काठमाडौं । वितरण कम्पनी सेभेन सिजले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को शीर्ष भूमिकामा अभिनेता विजय बराल अनुबन्धित भएका छन् । निर्मातासँग उनको लिखित सहमति भएको छ ।
फिल्ममा उनको शीर्षमध्येको भूमिका हुने जनाइएको छ । ‘वेलकम टु हेम्जाकोट’ फेम्ड सरोज पौडेलको यो दोस्रो फिचर फिल्मले बाउछोराको भावनात्मक यात्राको कथा भन्छ ।
चरित्रको सांगीतिक यात्रामार्फत मेकरले कथा भन्ने प्रयास गर्नेछन् । ‘फिल्मलाई लिएर उत्साहित छु,’ फिल्ममा बाउको रोलमा देखिन लागेका विजयले अनलाइनखबरसँग भने ।
सोसल-ड्रामा फिल्मको थिम र चरित्रलाई केही दिनअघि निर्माताले मोसन पोस्टरमार्फत सार्वजनिक गरिसकेका छन्, जहाँ बाउको रुपमा देखिन लागेका विजय र बाल कलाकारको संवाद समावेश छ । बाल कलाकार भने तय हुन बाँकी रहेको जनाइएको छ ।
कथा महेश दवाडीले लेखेका छन् । फिल्मलाई जेठको सातादेखि बागलुङमा छायांकन गर्ने तयारी छ । यो फिल्ममार्फत भ्वाइस अफ नेपाल सिजन ५ का प्रतिस्पर्धी प्रशान्त सिवाकोटीले संगीत निर्देशकको रुपमा डेब्यु गर्दैछन् । यो फिल्मलाई २०८२ सालमा रिलिज गर्ने तयारी छ ।
प्रतिक्रिया 4