोटका कारण नेपालले खेलेको केही खेल गुमाएपनि अन्जनले  हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान  बराबरी गरे ।

विश्वकप छनोटको प्रारम्भिक चरण अन्तर्गत घरेलु मैदानमा भएको लाओसविरुद्धको खेलमा गोल गर्दै अन्जनले १३ व्यक्तिगत गोल पुर्‍याएका हुन् ।

यसअघि हरि खड्काले सुरुमा १३ गोल गरेका थिए । त्यसपछि सन् २००८ मा निराजनले उक्त कीर्तिमान बराबरी गरे । त्यसको १५ वर्षपछि अन्जनले उक्त कीर्तिमान बराबरी गरेका हुन् । अन्जनले लाओसविरुद्ध गोल गरेपछि भने नेपालका लागि गोल गर्न सकेका छैनन् ।

 मुवाथाईमा रुचाललाई ऐतिहासिक स्वर्ण

मुआथाईका खेलाडी गुणराज रुचालले थाइल्यान्डमा आयोजना भएको विश्व मुवाथाई च्याम्पियनसिपमा सेमी-प्रोतर्फ ऐतिहासिक स्वर्ण जिते । रुचाल मुवाथाईको सेमी-प्रोतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बने ।

थाई बक्सिङको रुपमा परिचित मुवाठ्ठाईमा रुचालले पुरुष ५४ केजी तौल समूहमा इटालीका खेलाडीलाई हराएर स्वर्ण जितेका थिए ।

यसअघि नेपालका लागि मुवाथाईमा एमेच्योरतर्फ भने पलिस्था कक्षपती र सञ्जय राईले स्वर्ण जितेका थिए । सञ्जयले सन् २०१७ र पलिस्थाले सन् २०१९ मा उक्त सफलता हात पारेका थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?