
९ वैशाख, काठमाडौं । विद्युतीय गाडी (ईभी) को आयात लगातार दोस्रो महिनामा पनि सुस्त देखिएको छ ।
चालु आर्थिक वर्ष (आव) को चैतमा ६५८ युनिट विद्युतीय गाडी आयात भएको विभागको तथ्यांक छ । बजेटको मध्यावधिक समीक्षा अगाडि पुस र माघमा विद्युतीय गाडी आयात बढेको थियो । फागुनमा घटेको विद्युतीय गाडीको आयात चैतमा भने केही सुधार देखिएको छ ।
चालु आवको ९ महिना (साउन–चैत) मा ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आवमा जम्मा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार मूल्यको १ हजार ८ सय ७ युनिट विद्युतीय गाडी आयात भएको थियो । उक्त गाडी आयात हुँदा १ अर्ब ४३ करोड ९२ लाख ३ हजार राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
चालु आवमा विद्युतीय गाडी आयात उल्लेख्य रुपमा बढेको भन्दा विभागको तथ्यांकले देखाउँछ । चैतसम्म १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको छ । उक्त गाडी आयात हुँदा ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका गीडि आयात भएका छन् । ५१ देखि १०० किलोवाट ११ अर्ब ४६ करोड ९८ लाख ९२ हजार मूल्य बरारबको ४ हजार ७७ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।
५० किलोवाटसम्म क्षमता भएका २ हजार ९०२ युनिट गाडी आयात भएका छन् । ५ अर्ब ४० करोड २९ लाख ८८ हजार मूल्यका उक्त गाडी अयात भएका हुन् । १०१ देखि २०० किलोवाटसम्मका ४६ करोड ८८ लाख ३१ हजार मूल्यका ९३ वटा गाडी आयात भएका हुन् । यस्तै २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १५ करोड ३२ लाख ५८ हजार मूल्यको २१ वटा विद्युतीय गाडी आयात भएको छ ।
कुन महिनामा कति आए ईभी ?
- साउन : ११०
- भदौ : ७८८
- असोज : १,२३७
- कात्तिक : ६५२
- मंसिर : ८९९
- पुस : १,४२१
- माघ : १,०५२
- फागुन : २७६
- चैत : ६५८
प्रतिक्रिया 4